News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरमा ८१ वर्षीय वृद्ध कान्छा पतुवारले ५५ वर्षीय धनबहादुर तामाङलाई धकेल्दा बिजुलीको पोलमा ठोक्किएर मृत्यु भएको प्रहरीले बताएको छ।
- हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले केनाइन कुकुर समेत प्रयोग गरी ८१ वर्षीय पतुवारलाई ललितपुरबाट पक्राउ गरेको छ।
- हत्या पछिको प्रारम्भिक अनुसन्धानले तामाङ र पतुवारको घरमा काम गर्ने महिलासँगको आर्थिक विवाद कारण झगडा भएको देखाएको छ।
१३ कात्तिक, काठमाडौं । ललितपुरमा ८१ वर्षीय वृद्धबाट ५५ वर्षीय पुरुषको हत्या भएको छ । हत्याको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले ८१ वर्षीय वृद्ध कान्छा पतुवारलाई पक्राउ गरेको छ ।
ललितपुर उपमहानगरपालिका–१२ खोइचा बस्ने पतुवारले दक्षिणकाली नगरपालिका–९ घर भएका ५५ वर्षीय धने भन्ने धनबहादुर तामाङको हत्या गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार पतुवारले धकेल्दा बिजुलीको पोलमा ठोक्किएर धनबहादुरको मृत्यु भएको हो ।
हिजो बुधबार बिहान ६ बजेतिर खोइचस्थित बाँसघारीमा शंकास्पद अवस्थामा एक पुरुषको शव रहेको भन्ने सूचना प्रहरीमा आएको थियो । त्यसपछि परिसरबाट एसपी चक्रराज जोशीसहितको कमाण्डमा टोली खटिएको थियो ।
घटना शंकास्पद देखिएपछि प्रहरीले केनाइन कार्यालय महाराजगञ्जबाट तालिमप्राप्त कुकुर समेत मगाएर अनुसन्धान सुरु गरेको थियो ।
घटनास्थल मुचुल्का गरेर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइयो । प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको निष्कर्ष निकालेको प्रहरीले हत्यामा संलग्नको पहिचान गर्ने क्रममा ८१ वर्षीय वृद्ध पतुवार रहेको खुल्यो ।
विशेष सुराकीको आधारमा प्रहरीले साँझपख लुकिछिपी बसेको अवस्थामा ललितपुर उपमहानगरपालिका–२५ बाट उनलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा तामाङको हत्यामा एक महिलासँगको आर्थिक विवाद रहेको खुलेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पतुवारको घरमा काम गर्ने महिलासँग तामाङको आर्थिक लेनदेन थियो । जसकारण तामाङ बेलाबखत पतुवारको घर गएर ती महिलासँग विवाद गर्ने गरेका थिए । सोही क्रममा बुधबार पनि तामाङ पतुवारको घर पुगेका थिए ।
आफ्नो घरमा आएर विवाद गरेको भन्दै सम्झाई बुझाई गर्ने क्रममा पतुवार र तामाङबीच झनै विवाद चर्केको प्रहरीले बताएको छ ।
त्यसपछि पतुवारले तामाङलाई धकेल्दा बिजुलीको पोलमा ठोक्किएर उनी बेहोस भएका थिए । अनि पतुवारले घिसार्दै बाँसघारीमा लगेर फालेर फरार भएको प्रहरी बताउँछ ।
प्रतिक्रिया 4