
News Summary
Generated by OK AI. Editorially reviewed.- साउदी अरबले ७० वर्ष पुरानो कफाला प्रणालीलाई औपचारिक रूपमा समाप्त गरेको छ जसले १ करोड ३० लाखभन्दा बढी विदेशी श्रमिकलाई फाइदा पुर्याउनेछ।
- नयाँ नियम अनुसार श्रमिकहरूले कफीलको अनुमति बिना जागिर परिवर्तन र देश छोड्न पाउनेछन् र कानूनी सहायता प्राप्त गर्ने व्यवस्था गरिएको छ।
- कफाला प्रणालीले श्रमिकहरूको अधिकार सीमित गर्दै जबरजस्ती श्रम र मानव तस्करीलाई बढावा दिएको भन्दै अन्तर्राष्ट्रिय आलोचना भई आएको थियो।
५ असोज, काठमाडौं । साउदी अरबले ७० वर्ष पुरानो कफाला प्रणालीलाई औपचारिक रूपमा समाप्त गरेको छ।
समाचार संस्था एपीको रिपोर्ट अनुसार, यो परिवर्तनको घोषणा जुन २०२५ मा नै गरिएको थियो, तर अब यो आधिकारिक रूपमा समाप्त भएको छ।
स्पोन्सरसिप प्रणाली अर्थात् कफालाको अन्त्यले १ करोड ३० लाखभन्दा बढी विदेशी श्रमिकहरूलाई फाइदा हुनेछ। यी श्रमिकहरूमध्ये धेरैजसो भारत, बङ्गलादेश, नेपाल र फिलिपिन्सबाट आउँछन्।
साउदी अरबले कफाला प्रणाली समाप्त गरे पनि मध्यपूर्वमा यूएई, कुवेत, ओमान, बहराइन, लेबनान र जोर्डन जस्ता देशहरूमा यो प्रणाली अझै पनि विद्यमान छ।
के हो कफाला प्रणाली ?
कफाला शब्द ‘कफील’ बाट बनेको हो। कफीलको अर्थ हुन्छ प्रायोजक वा जिम्मेवार व्यक्ति। अर्थात्, त्यो व्यक्ति जो कुनै विदेशी श्रमिकको बसोबास र कामको लागि जिम्मेवार हुन्छ। यसलाई स्पोन्सरसिप प्रणाली पनि भन्न सकिन्छ ।
सन् १९५० को दशकमा खाडीका देशहरूमा तेल उद्योग तीव्र गतिमा बढिरहेको थियो। तेलको माग धेरै बढिरहेको थियो र यी देशहरूमा स्थानीय मानिसहरूको सङ्ख्या कम थियो। त्यसैले उनीहरूलाई धेरै विदेशी श्रमिकहरूको आवश्यकता थियो।
विदेशी श्रमिकहरूको आवागमन र कामलाई नियन्त्रण गर्न पनि आवश्यक थियो। यसैका लागि कफाला प्रणाली बनाइएको थियो। यसमा कफीललाई अत्यधिक शक्ति दिइएको थियो।
मध्यपूर्वका देशहरूमा कफाला प्रणाली अन्त्य गर्नुपर्ने माग लामो समयदेखि भइरहेको थियो।
कफाला प्रणालीमा के समस्या थिए
कुनै श्रमिक यी खाडी देशहरूमा काम गर्न आउँदा कफाला प्रणाली अन्तर्गत नै प्रवेश गर्नुपर्ने हुन्छ र त्यहाँका नियम तथा कानून उनीहरूमाथि लागू हुन्छन्।
कफीलले नै श्रमिकले के काम गर्ने, कति घण्टा काम गर्ने, उसको तलब कति हुने र कहाँ बस्ने भन्ने तय गर्दथ्यो।
कफीलको अनुमति बिना श्रमिकले जागिर बदल्न र देश छोड्न पाउँदैनथ्यो । सरकारी अधिकारीहरूसँग सिधै गुनासो गर्न पनि सक्दैनथ्यो। यस कारण श्रमिकहरू प्रायः कफीलको नियन्त्रणमा फस्ने गर्दथे।
मानवअधिकार सङ्गठन र अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले कफाला प्रणालीको दशकौंदेखि कडा आलोचना गर्दै आएका थिए र यसलाई ‘आधुनिक दासता’ भन्ने गरेका थिए, किनभने यस व्यवस्थाले श्रमिकहरूको सबैभन्दा आधारभूत अधिकारहरू खोसेको थियो र जबरजस्ती श्रम तथा मानव तस्करीलाई बढावा दिएको थियो।
कफाला प्रणालीका ३ ठूला समस्या
१. जागिर परिवर्तनमा प्रतिबन्ध
यदि मालिकले श्रमिकहरूसँग नराम्रो व्यवहार गर्दा, कम तलब दिँदा, वा उनीहरूलाई १८-१८ घण्टा काम गराउँदा पनि उनीहरू सजिलै जागिर छोडेर अर्को ठाउँमा काम खोज्न सक्दैनथे। उनीहरूलाई नयाँ काम सुरु गर्न आफ्नो कफीलको अनुमति लिनु आवश्यक थियो।
यदि कुनै श्रमिकले अनुमति बिना जागिर छोड्दथ्यो भने, उसलाई ‘अवैध बासिन्दा’ मानिन्थ्यो र उसलाई गिरफ्तार गर्न सकिन्थ्यो।
२. देश छोड्नमा रोक
श्रमिकहरू देश छोडेर आफ्नो घर जान पनि सक्दैनथे, पारिवारिक आपत्कालमा समेत होइन। उनीहरूलाई देशबाहिर जानका लागि आफ्नो रोजगारदाताबाट बहिर्गमन भिसा (एक्जिट भिसा) स्वीकृत गराउनुपर्थ्यो, तर मालिकहरूले प्रायः अस्वीकार गरिदिन्थे, जसले गर्दा कर्मचारीहरू बन्धक बनिरहन्थे।
३. राहदानी जफत
श्रमिकहरूलाई कैदीजस्तै बनाउनका लागि, कफीलहरूले प्रायः उनीहरूको राहदानी जफत गरिदिन्थे। परिचयपत्र नहुँदा र यात्राको कुनै माध्यम नहुँदा उनीहरू साँच्चै फस्ने गर्दथे।
कफाला प्रणालीको सट्टा नयाँ नियम लागू
साउदी अरबले कफाला प्रणाली समाप्त गरेपछि नयाँ नियमहरू लागू गरेको छ जसअन्तर्गत श्रमिकहरूलाई पहिलेको तुलनामा बढी स्वतन्त्रता मिल्नेछ।
नयाँ व्यवस्था अनुसार अब श्रमिकहरूलाई आफ्नो कफीलको अनुमति बिना जागिर बदल्ने अनुमति मिल्नेछ। यसका अतिरिक्त, देश छोड्न वा फर्कनका लागि अब एक्जिट भिसा वा कफीलको अनुमति सधैं आवश्यक हुनेछैन।
नयाँ नियमहरूमा अब श्रमिकहरूलाई कानूनी सहायता दिने प्रावधान पनि छ। यसको अर्थ, यदि उनीहरूलाई तलब मिलेन, कामको वातावरण खराब छ, वा अन्य समस्याहरू छन् भने, गुनासो गर्न र न्याय माग्नका लागि बाटाहरू सजिलो हुनेछन्।
यसका साथै, नयाँ नियमहरूमा रोजगार सम्झौताको व्यवस्था स्पष्ट गरिएको छ। अब गैर-साउदी श्रमिकहरूका लागि कामको अवधि, श्रमिक र कम्पनीको अधिकार, तलब र भत्ताहरूलाई लिखित रूपमा तय गर्नु अनिवार्य हुनेछ।
साउदी अरबमा १ करोड ३४ लाख विदेशी श्रमिकहरू छन्, जो देशको कुल जनसङ्ख्याको लगभग ४२ प्रतिशत हो।
साउदीले किन बन्द गर्यो कफाला ?
१. छवि सुधार्ने प्रयास
साउदी अरबमाथि लामो समयदेखि कफाला प्रणाली आप्रवासी श्रमिकहरूका लागि ‘आधुनिक दासता’ जस्तै रहेको आरोप लाग्दै आएको थियो। मानवअधिकार सङ्गठनहरू (जस्तै ह्युमन राइट वाच र एम्नेस्टी) ले लगातार यसको आलोचना गरिरहेका थिए।
२. भिजन २०३० को हिस्सा
क्राउन प्रिन्स मोहम्मद बिन सलमानको भिजन २०३० कार्यक्रम साउदी अर्थतन्त्रलाई तेलमाथिको निर्भरताबाट बाहिर निकाल्ने प्रयास हो। यसका लागि विदेशी लगानी र अन्तर्राष्ट्रिय कम्पनीहरूको आवश्यकता छ, तर कफाला जस्तो प्रणालीले लगानीकर्ताहरू डराउँथे।
३. विदेशी श्रमिकमाथि निर्भर अर्थतन्त्र
साउदीको कार्यबलमा लगभग ७० प्रतिशतभन्दा बढी विदेशी श्रमिकहरू छन्। कफाला प्रणालीका कारण धेरै श्रमिकहरू फेरि आफ्नो देश फर्कन थालेका थिए वा नयाँ मानिसहरू साउदी आउन चाहँदैनथे।
सरकारलाई यदि प्रणाली परिवर्तन गरिएन भने, श्रमिकहरूको कमीले निर्माण, तेल र सेवा क्षेत्रमा असर पर्ने डर छ ।
४. कतारसँग प्रतिस्पर्धा
कतारले फिफा विश्व कप (२०२२) भन्दा पहिले कफाला प्रणाली लगभग समाप्त गरिदिएको थियो, जसले उसलाई अन्तर्राष्ट्रिय प्रशंसा दिलायो। साउदी अरब ‘पछाडि’ देखिन चाहँदैनथ्यो।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4