News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा देखिएको तनाव यथावत राखेर चुनावमा गएर राम्रो नतिजा नआउने बताएका छन्।
- पुनले पार्टी विधान आफूअनुकूल व्याख्या नगर्न नेताहरूलाई सचेत गराउँदै विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूको भावनाको कदर गर्नुपर्ने बताए।
- उनले नेकपा एमाले र माओवादी केन्द्रले मंसिरमा महाधिवेशन गर्ने उदाहरण दिँदै कांग्रेसले पनि १५ औं महाधिवेशन गर्नुपर्ने धारणा राखे।
१३ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमिति सभापति अमरसिंह पुनले पार्टीमा देखिएको पछिल्लो तनाव यथावत राखेर निर्वाचनमा जाने र ठूलो पार्टी बन्ने कल्पना गर्न नहुने बताएका छन्।
केन्द्रीय कार्यसमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा बिहीबार धारणा राख्ने क्रममा खिचातानीका बीच चुनावमा गएर पार्टीले राम्रो नतिजा प्राप्त नगर्ने बताएका हुन्।
विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूको भावनाको कदर हुनुपर्नेमा जोड दिँदै सभापति पुनले भने, ‘विधानमा जे व्यवस्था छ त्योअनुसार गरौं। यही खिचातानीमा हामी चुनावमा जाऔंला, ठूलो पार्टी बनौंला भन्ने खालको कल्पना नगरौं।’
उनले पार्टीका नेताहरूलाई पार्टी विधान आफूअनुकूल व्याख्या नगर्न पनि सचेत गराए। ‘यहाँ विशेष महाधिवशेनको माग गर्ने साथीहरू पार्टी फुटाउने? अरू साथीहरू पार्टी जुटाउने? विधानलाई आफूअनुकूल व्यख्या गर्ने कसैलाई अधिकार छैन,’ प्रदेश सभापति पुनले भने।
नेता पुनले नेताहरूलाई आफूमा भएका समस्याभन्दा माथि उठेर देशको परिस्थितिअनुसार पार्टीलाई एकढिक्का बनाउन लाग्नुपर्नेमा जोड दिए। ‘समस्या छ त हामीमा छ, नेतामा छ,’ उनले भने, ‘त्यसकारण समस्याभन्दा मागि उठेर अहिले देशको परिस्थितिलाई हेरेर पार्टीलाई एकढिक्का बनाउने गरी लाग्नुपर्ने बेला आएको छ।
पुनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको उदाहरण दिँदै आगामी मंसिरमा कांग्रेसले पनि १५ औं महाधिवेशन गर्नुपर्ने बताए। ‘नेपालको राजनीति विश्व जगतमै फरक ढंगले चिनिएको छ। फरक ढंगले गएको छ,’ उनले भने, ‘हामी सँगसँगैका मुख्य पार्टीहरूले मंसिरमा अधिवेशन तय गरेका छन्। हामी अधिवेशन कि विशेष अधिवेशन भनेर रस्साकस्सी गरिरहेका छौं।’
पुनले पार्टी जेनजी आन्दोलन अघिकै शैलीमा अगाडि बढिरहेको भन्दै आपत्ति जनाए। ‘सधैं जसरी चलिरहेका छौं, त्यही नै छ। भदौ २३ र २४ गतेको घटना केही पनि होइन भन्ने रूपले गइरहेका छौं,’ उनले भने, ‘त्यो त्यति राम्रो छैन। समयअनुसार चल्नलाई हामी अगाडि बढ्नुपर्छ।’
प्रतिक्रिया 4