१५ कात्तिक, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँगको एकताबाट पुन: नेतृत्वमै निरन्तर रहने बाटो रोजेपछि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले विमति राखेका छन् । माधव नेपालसँगको एकतापछि उनले माओवादी पार्टीलाई नै पुनर्गठन गर्ने बताएका छन् ।
एकताबाट अध्यक्ष दाहालले माओवाद र माओवादी पार्टीको औपचारिक विसर्जन गर्ने भएकाले आफू पुनर्गठनको बाटोमा लाग्नुपर्ने अवस्था आएको उनले बताए ।
‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ । म पार्टी पुनर्गठन गर्छु,’ उनले अनलाइनखबरसँग भने, ‘मैले यो कुरा भनिदिएको छु । पार्टी सुदृढ गरौंला भनेको छु ।’
पार्टीको बैठक छोडेर हिंडेका शर्माले शनिबार साँझ अनलाइनखबरसँगको संक्षिप्त कुराकानीमा दाहालले पार्टीलाई विसर्जन बाटोमा लगेको बताए । ‘आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्नु एकता होइन,’ उनले भने, ‘यो एकता जेनजी आन्दोलनको भावना विपरीतको एकता हो । माओवादीले यो एकतालाई बोक्न सक्दैनौं ।’
माओवाद र माओ विचार छोडेर त्यसबाट हिँडे विघटन र विसर्जन हुने उनको भनाइ छ । ‘महाधिवेशनमा प्रतिस्पर्धा छल्नका लागि प्रचण्डले एकताको कुरा गरिरहनु भएको हो,’ शर्माले भने ।
शर्माले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा लिखित धारणा पेश गर्दै एकतामा विमति राखेका थिए । पार्टीको महाधिवेशन छल्न र बैचारिक बहसलाई छल्न प्रचण्डले एकताको विषय अगाडि बढाएको भनेर उनले प्रचण्डकै अगाडि भनेका थिए ।
पहिले नेतृत्व हस्तान्तरण हुनुपर्ने र त्यसपछि समग्र कम्युनिस्ट आन्दोलन एकतामा जानुपर्ने उनको प्रस्ताव छ । तर, उनको यो भनाइबाट अध्यक्ष प्रचण्ड रुष्ट बनेका छन् । आफ्नो कुरा राखेर शर्मा बैठक नै छोडेर हिँडे ।
अध्यक्ष प्रचण्डले बैठकपछि शर्माको शैलीलाई ‘अराजक’ भनेका छन् । अन्य नेताहरूले पनि उनको शैली रुचाएनन् ।
‘उहाँले धेरै अघिदेखि फरक ढंगले जान खोजिराख्नु भएको थियो । आज एकता प्रक्रियामा समेत विमति राखेपछि अब उहाँ अझै फरक ढंगले अघि बढ्नुहुने देखियो,’ एक शीर्ष नेताले भने ।
आजको बैठकमा लिखित धारणा राखेर जनार्दन शर्मा बाहिरिएका थिए । उनी बाहिरिँदै गर्दा लिलामणि पोखरेलले ‘अब तपाईं नआउने हो ?’ भनेर सोधेका थिए । जनार्दनले ‘केन्द्रीय समिति बैठकमा आउँछु’ भनेर जवाफ चाहिँ दिएका थिए ।
एकीकृत समाजवादीसहितका दलसँग पार्टी एकताको निर्णय अनुमोदनका लागि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यही कात्तिक १७ गते बोलाउने तयारी छ ।

बैठकपछि बाहिर आएर शर्माले ‘अहिले बहुदलीय जनवाद मानिँदैन । पार्टीलाई कसैको सुरक्षा कबच बनाउनु हुँदैन’ भनेका थिए ।
शनिबार एकीकृत समाजवादीसहितका पार्टीहरूसँगको एकताबारे छलफल गर्न माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सुरुमा देव गुरुङ बोलेका थिए । उनले पार्टी एकताको विषयमा छलफल गर्ने एजेण्डा रहेको भनेर बैठक अगाडि बढाएका थिए ।
त्यसपछि पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सात वटा कम्युनिस्ट पार्टीसँग एकता गर्ने गरी वैचारिक, राजनीतिक, सैद्धान्तिक र नीतिगत कुराहरू करिब–करिब फाइनल भएको ब्रिफिङ गरे । प्राविधिक र सांगठनिक कुरामा छलफल गरौं भनेर बैठक राखिएको उल्लेख गर्दै उनले धारणा राख्न नेताहरूलाई फ्लोर ओपन गरे ।
त्यसपछि जनार्दन शर्मा बोले । उनले पार्टीको नाम, चुनाव चिह्न लगायतका विषय पार्टीको आधार स्तम्भ भएको चर्चा गरे । शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकांक्षालई बेवास्ता गरेर जान नसकिने भन्दै एकीकृत समाजवादीसहितका दलसँगको एकता स्थगन गर्न माग गरे ।
नेता पम्फा भुसाल भन्छिन्, ‘हामीले उहाँका कुरा ध्यानपूर्वक नै सुन्यौं । सुनिसकेपछि अरुका कुरा पनि सुन्नुहोस् भन्यौं तर, उहाँ बस्नुभएन ।’
प्रभाकर हिँडेपछि अन्य नेताहरू बोले । ‘उहाँले केही समयदेखि आफ्ना कुरा फरक ढंगले राख्दै आउनु भएको थियो । आज पनि राख्नुभयो तर आज चाहिँ बस्नुभएन,’ अर्का एक नेता भन्छन्, ‘बैठक छाडेर हिँड्नुलाई राम्रो मान्ने कुरा त भएन । तर, केन्द्रीय समितिको बैठकसम्म सहमतिमा ल्याउन प्रयास गर्नुपर्छ भन्ने नै रह्यो ।’
अर्थात्, प्रभाकरलाई सम्झाउन प्रयास गर्नुपर्छ भन्ने एकाथरी रहे भने केहीले त्यस्तो संकेत समेत गरेका छैनन् । प्रभाकरलाई विश्वासमा लिनुपर्छ भन्ने र आफैं एकता प्रक्रियामा सहमत भएर अगाडि बढ्नुपर्छ भन्ने दुई खाले मनस्थितिमा बाँकी नेताहरू प्रस्तुत भए ।
प्रचण्ड स्वयंले भने प्रभाकरको शैलीलाई ‘अराजक’ भनेका छन् । बैठकपछि प्रचण्डलाई पत्रकारहरूले सोधे, ‘पार्टीमा पहिरो जाने हो कि भन्ने देखियो नि ?’ प्रचण्डले जवाफ दिए, ‘केही जाँदैन । सबै एकजुट भएको छ हाम्रो पार्टी । केन्द्रीय समितिको बैठकसम्म जनार्दन पनि एक हुनपर्छ, हुन्छन् भन्ने हामीलाई विश्वास छ ।’
बरू जनार्दले आफ्नो कुरा राखेको र अरुको कुरा नसुनेको बताए ।

‘आज बैठक राम्रो सुरु भएको थियो । उहाँले विषय राख्नुभयो । ल बस्नु सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो,’ प्रचण्डले भने, ‘त्यो शैली उहाँको नराम्रो हो । त्यो कसैलाई मन पर्ने शैली होइन । बसेर छलफल पो गर्ने हो त !’
पत्रकारहरूले उनलाई सोधे, ‘प्रभाकरले महाधिवेशन टार्न एकता गर्न खोजिएको भनेका छन् नि ?’
‘त्यो गलत आरोप हो, अराजक आरोप हो,’ प्रचण्डले जवाफ दिए ।
माओवादी नेता अग्नि सापकोटा पनि प्रचण्ड जस्तै प्रभाकरको शैलीलाई अराजकताको संज्ञा दिन्छन् ।
‘जनार्दनजीले केही कुरा लेखेर दिनुभएको छ । उहाँको तौरितरिका लोकतान्त्रिक पनि छैन, राजनीतिक पनि छैन,’ सापकोटाले भने, ‘अध्यक्ष लगायत हामी सबैले तपाईं बस्नुस्, छलफल गर्नुस् । अनि निष्कर्षमा पुगौंला भनिसकेपछि (उठेर हिँडे ) ।’
तथापि, पार्टी नफुट्ने सापकोटाको ठोकुवा छ । ‘उहाँको शैली जनवादी पनि छैन, लोकतान्त्रिक पनि छैन । एक प्रकारले अराजक छ । त्यो सर्वथा बेठिक छ । र पनि पार्टी चाहिँ फुट्दैन,’ सापकोटा भन्छन्, ‘ढुक्क हुनुस् माओवादी फुट्दैन ।’
नेता नारायणकाजी श्रेष्ठ जनार्दन शर्मासँग थप छलफल गर्नुपर्ने पक्षमा छन् ।
बैठकपछि पत्रकारहरूले श्रेष्ठलाई सोधे, ‘जनार्दन जुरुक्क उठेर हिँड्नुभयो नि, माओवाद छाड्न आँटे, महाधिवेशन टार्ने षडयन्त्र गरे भनेर ।’
‘हिँड्दाखेरि उठेरै हिँड्नुपर्छ, बसिरहेर हिँडिदैन, श्रेष्ठले ठट्यौली पाराले भने, ‘तर, उहाँ (जनार्दन शर्मा)सँग फेरि छलफल गर्नुपर्छ । उहाँ हाम्रो पार्टीका लागि आवश्यक व्यक्ति हुनुहुन्छ ।’
प्रभाकरका पाँच दलिल
एकीकृत समाजवादी सहितका दलसँग एकता तत्काल गर्न नहुने तर्क गर्नका लागि प्रभावकारले लिएका आधार के हुन् ? उनले लिखित रुपमै आफ्ना दलिलहरू प्रस्तुत गरेका छन् ।
एकतामा जाँदा माओवाद छाड्न नहुने, जेनजीको भावनाबमोजिम प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने तर्क गरेका छन् । अहिलेको एकताको प्रयास महाधिवेशन छल्ने नियत भएको भन्दै उनले प्रचण्डमाथि उठेका प्रश्नहरूको जवाफ खोज्दै इतिहासको सही समीक्षा गरेर अगाडि बढ्नुपर्ने मत राखेका छन् । अन्यथा, माओवादी पार्टी समेत फुट्ने प्रभाकरको प्रष्ट सन्देश छ ।
माओवाद शहीदको सपना
प्रभाकरका अनुसार माओवाद नै छाडेर एकतामा जान हुँदैन ।‘हाम्रो पार्टीको आधार स्तम्भको रूपमा रहेका शहीद, बेपत्ता, घाइते योद्धाहरूको सपना, त्याग र आकाङ्क्षालाई बेवास्ता गर्ने यो प्रक्रिया वास्तविक समाधान होइन, कम्युनिस्ट आन्दोलनको विघठनको बाटो रोजेको छ,’ सचिवालय बैठकमा प्रभाकरको मत छ ।
बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसपर्मण गर्ने प्रवृत्ति स्वीकार गर्न नसकिने उनको सन्देश छ ।
‘माओवादी विचार र पहिचानलाई परित्याग गर्दै बहुदलीय जनवादका आधारभूत मान्यतासँग आत्मसमर्पण गर्ने प्रवृत्तिले हाम्रो पाटीको आधारभूत चरित्रलाई पूर्णरुपमा समाप्त गर्नेछ,’ उनको लिखित मतमा उल्लेख छ ।

अन्यथा, एकीकृत समाजवादीसहितको एकताले विघटनको इतिहास दोहोर्याउने जनार्दनको चेतावनी छ ।
उनले भनेका छन्, ‘आजको देशको राजनीतिक सङ्कट समाधान गर्नेभन्दा पनि, यस्तो एकताले विगतदेखि कम्युनिस्ट आन्दोलनले भोग्दै आएको विघटनको इतिहासलाई दोहोर्याउनेछ।’
माओवादी विगतमा पटक–पटक फुटेको छ । यो सन्दर्भमा जनार्दनले फेरि त्यस्तो हुन नदिन एकीकृत समाजवादी सहितका दलसँगको एकता प्रक्रिया रोक्नुपर्ने माग राखेका छन् ।
उनले भनेका छन्, ‘त्यसैले, यो एकता प्रक्रियालाई तत्काल स्थगन गरी पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न सबै कमरेडहरूलाई गम्भीरतापूर्वक आह्वान गर्दछु ।’
जेनजीको भावनाअनुसार पहिले नेतृत्वको हस्तान्तरण
नेता शर्माका अनुसार जेनजीहरूले राजनीतिक दलहरूमा नेतृत्वको हस्तान्तरण खोजेका हुन् । नेतृत्वको हस्तान्तरण बिना हुने एकताले सही दिशा लिन नसक्ने उनको आग्रह छ ।
जनार्दनले २०८१ साउन २५ गते बसेको स्थायी कमिटी बैठकमा ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा अध्यक्ष प्रचण्डसहितका पदाधिकारी संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने उल्लेख थियो । साथै पार्टीको नाम र चुनाव चिह्न पनि फेर्नुपर्ने प्रस्ताव उनले राखेका थिए ।
‘पार्टी निर्माणका आधार’ उपशीर्षकको पहिलो नम्बरमा शर्माले वामपन्थी एवम् प्रगतिशील शक्ति बीच अन्तर्क्रिया, एकता र ध्रुवीकरण गर्ने उल्लेख गरेका छन् भने पाँचौ नम्बरमा पार्टीको नाम र चुनाव चिह्न फेर्न प्रस्ताव गरेका थिए ।
उनले शनिबारको सचिवालय बैठकमा पेश गरेको दस्तावेजमा पनि नेतृत्व हस्तान्तरणको प्रस्ताव दोहोरयाएका छन् । ‘हालको जेनजी विद्रोहले माग गरेको सुशासन, पारदर्शिता र नेतृत्वको हस्तान्तरणको भावना विपरीत गरिने एकताले पार्टीको साखलाई झन् गिराउनेछ र विसर्जनको दिशामा धकेल्नेछ,’ उनले भनेका छन् ।
आफू नेतृत्वको हस्तान्तरणपछि समग्र कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकतामा जानुपर्छ भन्ने उनको मत छ । यो विषयमा आफू सहितका नेताहरूले कुरा उठाउँदै आएको पनि स्मरण गरेका छन् ।
आफूहरूको भावना सम्बोधन हुनुपर्ने भन्दै उनले चेतावनीको शैलीमा भनेका छन्, ‘म लगायत अन्य सहयोद्धा कमरेडहरूले उठाएका विषयहरूलाई बेवास्ता गर्दै, एकताका नाममा गर्न खोजिएको यो आत्मसमर्पणले पार्टीलाई बलियो होइन, अझ कमजोर बनाउनेछ ।’
महाधिवेशन छल्न एकता
आगामी मंसिरमा गर्ने भनिएको पार्टीको महाधिवेशन छल्न एकता गर्न खोजिएको प्रभाकरको आशंका छ । उनले भनेका छन्, ‘विचारको बहस र प्रतिस्पर्धात्मक नेतृत्व निर्माणको प्रक्रिया अवरुद्ध पार्दै गरिएको यो एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास हो ।’
महाधिवेशनमा गए वैचारिक स्पष्टता हुने उनको आग्रह छ । ‘बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र संगठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पुर्याउनेछ ।’
हतारमा एकता गर्न खोज्नुको पछाडि केही नेताहरूको व्यक्तिगत स्वार्थ भनेर शर्माले प्रचण्डप्रति कटाक्ष गरेका छन् ।
उनले भनेका छन्, ‘यस्तो हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्न सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ। त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’
प्रचण्डमाथि प्रश्न
नेता शर्माका अनुसार संघीय गणतन्त्र पश्चात् माओवादी नेताहरूमा विचलन र क्षय हुनुको कारणमा नेताहरूको व्यवहार हो । नाम नलिएर उनले माओवादीका शीर्ष नेताहरू जनयुद्धको भावना, संविधानको मर्म र जनआकांक्षा अनुरूप अगाडि नबढेको आरोप लगाएका छन् ।
‘गणतन्त्रको स्थापना पछि, हाम्रो पार्टीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकाङ्क्षा अनुरूप समाजवादको आधार तयार पार्ने सुशासन र पारदर्शिता स्थापितगर्ने अभियान अघि बढाउनुपर्ने थियो’ उनी भन्छन्, ‘तर त्यसको सट्टा, नेताहरू सुखसुविधा, पद, चाकडी र सत्ता मोहमा अल्झिए, जसले पार्टीको वैचारिक आधार र जन पक्षधर चरित्रलाई माथिबाटै कमजोर पार्यो ।’
नेताहरूकै व्यवहारका कारण पार्टीले जनाधार गुमाएको उनको निष्कर्ष छ । परिणाममा चुनावी गठबन्धन गर्दै अस्तित्व बचाउन बाध्य हुनुपरेको शर्माको टिप्पणी छ ।
यहाँनेर उनले प्रमुख दलका शीर्ष नेतृत्वमाथि गम्भीर प्रश्नहरू उठेको भनेर त्यसमा प्रचण्ड समेत रहेको स्मरण गरेका हुन् ।
उनले भनेका छन्, ‘विचार विपरीत गठबन्धन मार्फत अस्तित्व बचाउन बाध्य भयो। हाम्रो पार्टीको समेतका शिर्ष नेताहरूको जनजीविकाका प्रतिको पूर्ण बेवास्ता, भ्रष्टाचार, कमिसनतन्त्र र शासकीय दुरुपयोगकै कारण भदौं २३ गते युवाहरूको विद्रोह भयो । जसले प्रमुख दलका शीर्ष नेतृत्वमाथि नै गम्भीर प्रश्नहरू उठाएको छ ।’
उनका अनुसार आत्म मूल्यांकन र पुनर्गठनको आवश्यकता वर्तमान परिस्थितिमा नेतृत्व र कार्यकर्ताको भूमिका सहित गहिरो आत्मालोचना र पुनरावलोकन आवश्यक छ ।
‘पार्टीलाई विचार, सिद्धान्त, नीति र कार्यदिशाको स्पष्ट आधारमा पुनर्गठन नगरी अन्य पार्टीसँग एकताका लागी अघि बढ्नु ऐतिहासिक गल्ती हुनेछ’ प्रभाकरको दस्तावेजमा छ, ‘पुनर्गठित पार्टीले मात्रै अन्य वाम शक्तिहरूसँग विचार, कार्यनीति र लक्ष्य मिलाउँदै विश्वसनीय एकता निर्माण गर्न सक्छ।’
अर्थात्, प्रचण्डकै नेतृत्वमा अन्य वाम शक्तिहरूसँग एकताको पहल हुन नसक्ने प्रभाकरको निष्कर्ष छ ।
इतिहासको सही समीक्षा
माओवादी नेता शर्माले एकतामा जानु अगाडि इतिहासको सही समीक्षा हुनुपर्ने मत दर्ज गरेका छन् ।
शर्माका अनुसार पार्टीको नेतृत्वमा संचालित जनयुद्ध उत्पीडित वर्ग, जाति, क्षेत्र र लैंगिक विभेदबाट मुक्तिका लागि समर्पित थियो । त्यही संघर्षको परिणाम स्वरूप संविधान सभा मार्फत नयाँ संविधान निर्माण भएको हो ।
संविधानसभाबाट बनेको संविधानले सामन्ती निरंकुश एकात्मक राज्य व्यवस्थाको चरित्रको अन्त्य गर्दै समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको छ । साथै समावेशिता र सिंहदरबारको अधिकार गाउँमा पुर्याउने अवधारणालाई संस्थागत गरेको छ । यी जनयुद्धकै ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियामा आएपछिको व्यवहारको समेत सही मूल्यांकन हुनुपर्ने बताएका हुन् ।
अझ जनयुद्ध गर्नुपर्ने कारण के थियो ? भनेर समेत समीक्षा गर्न आवश्यक रहेको उनको आग्रह छ ।
पार्टी स्थापना कालदेखि नै नेपाली कम्युनिस्ट आन्दोलन निरन्तर विभिन्न चरणका संघर्षहरू मार्फत अगाडि बढ्दै आएको छ । ‘वि.सं. २०४६ सालको जनआन्दोलनले तत्कालीन ऐतिहासिक कार्यभार पूरा गर्न नसक्दा, नेपाली वाम आन्दोलन दक्षिणपन्थी अवसरवादको प्रभावमा पर्यो’ प्रभाकरले भनेका छन्, ‘जसले राष्ट्रियताको मुद्दालाई कमजोर बनायो र वाम आन्दोलनलाई बहुदलीय जनवादको नाममा पूर्ण उदारवादी प्रजातन्त्रमा विलय गरायो ।’
प्रतिक्रिया 4