+
+
Shares

जेनजी र दलहरूलाई प्रधानमन्त्रीले भनिन्–हेर्दै जानुहोस्, केके गर्दै छौं ? थन्क्याएका फाइल खुलाउँदैछौं

‘३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ११:०५

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार चुनावमा केन्द्रित रहेको बतमाएकी छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित त्रिपक्षीय संवादमा समापन मन्तव्य राख्दै उनले प्रत्येक दिन छलफल र गृहकार्य गर्ने प्रतिवद्धता पनि जनाइन् । उनले भनेकी छने, ‘कामको प्रगतिविवरण लिन्छौँ, समस्याहरु फुकाउन लागिपरेका छौँ ।  अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ।’

उनी थप्छिन्, ‘प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन्।’

विगतमा मनोबल गिराउन लागेकाहरू अहिले मनोबलको कुरा गरिरहेको भनेर उनले कटाक्ष पनि गरिन ।

‘३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु’, उनले भनेकी छन्, ‘भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौँ।’

त्रिपक्षीय छलफलमा उठेका विषय स्मरण गर्दै उनले भनेकी छन्, ‘अब यहाँ विदेशीको कुरा पनि आयो। विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो। तर, यो तर्साउने हतियार मात्र हो। यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन।’

उनका अनुसार राजदूतसँग सिंहदरबारमा भेट्ने गरिएको छ, बालुवाटारमा भेटिएको छैन । हालसम्म शिष्टाचार भेट मात्र भएको उनले बताइन् । उनले थपेकी छन्, ‘काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ। हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो।’

आलोचनाप्रति भने उनले रोष प्रकट गरिन् । ‘यहाँ अनौठो चलन देखियो भने काम गर्न नदिने, अनि बातैपिच्छे काम गरेन भन्ने’ उनले भनेकी छन्, ‘हामी प्रयास गरिरहेका छौँ। हामी रोकिँदैनौँ। जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ।’

त्रिपक्षीय छलफलमा न्यायाधीश मन्त्री हुन पाउने कि नपाउने भनेर समेत उठेको थियो । साथै कार्कीले विगतमा प्रतिनिधि विघटनको विषयमा आफ्नो धारणा राखेको र त्यसअनुसार अहिले विघटन नभएको विषय एमालेका नेता महेश बर्तौलाले उठाएका थिए ।

जवाफ दिँदै कार्कीले भनेकी छन्, ‘यहाँ न्यायाधीशका कुरा पनि उठे। संसद विघटनमा भएका निर्णयका पनि कुरा आए। के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ?’

प्रधानमन्त्री कार्कीको प्रश्न छ, ‘भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न? अचम्म छ।’

न्यायाधीश मन्त्री भएको विषयमा अनावश्यक प्रश्न गर्न आवश्यक नरहेको पनि दोहोर्‍याइन् । उनले भनिन् ।

‘अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बझेको मान्छे हुँदा धेरै काम सहज भएको छ।’

सरकारले के गर्‍यो वा गरेन भनेर आलोचना गर्नु अगाडि केके काम गर्दैछन् भनेर नियाल्न उनको आग्रह छ ।

‘हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिसकेका छन्। कतिलाई समात्दै छौँ।’ प्रधानमन्त्री कार्कीले भनेक छन्, ‘यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।’

चुनाव गराउने दृढता

जे जस्तो आलोचना भएता पनि चुनाव गराउने उनको दृढता छ ।

‘कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरैकुरामा मात्र बाँचेको छ। काम गर्नु छैन। अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ। तर, यहाँ राजनीति मात्र गरेको छ। राजनीति गरेरै आर्यघाट जाने ?’ उनले भनेकी छन् ।

तर, आफ्ना प्रष्ट रहेको उनको जवाफ छ, ‘मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु। गोलीको वर्षा भइरहेको त्यो जनसागरबीच नारा लगाइरहेका ती युवाको त्यसबेलाको भावभंगी देखेको छु। म त्यही सम्झेर काम गर्छु। मेरो प्रतिबद्धता यही छ।’

चुनाव गराउने दृढता व्यक्त गर्दै उनले थपिन्, ‘म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्याउँछौँ।’

रहरले नेतृत्व नलिएको भनाइ

आफूले रहरले मुलुकको नेतृत्व नलिएको प्रधानमन्त्री कार्कीको भनाइ रहेको छ ।

‘म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ।’ उनले भनेकी छन्

‘म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो’ कार्कीले भनेकी छन्, ‘जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो। प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो।’

त्यसबेला आफूले निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएको उल्लेख गर्दै उनले भनिन्, ‘ती घाइतेहरूको अनुहार हेरेँ। मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोटसाथ अगाडि आएँ।’

सरकार सहिद परिवार, घाइते र प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका उल्लेख गर्दै उनले भनिन्, ‘बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ। बोलेको पुर्‍याउँछौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?