+
+
Shares

स्वास्थ्य मन्त्रालय सिहंदरबारमा सारिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अबको केही हप्ताभित्रै सिंहदरबार परिसरभित्र सर्ने भएको छ ।  जेनजी आन्दोलनको प्रदर्शनका क्रममा रामशाहपथस्थित भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट काम भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १४:२२

१७ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अबको केही हप्ताभित्रै सिंहदरबार परिसरभित्र सर्ने भएको छ ।  जेनजी आन्दोलनको प्रदर्शनका क्रममा रामशाहपथस्थित भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट काम भइरहेको छ ।

अब सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गणको खाली जग्गा र भवनमा स्थानान्तरण हुने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले उक्त क्षेत्र प्रयोग गर्न अनुमति दिइसकेको छ । आवश्यक पूर्वाधार निर्माण तीव्र गतिमा भइरहेको छ ।

‘सेनाको नरसिंह दल गण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकै सरेपछि खाली भएको जग्गा र भवन स्वास्थ्य मन्त्रालयका लागि छुट्याइएको हो,’ डा. बुढाथोकीले अनलाइनखबरसँग भने ।

यो क्षेत्र सर्वोच्च अदालतको नयाँ भवनको ठीक पछाडिपट्टी पर्छ । माइतीघरबाट सिंहदरबार दक्षिण गेटतर्फ जाँदा अन्नपूर्ण न्यूरो अस्पतालभन्दा केही मिटर अगाडि, बबरमहल रिभिजिटेडको सामुन्ने नरसिंह दलको गेट रहेको छ ।

प्रिफ्याब भवन निर्माण धमाधम

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आर्थिक तथा प्राविधिक सहयोगमा मन्त्रालयका लागि ६ वटा प्रिफ्याब्रिकेटेड (प्रिफ्याब) भवन निर्माण भइरहेको छ ।

‘खाली जग्गामा यी अस्थायी संरचना बनिरहेका छन्,’ डा. बुढाथोकीले भने, ‘सेनाका पुराना भवनलाई मर्मत, डेन्टिङ, पेन्टिङ र कार्पेटिङ गरेर प्रयोगयोग्य बनाउने काम पनि भइरहेको छ ।’

उनका अनुसार यी संरचना अस्थायी प्रकृतिका हुन् । स्थायी भवनका लागि सिंहदरबारभित्रै अन्य विकल्प खोजी भइरहेको छ । ‘हामीले नयाँ भवन बनाउने होइन, अस्थायी व्यवस्थापन गर्दैछौँ,’  उनले प्रस्ट पारे ।

मंसिर पहिलो सातादेखि काम सुरु

२४ भदौको आगजनीपछि पूर्ण रूपमा अयोग्य बनेको पुरानो भवनको सट्टा मन्त्रालय मंसिरको पहिलो सातादेखि सिंहदरबारभित्रैबाट सञ्चालन हुने गरी तयारी भइरहेको छ ।

‘एक–दुई हप्तामा सर्न सक्छौँ । श्रमिकहरूले तीव्र गतिमा काम गरिरहेका छन् । मंसिरदेखि भित्रैबाट काम सुरु गर्ने लक्ष्य छ,’ डा. बुढाथोकी भन्छन् ।

जेनजी प्रदर्शनकारीले गरेको आगजनीले ५० वर्ष पुरानो भवन संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनेको थियो ।

यसले राजधानीको बीच भागमा आर्किटेक्चर र इन्जिनियरिङको अनौठो मेल देखाउँथ्यो ।

रामशाहपथस्थित भवन केवल मन्त्रालयको कार्यालय मात्र थिएन ।  यसले नेपालको इन्जिनियरिङ इतिहास र वास्तुशिल्प (आर्किटेक्ट) को सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको प्रतीक थियो । युरोपका विद्यार्थीहरूले अध्ययनका लागि हेर्न आउने भवन, जहाँ एउटै हललाई आवश्यकता अनुसार कोठामा विभाजन गर्न सकिने थियो ।

स्वास्थ्य मन्त्रालयको यो भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । स्विट्जरल्यान्ड, जर्मनी, नेदरल्यान्ड, डेनमार्क, नर्वेका विद्यार्थीले आएर हेर्ने गर्दथे ।

भवनको कोठाहरूलाई ठूलो वा सानो बनाउन मिल्थो । यस्तो खालको आर्किटेक्ट नेपालबाहेक पाकिस्तान र श्रीलंकामा मात्रै थियो । तर नेपालकै डिजाइन विशिष्ट मानिन्थ्यो । यही कारण यो भवन ‘युनिक’ कहलिन्थ्यो ।

तत्कालिन परिवार नियोजन तथा मातृशिशु कल्याण केन्द्रको भवन निर्माण गर्नका लागि यूएसएडले नेपाल सरकारलाई सहयोग गरेको थियो ।सो सम्झौता सम्पन्न गर्ने क्रममा यूएसएडले लुई कानलाई व्यावसायिक सहयोगको अनुरोध गरेको थियो र कानले डिजाइन गरेका थिए ।

आधुनिक वास्तुकलाको दृष्टिकोणले नेपालमा भएको अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त भवनको रूपमा उक्त भवनले मान्यता पाएको थियो ।

नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण परियोजनाको लागि बनेको यो भवनको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले आफ्नो ३१औं जन्मोत्सवको अवसरमा १३ पुस २०३२ सालमा उद्घाटन गरेका थिए ।

२५ असार २०३० को आगलागीमा सिंहदरबारको पश्चिम लङबाहेक अन्य भागका भवन जलेर नष्ट भए । त्यसपछि सरकारका अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सयो ।

पद्मसुन्दर लावती स्वास्थ्यमन्त्री भएपछि फराकिलो कार्यालयको खोजी हुन थाल्यो ।

त्यही मेसोमा २०३९ सालमा सिंहदरबार र सर्वोच्च अदालतको अगाडि रामशाह पथमा रहेको नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?