
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको उर्लाबारीमा करिब सय ग्राम तौल भएको नरम खबटा 'इन्डियन फ्ल्यापसेल टर्टल' कछुवा फेला परेको छ।
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले कछुवा पालन र ओसारपसार निषेध गरेको छ र उल्लङ्घनमा जरिवाना वा कैदको व्यवस्था छ।
- आईयूसीएनले कछुवा प्रजातिलाई असुरक्षित (भल्नर्रेबल) श्रेणीमा राखेको छ र पछिल्लो ४५ वर्षमा यसको संख्या ३० प्रतिशतभन्दा बढीले घटेको छ।
गत सोमबार मेरो गृह जिल्ला मोरङको उर्लाबारी नगरपालिकाको एक सडक किनारमा कछुवा फेला पारेँ । करिब सय ग्राम तौल भएको उक्त कछुवा नरम खबटा भएको ‘इन्डियन फ्ल्यापसेल टर्टल’ थियो।
कछुवालाई मैले स्थानीय बेतिनी सिमसार क्षेत्रमा त्यहाँका पदाधिकारी तथा स्थानीवासीको रोहबरमा छाडेँ । यसअघि पनि मैले उर्लाबारीबाट विभिन्न समयमा करिब एक दर्जनभन्दा बढी कछुवा उद्धार गरेर उक्त सिमसारमा छाडिसकेको छु ।
विशेष गरेर सिमसार,नदी, नहर,सिम,पोखरी,धाप,होली तथा खेतबारी क्षेत्रमा पाइने यो प्रजातिको कछुवालाई संरक्षकर्मीहरू ‘पुतली कछुवा’ भनेर पनि चिन्दछन् । यो प्रजातिको कछुवा नदी किनारका सिम क्षेत्र,नदीको तटीय क्षेत्र,धानबारी पनि पाइने गर्छ ।
उद्धार गरिएको यो कछुवा प्रजाति पूर्वमा झापा र पश्चिम कञ्चनपुर जिल्लामा पनि अभिलेख भएका छन् । कछुवा घरमा पाल्न कानुनले बन्देज गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले अनुमतिबिना कछुवालगायतका वन्यजन्तुको ओसारपसार वा पालन निषेध गर्छ । संरक्षित वन्यजन्तुको अवैध ओसारपसार वा पालन गरेमा ५ देखि १० लाख रुपैयाँ जरिवाना वा ५ देखि १५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।
कछुवा शरीरमा खपटो भएको एकमात्र मेरुदण्डीय जीवभित्र पर्दछ । विश्वमा सबैभन्दा पहिले लोप हुने ढाड भएका जीवको सूचीमा कछुवालाई पनि राखिएको छ । धेरै प्रजातिका कछुवा सिमसारमा आश्रित छन् । सिमसार क्षेत्र अतिक्रमणले कछुवा संकटमा परेको छ ।
नेपालमा पाइने अधिकांश कछुवा प्रजातिहरू संरक्षणको हिसाबले खतरामा छन् । यो प्रजातिको कछुवा र एक सिंगे गैँडा संरक्षणको हिसाबले दुवै एकै छन् ।
आईयूसीएन रेड लिस्टले यी दुवैलाई असुरक्षित प्रजाति (भल्नर्रेबल स्पीसीस) श्रेणीमा राखेको छ । यो कछुवाको संख्या पछिल्ला दिनहरूमा बासस्थान तथा सिमसार क्षेत्रको विनाशका कारण घटिरहेको छ।
पछिल्लो ४५ वर्षमा यो प्रजातिको कछुवाको संख्या ३० प्रतिशत भन्दा बढीले घटेको आयूसीएनको प्रतिवेदनमा उल्लेख छ । सिमसार तथा धानखेतहरूमा पनि पाइने भएकाले यसलाई स्थानीयले उपयोग गर्ने गर्छन् । शक्तिबर्धक औषधिको रूपमा यो प्रजातिको खपत हुने गर्दा संरक्षणको जोखिममा परेको छ ।
केही अध्ययनहरूले यो कछुवा स्थानीय तथा क्षेत्रीय रूपमा खानाको लागि बढी खपत हुने गर्दछ । सन् २०१७मा प्रकाशित एक अनुसन्धानात्मक आलेखका अनुसार भारतमा दोस्रो धेरै व्यापार हुने कछुवा प्रजातिमा पुतली कछुवा पर्दछ । यस्तै, २०१८मा भारतमा कछुवा संरक्षण सम्बन्धिको एक संस्था ७ हजारभन्दा बढी संख्या बिक्री हुने अवस्थामा बरामद गरेको थियो ।
नरम खबटा हुने यो प्रजातिको कछुवा नेपालसहित भारत,बंगलादेश,पाकिस्तान लगायतका मुलुकमा पाइने अभिलेख गरिएको छ। यो कछुवाको प्रजनन् समय पनि अन्य प्रजातिको कछुवाको जस्तै छ। गर्मीयामको अन्त्य र मनसुनसँगै प्रजनन् सुरू हुन्छ । एउटा पोथीले २ देखि १५ वटासम्म फूल उत्पादन गर्छ । यो प्रजाति चार देखि ५ वर्षको उमेरदेखि वयस्क हुन्छन्।
कछुवाले प्रायः नदी तथा समुद्र किनारमा अण्डा पार्छन् । कछुवाको अन्डा केही जीवका लागि आहारा बन्छ । अन्डाले सामुद्रिक क्षेत्रमा उत्पादकत्व बढाउन भूमिका खेलेको हुन्छ।
अन्डामा भएको करिब ८२ प्रतिशत ऊर्जा जमिनमा मिल्ने र त्यसमा रहेका क्याल्सियमजस्ता पौष्टिक तत्त्वले तटीय क्षेत्रमा घाँस एवं वनस्पति फैलाउन, कटान कम गर्न सघाउने मोसको सन् २०१७ मा प्रकाशित अनुसन्धानमा उल्लेख छ । कछुवाले समुद्र र जमीनबीचको पौष्टिक चक्रमा पनि प्रभाव पारेको अनुसन्धानले देखाएका छन् । कछुवाले परागसेचनमा पनि भूमिका खेल्छन् ।
आईयूसीएनले यो प्रजातिको कछुवाको अधिकतम कति वर्षसम्म बाँच्न सक्ने भन्ने सन्दर्भमा उल्लेख नभएपनि एउटा पुस्ता करिब १५ वर्षसम्म हुने अनुमान गरेको छ । मांसाहारी र शाकाहारी दुवै भएकाले सर्वहारी प्रजाति हो।
समग्रमा कछुवा प्रजातिहरूको शारीरिक वृद्धि ढिलो हुने गर्छ । पाचन प्रक्रिया र कोषको वृद्धि ढिलो हुने भएकाले कछुवा धेरै वर्षसम्म बाँच्छन् । अन्डाबाट भाले कि पोथी निस्कने सन्दर्मा तापक्रमले निर्क्यौल गर्दछ । औसत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम हुँदा भाले निस्कने गर्छ ।
कछुवाले बच्चा रेखदेख गर्दैन। अन्डाबाट निस्किएपछि बच्चाले बाँच्न आफैं संघर्ष गर्नुपर्छ । केहीलाई अन्य जीवले खाइदिन्छन् । साईटीसको अनुसूची २ मा पनि सूचिकृत रहेको यो कछुवा प्रजाति भारत बंगलादेशलगायतका मुलुकहरुका वन्यजन्तु संरक्षण ऐनले संरक्षित गरेको प्रजातिभित्र पर्दछ । त्यसैले पनि यो प्रजातिको महत्व र संरक्षणको दृष्टिकोणबाट कति महत्वपूर्ण छ भन्ने थाहा हुन्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने १७ प्रजातिका १९ खालका कछुवाहरू अभिलेख गरिएका छन् । तीमध्ये ४ प्रजाति अति संकटापन्न र ७ संकटापन्न अवस्थामा । नेपालमा विशेष गरेर वन्यजन्तुको अवैध व्यापार तथा ओसारपोसारको रूपमा पनि कछुवाको किनबेच हुने गर्छ।
कतिपयले घरयासी रूपमा राख्ने,खानाको रूपमा तथा कतिले एक्वारियममा राख्ने गर्दछन् । भारतीय सुन कछुवा,रातो काने, थोप्ले कछुवाहरूको किनबेच धेरै नै हुने गर्ने अध्ययनहरूले देखाएका छन् ।
काठमाडौका केही पोखरी तथा सिमसार क्षेत्रहरूमा अवैध ओसारपसारका क्रममा रातो काने कछुवाहरू पनि देखिएका छन् । यो कछुवा प्रजाति नेपालमा नपाइने भएकाले कतिपयले यसलाई मिचाहा प्रजातिको कछुवा पनि भन्ने गर्दछन्।
घरमा पनि आयातित प्रजातिका कछुवा पाल्ने चलन बढेको छ। कछुवा पाल्दा शुभ हुने धारणाका कारण पनि चोरीसिकार बढेको अनुमान गर्न सकिन्छ । सरकारी तबरबाट चितवन र बर्दिया निकुञ्ज तथा सामुदायिक स्तरबाट झापामा कछुवाका संरक्षण केन्द्रहरू स्थापित छन् ।
प्रतिक्रिया 4