News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कराते स्टार एरिका गुरुङ आगामी मंसिर ११ देखि १४ गतेसम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।
- वर्ल्ड कराते फेडेरेसनले एरिकाको युनिभर्सालिटी कोटामार्फत छनोट भएको जानकारी गराएको छ ।
- नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले पनि कराते विश्व च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ ।
१० कात्तिक, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ आगामी नोभेम्बर २७ देखि ३० (मंसिर ११-१४ गते) सम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।
यसअघि फ्रान्सको पेरिसमा भएको कराते विश्व च्याम्पियनसिप क्वालिफायरमा सुरुवाती तीन खेल जिते पनि निर्णायक खेलमा चुक्दा छनोट हुन नसकेपनि एरिकाले युनिभर्सालिटी कोटामार्फत विश्व च्याम्पियनसिपमा स्थान बनाएका हुन् ।
वर्ल्ड कराते फेडेरेसन (डब्लुकेएफ) ले नेपाल कराते महासंघलाई पत्र लेख्दै एरिका युनिभर्सालिटी कोटामार्फत कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएको जानकारी गराएको छ । अब नेपाल कराते महासंघले उनको सहभागिता पक्का हुने निर्णय पठाउनुपर्नेछ ।
कराते विश्व च्याम्पियनसिप करातेको सबैभन्दा ठूलो प्रतियोगिता हो । जहाँ विश्वका उत्कृष्ट ३२ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने गर्छन् । एरिकाले यसअघि मोरोक्कोमा भएको कराते वान प्रिमियर लिग खेल्दै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पहिलो सहभागितामै कराते वान प्रिमियर लिगमा जितेको उक्त पदक एरिकाले जितेको ठूलो पदक हो ।
यसअघि नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले कराते विश्व च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ । उनी वरियताका आधारमा छनोट चरण नखेली सिधै विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् ।
एरिकासहित नेपालबाट चार खेलाडीले पेरिसका भएको क्वालिफायर खेलेका थिए । महिला ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी एरिकाले त्यहाँ आफ्नो पुलको तीनवटै खेल जितेर पुल विनरको रुपमा नकआउट चरणमा स्थान बनाएकी थिइन् । तर अष्ट्रियन खेलाडीसँग ५-२ ले पराजित हुँदा त्यतिबेला उनी छनोट हुन असफल भएकी थिइन् ।
प्रतिक्रिया 4