१३ कात्तिक, काठमाडौं । सरकारले विकासे योजनाहरू काटेकोमा सांसदहरू असन्तुष्ट भएका छन् ।
बिहीबार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको थियो । जहाँ सांसदहरूले किन योजना काटियो भनेर प्रश्न समेत गरे ।
मन्त्री वा विभागीय प्रमुखहरूलाई बोलाएर के कस्ता योजना काटिए र किन काटिए भनेर सोध्नुपर्ने प्रस्ताव समेत गरेका छन् ।
नेपाल एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले योजनाहरू किन काटियो भनेर सरकारलाई सोध्नुपर्ने बताइन् ।
उनले भनेकी छन्, ‘सम्भव भए प्रधानमन्त्री नभए मन्त्री वा विकासे कार्यालयका सम्बन्धित अधिकारीलाई भएपनि बोलाएर सोधौं– योजनाहरू किन काटियो ?’
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले खर्च कटौती, आर्थिक अवस्थामा सुधार ल्याउने र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा स्रोत जुटाउने लक्ष्यसहित १३ सयभन्दा बढी टुक्रे आयोजना खारेज गर्ने निर्णय गरेको छ ।
टुक्रे आयोजना खारेज हुँदा बचत हुने रकम निर्वाचन, आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचना पुनर्निर्माण तथा राष्ट्रिय महत्त्वका आयोजनामा खर्च गर्ने तयारी अर्थ मन्त्रालयको छ ।
अर्थ मन्त्रालय टुक्रे आयोजना खारेजको निर्णय कार्यान्वयनको चरणमा रहेकाबेला सांसदहरूले भने असन्तुष्टि जनाएका हुन् ।
हरेक प्रश्नउपर छलफल र बहस गर्ने थलो संसद भएकाले संसदको प्रभावकारिता हुन आवश्यक रहेको पनि सांसद गैरेको आग्रह छ ।
‘प्रतिनिधि सभा विघटन भएको छ । राष्ट्रिय सभा जिवित छ र यसले के गर्छ भनेर धेरैले ख्याल गरिरहेका छन्’ उनी भन्छिन्, ‘यो बेला हाम्रो पनि सक्रियता आवश्यक छ ।’
सरकारले गरेका कामका विषयमा छलफल गर्न सकिने उनले बताइन् । देश र जनता भन्दा माथि कोही पनि नरहेको उल्लेख गर्दै उनले भनिन्, ‘देश र जनताको हितभन्दा बाहिर जोसुकैले जे ल्याएपनि कलम चोप्न हुँदैन ।’
नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामीले पनि विकास निर्माणसँग सम्बन्धित विषयमा सम्बन्धित मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर छलफल गर्न सकिने बताए ।
‘विकासे कुरामा विकासे मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग छलफल गर्न सकिन्छ’ उनले भने ।
प्रतिक्रिया 4