+
+
Shares

सीमा सुरक्षाबारे नेपाली अधिकारीसँग भारतीय पक्षको चासो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ९:१०
नेपाल–भारत सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय पक्षले बिहार विधान सभा निर्वाचनअघि मधेश प्रदेशसँग सीमा क्षेत्रमा सुरक्षा कडाइ गर्न नेपालसँग आग्रह गरेको छ।
  • नेपालका बारा र पर्साका सुरक्षा अधिकारीले भारतीय पक्षसँग सीमा सुरक्षा व्यवस्थाबारे छलफल गरेका छन्।
  • बिहारमा ६ र ११ नोभेम्बरमा दुई चरणमा निर्वाचन हुँदैछ र मतपरिणाम १४ नोभेम्बरमा सार्वजनिक हुनेछ।

काठमाडौं । मधेश प्रदेशसँग सीमा जोडिएको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचनअघि भारतीय पक्षले नेपालतर्फको शान्ति सुरक्षाबारेमा चासो देखाएको छ ।

जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र कारागारबाट फरार कैदी–बन्दी सरकारी संयन्त्रको सम्पर्कमा नरहेकाबेला भारतीय पक्षले सीमा क्षेत्रको सुरक्षाबारे चासो देखाएको हो ।

भारतीय पक्षले केही दिनअघि मधेश प्रदेशमा पर्ने जिल्लाहरू बारा र पर्साका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई आमन्त्रण गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ ।

छलफलमा भारतीय पक्षले बिहारमा हुन गइरहेको चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिदिन आग्रह गरेको बताइएको छ । छलफलमा चुनावका क्रममा सीमाक्षेत्र सिल गर्ने, संयुक्त गस्ती गर्ने विषयमा पनि कुराकानी भएको थियो ।

छलफलमा सहभागी बाराका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार नेपालका तर्फबाट बारा र पर्साको जिल्ला सुरक्षा समितिका पदाधिकारी, सशस्त्र प्रहरीका डीआईजीहरू सहभागी थिए ।

‘खास गरेर बारा र पर्साकोे जिल्ला सुरक्षा समितिका पदाधिकारी, सशस्त्र प्रहरीका डीआइजीहरू समेतको उपस्थिति थियो,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँ (भारतीय पक्ष) हरूको पनि त्यही खालको सुरक्षा निकायको उपस्थितिमा छलफल भएको हो ।’

प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार भारतीय पक्षले बिहार राज्यको आसन्न निर्वाचनका क्रममा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो बनाइदिन नेपाली पक्षसँग आग्रह गरेको थियो ।

‘उहाँहरूले अलिकति चुनावको विषयलाई लिएर सुरक्षा व्यवस्था राम्रो गर्नुपर्‍यो बोर्डरमा भन्ने कुरा छलफलमा राख्नुभएको थियो,’ सुवेदीले अनलाइनखबरसँग भने, ‘हामीले हाम्रो सुरक्षाको व्यवस्थाको विषयमा ब्रिफ गर्‍यौँ ।’ उनले सीमा सुरक्षाबारे नेपाल र भारतका अधिकारीहरुबीच नियमित छलफल हुने गरेको पनि बताए ।

बिहार विधानसभाको दुई चरणमा हुँदैछ निर्वाचन

बिहारमा ६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका छ । दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचनको मतपरिणम १४ नोभेम्बर (२८ कात्तिक) मा सार्वजनिक भइसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहारमा मुख्य रूपले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र महागठबन्धनबीच प्रतिष्पर्धा हुने छ । यसपल्ट विधान सभा निर्वाचनमा प्रशान्त किशोरको पार्टी जन सुराजको उपस्थिति चर्चामा छ ।

एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाआवद्ध छन् ।

राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इण्डिया (मार्क्सवादी) महागठबन्धनमा छन् ।

एनडीए गठबन्धन वर्तमान सत्तारुढ गठबन्धन हो । यसको नेतृत्व मुख्य रूपमा भाजपा र जनता दल (युनाइटेड)ले गरिरहेका छन् । महागठबन्धन विपक्षी गठबन्धन हो । यसको नेतृत्व राष्ट्रिय जनता दलले गर्दैछ । महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्री पदको उम्मेदवार घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?