+
+
Shares
वार्ता :

‘पर्यटनबाट भूमिसुधारमा मेरो नाम हेरफेर गर्ने अदृश्य शक्ति के थियो ?’

‘त्यहि त अब पर्यटन उहाँहरूले नै एप्रोच गरेको मन्त्रालय हो । मैले एप्रोच गरेको पनि होइन । अब उहाँहरूले आज बिहान मात्र के कुराले चाँही हेरफेरि गर्नुभयो, अदृश्य शक्ति चाँही के थियो मलाई थाहा भएन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते २२:२८

अन्तरिम सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री सुशीला कार्कीले आइतबार चारजना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाएकी थिइन् । त्यसमध्ये एक नाम थियो- गणपतिलाल श्रेष्ठ । तर शनिबार राति उनीसँग कुरा भएर अन्तिम रूप पाएको पर्यटन मन्त्रालयबाट उनको नाम भूमिसुधारमा सारिएको थियो ।

जब उनले अर्को मन्त्रालय फेरेको जानकारी पाए त्यसपछि मन्त्रीको शपथ लिन अस्वीकार गरे । कसरी उनको नाम अर्को मन्त्रालयका लागि फेरियो ? यसै सन्दर्भमा श्रेष्ठसँग अनलाइनखबरका विशाल सापकोटाले गरेको कुराकानी :

तपाईंको नाम पनि मन्त्रीका रूपमा सिफारिस भएको थियो । तर, शपथ भएन किन ?

म पर्यटन क्षेत्रमा काम गर्दै आएको व्यक्ति हुँ । सम्पदा संरक्षणको क्षेत्रमा मैले विगतमा गरेका काम भनिरहनुपरेन । हिजो प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा भएको थियो ।

हिजो बेलुका ८ बजेसम्म मलाई पर्यटन मन्त्रालयकै जिम्मेवारी दिने कुरा थियो । तर, बिहान प्रधानमन्त्रीले मठ, मन्दिर, गुठीको कुरा भूमिसूधारबाट पनि हेर्न सकिन्छ भन्न थाल्नुभयो । हिजो बेलका त्यहि मुखले नै आठ बजेसम्म अन्य मन्त्रीहरू पनि बसेर फाइनल गरिएको थियो संस्कृति पर्यटन मन्त्रालय, अगाडिदेखि पनि त्यहि नै कुरा भएको हो । अब मैले चाँही प्रधानमन्त्रीज्युसँग मन्त्रीको लागि मन्त्री बन्न आको होइन भनिदिएँ अगाडि नै ।

मन्त्रालय फेरिँदा तपाईं नमान्नु भएको हो ? के भयो ठ्याक्कै ?

सबैको अनुरोधमा कमसेकम अहिलेको मान्छेको निराशा र थोरै भएको आशालाई जगाउनलाई पर्यटन मन्त्रालयको जिम्मेवारी चाहेको थिएँ । विगत २२–२४ वर्ष सांस्कृतिक धरातलमा काम गरेको हिसाबबाट, पर्यटकीय नगरीमा जन्मिएको हिसाबबाट पर्यटन मन्त्रालयको जिम्मेवारी चाहेको थिएँ ।

पर्यटन मन्त्रालय नै उपयुक्त हुन्छ भनेर उहाँहरूकै अनुरोधमा कमसेकम देशको यो विषम परिस्थितिमा तपाईंहरू जस्तो मान्छे आइदिनु पर्यो भनेपछि मात्र गएको हो ।

हिजो बेलुका ८ बजे सम्म सबै मन्त्री ज्यूहरू बसेर फाइनल गरेको चिज आज बिहान मात्र सिफारिस भयो भनेर तपाईंहरुकै न्युजमा आको हैन र । त्यसपछि एकछिन पछि तपाईंलाई भूमि सुधार मन्त्रालय भन्ने बित्तिकै त्यो कुरा मैले अस्वीकार गरेको हो ।

तपाईंको नाम पर्यटन मन्त्रालयमा टुंगो लागेको थियो भने रातिको कुरा बिहान किन फेरियो त ?

त्यहि त अब पर्यटन उहाँहरूले नै एप्रोच गरेको मन्त्रालय हो । मैले एप्रोच गरेको पनि होइन । अब उहाँहरूले आज बिहान मात्र के कुराले चाँही हेरफेरि गर्नुभयो, अदृश्य शक्ति चाँही के थियो मलाई थाहा भएन ।

यो त नागरिक सरकार हो नि, नागरिक सरकारलाई कस्तो शक्तिले यो चेन्ज गरायो ? मन्त्रिपरिषद् विस्तारको कुरा लगभग एक महिना भयो नि अन्योलमा राख्या, हैन ।

तपाईंहरूकै न्यूजमा सोमबार शपथ भन्ने आयो । त्यो भन्दा अगाडि पनि यो मन्त्री बन्ने भनेर आएको थियो नि हैन । अब अहिले आज बिहानसम्मको पनि आउँदा खेरि एक दुई घण्टामा के दबाब र प्रभाव पर्‍यो थाहा भएन ।

अनि त्यहि कारण मलाई त्यो मन्त्रीको लागि मन्त्री बन्नु छैन भनेर भनेर आएँ ।

प्रधानमन्त्रीसँगै मन्त्रीका लागि मन्त्री बन्दिन भन्नुभयो ?

अँ, प्रधानमन्त्री र गृहमन्त्रीलाई नै भनेर आएँ । प्रधानमन्त्रीसँगै छ पर्यटन मन्त्रालय । अब उहाँले कसलाई दिन खोज्या हो थाहा भएन । भूमिसुधार जसलाई दिने भनेर आश्वासन दिएका छन्, त्यही मान्छे यता र उता गर्न खोजेको हो भन्ने लाग्यो ।

तपाईंले पर्यटन मन्त्रालय नै माग्नुको कारण के हो त ?

अब सांस्कृतिक क्षेत्रमा काम गरेको हिसाबमै भयो नि हैन । संस्कृति पर्यटनसँग जोडेर अब त्यो किसिमको उहाँहरूले नै एड्रेस गर्नुभएको हो । अहिलेको अवस्था त सहज अवस्था त होइन नि । त्यत्रो युवाहरूको बलिदानी छ । यस्तो बेला बच्चाबच्चीको खेल जस्तो देखियो । अरूलाई भए जुन मन्त्रालयको जिम्मेवारी दिए पनि खुशी हुन्थ्यो होला । होडबाजी हुन्थ्यो होला । मेरो चाहीँ त्यो लाइन हैन । इच्छा नै नगरेको क्षेत्रको जिम्मेवारी बोकाउन भूमिमन्त्री बनाउन खोजेपछि अब के मतलब भनेर त्यो अस्वीकार गरेको हो ।

कुरा चले देखिनै त्यो मन्त्रालयमा गएर कमसे कम हैन, देश र जनताको लागि के गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित भइरहेको थियो । हिजो बेलुकाले थप उर्जा थियो । अब आज शपथ हुन्छ, आज सिफारिस बिहानै हुन्छ भन्ने कुरा जानकारी पाएँ । तर अब एकाएक मन्त्रालय नै परिवर्तन भयो । त्यो पनि मलाई नसोधिकन भयो ।

तपाईंको नाम पनि राष्ट्रपति समक्ष सिफारिस भएको थियो नि ?

गयो, तर मन्त्रालय चेन्ज भएर । भूमिसुधार मन्त्रालयमा त मसँग कुरा भएको छैन नि । केहि कुरा परिवर्तन गर्न पनि सोच्न त पर्छ होला नि । इच्छा हुने नहुने कुराहरू हैन । क्यापाबिलिटीको कुरा होला, हरेक कुराहरु हुन सक्छ नि ।

अब हिजो बेलुका आठ बजे सम्म त उहाँहरु सबै बसेरै फाइनल गरेको हो । अनि हिजोको आजै बिहान एकैछिनमा त्यसरी आफ्नो बोली फेरेपछि कोइसन त उठ्छ नि ।

अब फेरि प्रधानमन्त्रीसँग छलफल गरेर मन्त्री बन्ने संकेत देख्नु भएको छ ?

उहाँले अर्को व्यक्ति नै मन्त्रालयमा राख्न खोजेको हुनसक्ला । त्यसले गर्दा मात्र तल माथि भएको हुनसक्छ । त्यो बाहेक मेरो विचारमा अरू म देख्दिन । त्यही भएर मलाई अब अर्को मन्त्रालयमा इन्फोर्स गर्या हो नि त ।

पर्यटनमा भइदिएको भए गरिरहेको काम र क्षेत्र पनि त्यही थियो ।

हामीले हिजोको दिन गुठी आन्दोलन लडिराख्दा खेरि गुठी विधेयक विरुद्धको आन्दोलन लड्दै गर्दा खेरि, भूमि सुधार मन्त्रालयले जहिले पनि भूमिसँग मात्र तुलना गर्‍यो ।

हाम्रो संस्कृतिहरू समय सापेक्ष किसिमले आफ्नै गुठीको पितापुर्खाले राखेको गुठीको जग्गाबाट स्वचालित हुनुपर्ने, स्वायत्तता हुनुपर्ने, त्यो हुन सकेन, हैन । त्यसले गर्दाखेरि यो गुठी संस्थान र गुठी जति पनि संस्कृतिहरू चल्छन् त्यो संस्कृति मन्त्रालय अन्तर्गत पर्छ भन्ने हाम्रो त्यतिबेला माग थियो ।

त्यति भइसकेपछि त संस्कृति मन्त्रालयको जस्तो आज हामी त्यहाँ पुगेको भएपनि हामीले गुठीको जति पनि कुरा छ भूमिसुधार मन्त्रालय अन्तर्गत थियो । त्यो चाहिँ हाम्रो मन्त्रालय अन्तर्गत हुनुपर्छ भनेर हामी त्यो लाइनमा चल्नेगरी सोच्थ्यौं । त्यसले गर्दाखेरि पनि अब भूमिसुधार चाहिँ हामी लिँदैनौ । त्यो पनि एकाएक त्यसरी परिवर्तन गरेर आफ्नो स्वाभिमानको पनि त कुरा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?