+
+
Shares

फोहोर विसर्जनको अवरोध खोल्न सहरी विकास मन्त्रालयमा छलफल

प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र अन्य सरोकारवाल छलफलमा सहभागी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले १८ बुँदे सहमति पूरा नभएको भन्दै बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोक लगाएको विषयमा समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ।
  • सहरी विकास मन्त्रालयले धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाका जनप्रतिनिधि, वडाअध्यक्ष र सरोकारवालासँग शुक्रबार छलफल आयोजना गर्ने जनाएको छ।
  • स्थानीयले सहमति कार्यान्वयन नभएको र दुर्गन्धका कारण सरुवाजन्य रोग फैलिएको भन्दै आन्दोलन थालेका छन् र मुद्दा फिर्ता गर्न पनि माग गरेका छन्।

१४ कात्तिक, काठमाडौं। १८ बुँदे सहमति पूरा नभएको भन्दै बञ्चरेडाँडामा  फोहोर विसर्जन गर्न गएका गाडी स्थानीयले रोकेपछि सरकारले वार्ताको पहल गरेको छ।

सहरी विकास मन्त्रालयले समस्या समाधानको लागि सरोकारवालाहरूसँग शुक्रबार छलफल गर्दैछ।

मन्त्रालयले प्रभावित क्षेत्रमा पर्ने धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकाका प्रमुखलगायतका जनप्रतिनिधि, वडाअध्यक्षहरू र अन्य सरोकारवालासँग छलफल आयोजना गरेको हो ।

यसअघि दुवै नगरपालिकाले समस्या समाधानका लागि पहल गरिदिन सहरी विकास मन्त्रालयलाई पत्राचार नै गरेका थिए।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर महेशबहादुर सिंहले पठाएको पत्रमा प्रतिनिधिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

‘…सो सम्बन्धमा छलफल गर्न तपसिल बमोजिमको मिति, समय र स्थानमा बैठक बस्ने भएको हुँदा उक्त बैठकमा तहाँ नगरपालिका, सम्बन्धित वडा र सरोकारवाल समेतको प्रतिनिधिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

प्रभावित क्षेत्रका स्थानीय अगुवा नीराजन सञ्जेलले सहर विकास मन्त्रालयले सरोकारवालाहरूलाई छलफलका लागि बोलाएको जानकारी दिए।

‘मन्त्रालयले पत्र पठाएर छलफलमा बोलाएको छ। हामी बैठकमा सहभागी हुन जाँदैछौं,’ सञ्जेलले अनलाइनखबरसँग भने, ‘सबै पक्षबीचको छलफलले समस्या समाधानमा सहयोग पुर्‍याउने विश्वास लिएको छु।’

काठमाडौं महानगरपालिकाले पूर्वसहमतिहरू कार्यान्वयन नगरेको भन्दै प्रभावित क्षेत्रका स्थानीयले बुधबारदेखि फोहोर विसर्जनमा रोक लगाएका छन्। ककनी गाँउपालिका–१ र २ तथा धुनबेसी नगरपालिका–१, २ र ३ वडाका स्थानीयबासी दुई जिल्लाको सङ्गम ढाँडेस्थित सडकमा बसेर फोहोर लिएर आएका गाडी फर्काउने गरेका छन्।

काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको धुनिवेशी नगरपालिका–१ स्थित बञ्चरे कुंडुले ल्यान्डफिल साइटमा विसर्जन हुँदै आएको छ। फोहोरमैला व्यवस्थापनको लागि दीर्घकालीन समाधानको लागि संघर्ष गर्दै आएका स्थानीयले आफ्ना माग पूरा नभएको भन्दै बुधबारदेखि आन्दोलन थालेका हुन्।

काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयबीच २६ जेठ २०७९ मा १८ बुँदे सहमति भएको थियो। फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, फोहर विसर्जनपश्चात लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्ने लगायतका सहमति पालना नभएको स्थानीयको भनाइ छ।

उक्त सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको भन्दै उनीहरूले पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन्। सहमति कार्यान्वयनका लागि पहल गर्नु साटो केही अगुवा स्थानीयमाथि काठमाडौं महानगरपालिको सार्वजनिक मुद्दा लगाएको भन्दै उनीहरू थप आक्रोशित छन्। मुद्दा फिर्ताको माग पनि उनीहरूले उठाउँदै आएका छन्।

यसअघि पीडित स्थानीयले गत असोज २६ गते भौतिक पूर्वाधार, शहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष समस्या राखेका थिए।

ल्यान्डफिल साइट निर्माण सम्पन्न नहुँदै फोहोर फाल्ने काम भइरहेको तर स्थानीय प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले समस्या समाधानको पहल गरिदिन मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?