६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा युवाहरूको ज्यान जोगाउन नसकेको र देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर तिहार मनाउन नसकेको भन्दै शुभचिन्तकसँग माफी मागेका छन् ।
सामाजिक सञ्जालमार्फत शर्माले आफूलाई निरन्तर टेलिफोनमा देउसी, भैलो, भाइटीकाबारे प्रश्न आइरहेको भए पनि तिहार मनाउन नसकेको उल्लेख गरेका छन् ।
‘केही मित्रको टेलिफोन जिज्ञासामा भन्ने गरेको छु– यसपालि देउसीमा घरको आँगनमा स्वागत गर्न सकेनौं, क्षमा पाउँ,’ महामन्त्री शर्माले भनेका छन्, ‘दशैंको टीका र तिहारको भाइटीका लगाइएन यसपालि । भदौ २३ को प्रदर्शनमा त्यतिका अमुल्य जीवन गुम्न नदिन र २४ गते देश जल्न नदिन सार्थक हस्तक्षेप गर्न नसक्नुको पीडा बोकेर टीका लगाउन सकिएन ।’
उनले यसअघिका वर्षमा झापाको मेचिनगरस्थित धुलाबारीको आँगनमा खेल्ने गरिएको देउसी स्मरण गरे । तर, यो पटक भने आफ्नै मनले त्यस्तो गर्न नमानेको अनुभूति उनले स्मरण गरेका छन् ।
‘तर यसपालि मनले त्यो मागेन, मानेन, खोजेन,’ उनले भनेका छन्, ‘आगजनीमा परेको धुलाबारीको घरमा यसपालि तिहारको बत्ती बलेन ।’
उनले थप अपेक्षा राख्दै भनेका छन्, ‘हामी सबै बदलिनेछौं र समाज बदल्नेछौं । बदलाको भाव, वैरभाव कसैप्रती पनि नराखौं । यहि नै हाम्रा धर्मशास्त्रहरुको पनि सार हो ।’
प्रतिक्रिया 4