१८ कात्तिक, नयाँदिल्ली । भारत सरकारले विवादास्पद नेपाली व्यवसायी तथा राजतन्त्रवादी आन्दोलनकारी दुर्गा प्रसाईंको राजनीतिक अभियानबाट आफूलाई स्पष्ट रूपमा टाढा राखेको छ ।
भारतीय अनलाइन एनडीटीभीमा प्रकाशित समाचारअनुसार भारतले प्रसाईलाई आफ्नो अभियानमा भारतीय समर्थन रहेको भ्रामक दाबी नगर्न चेतावनी दिएको छ ।
प्रसाईं क्यान्सर उपचारसँग सम्बन्धित फलोअप मेडिकल भ्रमणका लागि भन्दै यसै हप्ता दिल्ली आइपुगेका थिए । यो पछिल्ला केही हप्तामा उनको दोस्रो भारत भ्रमण हो ।
प्रसाईंले आफ्नो भ्रमणलाई नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि ‘भारतीय नेताहरूसँग भेटघाट गर्ने र नैतिक समर्थन जुटाउने प्रयास’ का रूपमा सार्वजनिक रूपमा चित्रण गरेका छन् ।
तर, भारतीय अधिकारीहरूले भने दिल्लीको उनको गतिविधिमा कुनै संलग्नता वा चासो नरहेको जनाएका छन् ।
कूटनीतिक र सुरक्षा स्रोतहरूका अनुसार, भारतीय अधिकारीहरूले प्रसाईंको राजनीतिक सक्रियतालाई एक अनावश्यक झन्झटका रूपमा लिएका छन् । अहिले भारत नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्न र नेपालको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपको अनुभूति हुन नदिनमा सचेत छ ।
एनडीटीभीसँग कुरा गर्दै विषयसँग परिचित एक अधिकारीले भने, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’
स्रोतले प्रसाईं वा उनका छोरा दुवैले यस भ्रमणका क्रममा कुनै पनि भारतीय सरकारी वा पार्टीका प्रतिनिधिसँग भेटघाट गर्न नसकेको बतायो । यसले पछिल्ला हप्ताहरूमा असफल प्रयासहरूलाई संकेत गर्छ ।
प्रसाईंले नोभेम्बर २३ (मंसिर ७ गते) का लागि काठमाडौंमा एक ठूलो राजतन्त्र पक्षधर र्यालीको आह्वान गरेका छन् । यसपछि देशव्यापी सडक अवरोध र जनप्रदर्शन सहितको अभियान चलाउने उनको योजना छ ।
राष्ट्रवादी र गणतन्त्र विरोधी भाषणहरूले राजतन्त्रवादी वृत्तबाट चर्को समर्थन पाए पनि प्रमुख पार्टीहरूबाट भने आलोचना भएको छ ।
दिल्लीका अधिकारीहरू प्रसाईंले भारतीय सहानुभूतिको दाबी गरेकोमा चिढिएका छन् ।
नेपालसँगको कूटनीतिक सम्बन्धमा संलग्न एक वरिष्ठ अधिकारीले भने, प्रसाईंको राजनीतिसँग भारतको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन । उनी एक नेपालको एक घरेलु पात्र हुन् उनको गतिविधिमा भारतको कुनै समर्थन छैन ।’
अधिकारीहरूले दिल्लीको नेपाल नीति अहस्तक्षेपमा आधारित रहेको र यसले सानो समूहका आन्दोलनहरूभन्दा नेपालका प्रजातान्त्रिक संस्थाहरूसँगको सहभागितालाई प्राथमिकता दिने दोहोर्याए ।
नेपालमा प्रसाईंका र्यालीहरू हिंसात्मक बन्ने गरेका छन् । दुवै राजधानी (दिल्ली र काठमाडौं) का विश्लेषकहरू प्रसाईंको बारम्बारको भारतीय समर्थनको दाबी उनको आन्तरिक विश्वसनीयता बढाउने उद्देश्य केन्द्रित रहेको बताउँछन् । तर भारतको स्पष्ट अस्वीकारसँगै बाह्य वैधानिकता दाबी गर्ने उनको प्रयास असफल भएको देखिन्छ ।
वास्तवमा, गत चैतमा उनी हिंसात्मक प्रदर्शनबाट भागेपछि भारतले उनलाई पक्राउ गरेर नेपाललाई बुझाएको थियो । प्रदर्शनको क्रममा समर्थकहरूले दर्जनौं सार्वजनिक र निजी भवनहरूमा आगजनी गरेका थिए ।
-(एनडीटीभीबाट)
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4