News Summary
Generated by OK AI. Editorially reviewed.- दश वर्षको जनयुद्ध र ०६२/०६३ को जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रसहित समाजवाद उन्मुख संविधान प्राप्त गराइयो।
- जेनजी युवाहरुले कुशासन, भ्रष्टाचार र बेरोजगारीविरुद्ध विद्रोह गरेपछि दुई तिहाइको ओली–देउवा सरकारले २७ घण्टामा घुँडा टेक्यो।
- कम्युनिष्ट पार्टीका पुराना नेताले स्वेच्छिक नेतृत्व पुस्तान्तरण नगर्दा नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने अवस्था आएको छ।
दश वर्षको जनयुद्ध र ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनले करिव २५० वर्ष पुरानो निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संविधानसभामार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रसहित समाजवाद उन्मुख संविधान प्राप्त गरे । यो राजनीतिक उपलब्धिको जगमा आर्थिक, सामाजिक, सांकृतिक, विकास निर्माण र रोजगारीको क्षेत्रमा जनअपेक्षा अनुसार काम हुन सकेन । अर्थात, राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन।
सुशासन, सामाजिक न्याय, विधिको शासन हुनुपर्नेमा कुशासन र भ्रष्टाचारले मुलुक आक्रान्त बन्दै गएको छ । बेरोजगारी, असमान अवसर, संस्थागत भ्रष्टाचार गैरजवाफदेही राजनीति र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले विद्रोहको उद्घोष गरे । यो ऐतिहासिक र शक्तिशाली नवयुवा विद्रोह थियो।
युवाहरु माइतीघर प्रवेश गरेको २७ घण्टामा दुई तिहाइको ओली–देउवा सरकारले घुँडा टेक्यो। महान जेनजी विद्रोह र इतिहासका विभिन्न कालखण्डमा राष्ट्रियता, जनजिविका र सामाजिक न्याय सहितको लोकतान्त्रिक व्यावस्थामा वलिदान गर्ने महान सहिदप्रति आत्मैदेखि स्मरण गर्दै घाइते योद्धाहरुप्रति उच्च सम्मानसहित हामी बाँचेकाले जति सकिन्छ, त्यति गरौं, जे सकिन्छ, त्यो गरौं। तर, केही त गरौं।
गौरवमय इतिहास
नेपाल एकीकरण, नेपाल राष्ट्र र नेपाली जनताका लागि ऐतिहासिक परिघटना थियो । त्यो सकारात्मक परिघटनाले सामन्ती निरंकुशताको नकारात्मक जग बसाल्यो । नेपाल राष्ट्र नै नरहने गरी अंग्रेजहरुले आक्रमण गरे । हाम्रा पुर्खाले राष्ट्र जोगाउन गरेको त्याग, तपस्या र बलिदानको वर्तमान पुस्ताले उच्च सम्मान गर्नै पर्दछ ।
सामन्ती निरंकुशता र त्यसको जगमा जन्मिएको निरंकुश राणा शासनको विरुद्ध भएको क्रान्तिकारी विद्रोह हुँदै ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनसम्म आइपुग्दा सबैखाले निरंकुशताको अन्त्य भयो।
निरंकुशता विरोधी आन्दोलन र राष्ट्रवादी आन्दोलनमा देशभक्त, जनवादी र लोकतन्त्रवादी शक्तिहरु एक भएर संघर्षमा सफलता प्राप्त गर्दै आएको दर्बिलो र गौरवपूर्ण इतिहास हाम्रा सामु छ।

नेपालको राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा सिर्जना हँुदा भोलिका दिनमा पनि एकतावद्ध प्रतिरोध हुने निश्चित छ । तर, नेपालको राजनीतिक इतिहासमा राष्ट्रियता र संघीय लोकतन्त्रिक गणतन्त्रका लागि पहिलो पुस्ताले विशिष्ट योगदान गरेको कुरालाई इतिहासले भुल्ने छैन ।
दोस्रो पुस्तामाथि प्रश्न
पहिलो पुस्ताले गरेको राजनीतिक योगदानलाई देश निर्माणमा संस्थागत गर्न नसक्दा, परिवर्तित राजनीतिक परिवेशअनुसार जनताको जीवन स्तरमा परिवर्तन आउन नसक्दा, विधिको शासन नहुँदा, जनताको पुरानो पुस्ताप्रति गुम्दै गएको विश्वास जेनजी विद्रोहपछि उत्कर्षमा पुगेको छ भने नयाँ पुस्तामा भरोसा नभइसकेको अवस्था छ ।
नेपाली जनतामा गुम्दै गएको आत्माविश्वास उठाउन र टुटेको भरोसा जोड्न अघिल्लो पुस्तालाई गालीमात्रै गर्ने कि, हाम्रो पनि दायित्व र कर्तव्य छ भन्ने कुरा वोध गर्ने ? पहिलो पुस्ताप्रति प्रश्न उठिरहँदा दोस्रो पुस्ता जनतामा अपील गर्न किन योग्य बन्न सकेन ?
नेपालको सामान्ती निरंकुशताविरुद्ध त्याग, तपस्या र बलिदान गर्न सक्ने हाम्रो राजनीतिक नेतृत्वले जनताको जीवन स्तरसम्म पुगेर परिवर्तनको अनुभूति किन दिन सकेन ? नेताहरु समृद्ध राष्ट्र निर्माणमा किन एक ठाउँमा उभिन सकेनन् ?
स्वार्थ मिल्दा एक ठाउँमा, नमिल्दा शब्दकोशमा भएजति सबै शब्द खोजेर एकले अर्कालाई खुइल्याउने काममा किन लागे ? देश र जनताका लागि त्याग गरेका नेताहरु परिवार भित्र किन रुमलिए ?

यी र यस्ता अनगिन्ती प्रश्नको जवाफ खोज्ने क्रममा समयमा नै रुपान्तरण हुन नसकेको तथ्यलाई स्वीकार गर्दै लामो समयदेखि पार्टी नेतृत्वमा रहेका पहिलो पुस्ताका नेताहरुले स्वेच्छिक अवकाश आजको अनिवार्य आवश्यकता हो ।
यहाँहरुले स्वेच्छिक अवकाश नलिँदा इतिहासका नकारात्मक कुराहरु खोतल्नु पर्ने स्थिति छ । तपाईहरूले बोकेको विकृत्तिको भारी लिएर जनतामा जाँदा जवाफविहीन हुनुपर्ने भएकाले तेस्रो पुस्तालाई पार्टी पुस्तान्तरण गरेर देश निर्माणमा योगदान पुर्याउनु तपाईहरुको कर्तव्य होइन र ?
कम्युनिष्ट आन्दोलनमाथि प्रश्न
नेपालको निरंकुशता विरोधी आन्दोलन र राष्ट्रियताको आन्दोलनमा नेपालका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको भूमिका निर्णायक बन्दै आएको छ । कम्युनिष्टहरुको देश र जनताप्रति गरेको योगदान र सकारात्मक भूमिकाका आधारमा ०४६ सालपछि नेपाली जनताले कम्युनिष्टहरुको पक्षमा आफ्नो अभिमत जाहेर गर्दै आएका छन्।
०६४ को संविधानसभा निर्वाचनमा नेकपा (माओवादी) एक्लैले करिव बहुमत र दुई ठूला कम्युनिष्ट पार्टी (माओवादी र एमाले) मिल्दा ०७४ को संघीय र प्रदेश निर्वाचनमा करिव दुइतिहाई मेजरीटि दिएर सरकारको नेतृत्वमा पुर्याएका थिए ।
अनगिन्ती कमजोरीका वावजुद पनि एमाले र माओवादी केन्द्रको मुल नेतृत्वले राजकीय सत्तामा लगातार अवसर पाइरहेकै छ । अवसर पाउने तर परिणाम दिन नसक्नु नेतृत्वको असफलता नै हो । आगामी दिनमा अवसर पाउँदा पनि तपाईहरुबाट ठूलै योगदान गर्न सकिने देखिँदैन।
यस्तो अवस्थामा कम्युनिष्ट पार्टीहरुका मुख्य नेतृत्वले युवाहरुलाई पुस्ता हस्तान्तरणको विधि बनाएर स्वेच्छिक नेतृत्व पुस्तान्तरण गर्नु आवश्यक छ । यसले पार्टी र देश दुवैको हित गर्दछ । घटनाक्रमले कम्युनिष्ट पार्टीहरुका कुनै पनि मुख्य नेताहरुले स्वेच्छिक नेतृत्व पुस्तान्तरण गर्ने देखिँदैन।
कम्युनिष्ट पार्टीमा आवद्ध, राजनीतिक, सामाजिक योगदान गरेका युवाहरुले विचारसहितको पहलकदमी लिएर नेतृत्व लिनुको विकल्प छैन। कम्युनिष्ट पार्टीमा नेतृत्वको आलोचना गरेर टिकिरहनु सामान्य कुरा होइन, त्यसैले ‘सबैले मर्ने निर्णय गरे सबै बाँच्छाँै, एक्लाएक्लै बाँच्ने निर्णय गरे सबै मर्छौँ’।
कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा समकालीन नेताहरु एउटै पार्टीमा बस्नै नसक्नु र बाँचुञ्जेल आफैंले मात्र नेतृत्व गरिरहने आम प्रवृत्तिका रुपमा विकास भएको देखिन्छ । यो मालेमावादी विश्व दृष्टिकोण विपरीत छ।
विचार र नेतृत्व समय सापेक्ष हुनुपर्दछ। अहिले युवा कम्युनिष्ट क्रान्तिकारीको पहल र अगुवाइमा विचार, एजेण्डा, राजनीतिक कार्यदिशा र सांस्कृतिक रुपान्तरणसहित माथिबाट होइन, तलदेखि कम्युनिष्ट पार्टी पुनर्गठन आवश्यक छ । माथिबाट भएको पुर्नगठन अप्राकृतिक र अफापसिद्ध भइसकेको विगतको तथ्यका आधारमा युवा कम्युनिष्ट क्रान्तिकारीले पहलकदमी लिएर अगाडि बढौं।

समय क्रमसँगै अब नेपालको राजनीतिमा लोकतान्त्रिक वामपन्थ र प्रजातान्त्रिक उदारवाद दुई धारमा विभक्त हुने निश्चित छ । प्रजातान्त्रिक उदारवादी राजनीतिक विचार लिने राजनीतिक दलले, राजनीति नयाँ पुस्तामा आउने संकेत दिइसकेका छन्। वामपन्थी अर्थात कम्युष्निट पार्टीहरुले पुरानै नेतृत्वलाई जवरजस्त दर्बिलो बनाउने प्रपञ्च र खेलहरु भइरहेका छन् । वामपन्थी आन्दोलनका लागि यो दुर्भाग्यपूर्ण परिदृष्य हो।
पहिलो पुस्ताको आलोचना गरे पनि सिद्धिने र समर्थन गर्दा पनि सिद्धिने गम्भीर चुनौतिको वीचमा तेस्रो पुस्ता उभिएको छ । समर्थन गरेर बाँच्नुभन्दा लडेर बचाउने दिशामा अगाडि बढ्नु अहिलेको अग्रगामी विचार र चेतना हो।
जेनजी विद्रोह र पार्टीभित्रका युवाहरुको सकारात्मक सन्देशलाई पार्टीहरुका मुख्य नेतृत्वले स्वीकार गर्न सकिरहेका छैनन् । विद्यालय पोशाकमा आन्दोलनमा उत्रिएका निहत्था युवा विद्यार्थीको बलिदानलाई विदेशी चलखेल र प्रतिगामी चलखेलसँग जोड्नु आफ्नो कमजोरी लुकाउने सहज र सरल तरिका मात्र हो । यस्तो बुझाइले द्वन्द्वको सही व्यवस्थापन गर्न सक्दैन नै, परन्तु द्वन्द्वमा धकेल्ने निश्चित छ ।
अबको बाटो
समयले पुराना नेताहरुलाई अस्वीकार गरिसकेको अवस्थामा तथ्यका आधारमा सत्यमा पुग्न कम्युनिष्ट पार्टीको मुख्य नेतृत्वले पुस्तान्तरणको स्वेतपत्र जारी गर्नु पर्दछ । अन्यथा भीरबाट लगेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन भन्ने उखान चरितार्थ हुनेछ ।
नेपाली राजनीतिमा देखिएको मुख्य समस्या विधिको शासन र स्थिर राजनीतिक नेतृत्व नहुनु नै हो । विधिको शासन सँगसँगै देशमा रहेको अपार प्राकृतिक श्रोत साधनको सही र वस्तुनिष्ट सदुपयोग नहुँदा विकासको मुल आधार युवा जनशक्ति रोजगारीको लागि विदेशिन वाध्य छ।
नारा र भाषणमा कृषि, जलविद्युत र पर्यटन भनिए पनि ०६४ पछिका कुनै पनि सरकार, राजनीतिक दल र नेताहरु यी क्षेत्र मैत्री बन्न सकेका छैनन् । राजनीतिक परिवर्तनसँगै जनताको जीवन स्तरमा परिवर्तन आउन आवश्यक छ । यसका लागि प्रतिशोध होइन, सबैवीच सहकार्य आवश्यक छ।
यस्तो सहकार्य जनताले अस्वीकार गरेका नेताबाट सम्भव छैन । राजनीतिक पार्टीभित्रका परिपक्व युवा राजनीतिज्ञबाट मात्र सम्भव छ । त्यसैले देशको प्राकृतिक स्रोत साधनको सामुहिक सदुपयोगका लागि युवा कम्युनिष्ट क्रान्तिकारीबाट पार्टी र सिङ्गो आन्दोलनलाई पुर्नगठन गर्न आवश्यक छ । हिजो गर्दा छिटो हुने, भोलि गर्दा ढिल्लो हुने द्वन्द्ववादी विधिबाट सही निष्कर्षसहित अघि बढौं । चुनौतीको सामूहिक सामना गरौं।
घटनाक्रमले नेपालको राष्ट्रियता र लोकतन्त्र रक्षात्मक अवस्थामा पुगेको छ । अन्तरिम सरकारको गठन र फाल्गुण २१ गतेको निर्वाचन विकल्पभित्रको उपयुक्त विकल्प हो । योसँगै शहीद र घाइतेको भावनाअनुसार विधिको शासन, भ्रष्टाचार नियन्त्रणमा परिणाममुखी कार्ययोजना, जेनजी विद्रोहीहरुको भावना र दलहरुवीचमा न्यूनतम सहमति कायम गरेर राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ।
पुरानै पुस्ताको नेतृत्वबाट यस्तो सकारात्मक सहमति निस्कने परिकल्पनासम्म गर्न सकिँदैन । निर्वाचन हुन सकेन भने नेपालको राष्ट्रियता र संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्ने निश्चित छ । यस्तो अवस्थामा राजनीतक दल र जेन–जी विद्रोहीहरुले पश्चातापमा पर्नु शिवाय केही हुँदैन । त्यसैले पुराना पुस्ताका नेताले नयाँ पंक्तिलाई पार्टी पुस्तान्तरण गरेर देशलाई अग्रगामी निकास दिनु आजको आवश्यकता हो।

सबै नीतिहरुको पनि ‘नीति’ राजनीति हो, नेपालका कम्युनिष्टहरु इतिहासमै पहिलोपटक सामाजिक न्यायसहितको समाजवादी राजनीतिक कार्यदिशामा एक ठाउँमा उभिएका छन् । नेपाल अधिराज्यको संविधान–२०७२को सामान्य संशोधनले पनि यस ठाउँमा पुग्न मार्गप्रशस्त गरेको छ ।
पद, प्रतिष्ठा र सत्तालाई अन्तिम सत्य नठाने र जनतालाई सर्वोपरि ठान्ने र मान्ने हो भने दर्जनभन्दा बढी कम्युनिष्ट एक ठाउँमा आउने अवसर जेन–जी विद्रोहले पैदा गरेको छ । यसका लागि सास हुन्जेल नेतृत्व गरिरहेका र बाँचुञ्जेल नेतृत्व गर्न चाहने कम्युनिष्ट पार्टीका नेताहरुले गम्भीर समीक्षा गर्दै पार्टीलाई लोकतान्त्रीकरण गरी युवालाई पार्टीको नेतृत्वमा पुर्याउन आवश्यक छ ।
कम्युनिष्टहरुमा आजको जस्तो वैचारिक निकटता न हिजो थियो, न भोलि हुन सक्छ । पहिलो पुस्ताले स्वेच्छिक नेतृत्व पुस्तान्तरण गरेर स्वर्णिम अवसरको सदुपयोग गरोस् । यदि यसो नभएमा युवाले नयाँ विचार, कार्ययोजना र कार्यदिशासहित नेतृत्व लिनै पर्छ । यसैमा जनता र राष्ट्रको भविष्य सुनिश्चित छ ।
(लेखक माओवादी केन्द्र, कोशी प्रदेशका उपाध्यक्ष हुन्)
प्रतिक्रिया 4