१९ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) प्रतिको प्रतिबद्धता नै नेकपा (एकीकृत समाजवादी) सँगको एकताको मुख्य आधार भएको बताएका छन् ।
उनले बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत् एमालेमा समाहित हुने तयारीमा रहेका एकीकृत समाजवादीका नेताहरूलाई जबजनै एकताको मुख्य आधार भएको बताएका हुन् ।
‘पार्टी अध्यक्ष, महासचिवलगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौँ । तपाईंहरुलाई स्वागत गर्न हामी तयार छौँ,’ नेता भट्टराईले एमालेमा समाहित हुने तयारीमा रहेका नेताहरूलाई भनेका छन्, ‘ जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो । अरू सबै तपसिलका विषय हुन् ।’
नीति र नेतृत्व स्वीकार गर्नुपर्ने शर्त सुनिएको भन्दै उनले एमाले र एकीकृत समाजवादीका नेताहरूको साझा प्रयत्नले थप परिस्कृत र समृद्ध बनाइने पनि उल्लेख गरेका छन् ।
‘नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होइन,’ भट्टराईले लेखेका छन्, ‘जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो ।’
प्रतिस्पर्धाबाट छानिएको नेतृत्व एकताको आधार भएको उल्लेख गर्दै उनले पार्टीको ११ औं महाधिवेशनको मिति तय भइसकेको र महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौ महाधिवेशनबाटै स्थापित गरिएको स्मरण गराएका छन् ।
‘यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्वपूर्ण आयाम पनि हो । अमुक नेतालाई जिताउनै पर्ने पूर्वशर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो,’ नेता भट्टराईले भनेका छन्, ‘तर, एमालेमा समाहित हुनु कुनै शर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न ? कुन नेताले जित्छ या हार्छ ? यो गौण हो ।’
सहकार्यबाट राष्ट्र, जनता र एमालेले जितोस भन्ने चाहेको भन्दै उनले त्यसका लागि आफूहरू हजार पटक हार्न तयार रहेको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4