+
+
Shares

चुनाव जितेपछि ममदानी : शहरका ‘डोनाल्ड ट्रम्पहरू’ लाई जवाफदेही बनाउनेछौं

‘ट्रम्पलाई जन्म दिने यही शहरले उनलाई पराजित गरेको छ। कुनै पनि तानाशाहलाई डराउने वा चुप लगाउने एक मात्र उपाय भनेको ती परिस्थितिहरू परिवर्तन गर्नु हो, जसले उसलाई शक्ति दिएको हुन्छ। राजनीतिक अँध्यारोको यो क्षणमा न्युयोर्क नै प्रकाश बन्नेछ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १२:२८

१९ कात्तिक, काठमाडौं। न्युयोर्कको मेयर चुनाव जितेपछि डेमोक्र्याट उम्मेदवार जोहरान ममदानीले आफ्नो पहिलो भाषणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र शहरमा रहेका उनी जस्तै चरित्रहरूलाई जवाफदेही बनाउने बताएका छन् ।

ट्रम्पलाई चेतावनी दिंदै ममदानीले भने, ‘हामी खराब घरधनीहरूलाई जवाफदेही बनाउनेछौं, किनकि हाम्रो शहरका ‘डोनाल्ड ट्रम्पहरू’ आफ्ना भाडामा बस्नेहरूलाई दुर्व्यवहार गर्न अत्यन्तै सहज भएका छन् । हामी त्यस्तो भ्रष्ट संस्कृतिको अन्त्य गर्नेछौं, जसले अर्बपतिहरूलाई कर छल्न र कर छुटको दुरुपयोग गर्न अनुमति दिएको छ ।’

ममदानीलाई मत नदिन भन्दै ट्रम्पले बारम्बार मतदातालाई धम्क्याउँदै आएका थिए । चौतर्फी घेराबन्दीका बावजुद पनि उनी अमेरिकाको सर्वाधिक ठूलो शहरको मेयरमा विजय हात पारेका हुन् ।

भारतकी चर्चित फिल्म निर्माता मीरा नायरका छोरा ममदानीले झन्डै ६ लाख ५० हजारभन्दा बढी अर्थात् करिब ५१.२ प्रतिशत मत प्राप्त गरी स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्।

‘अब नयाँ युग सुरु हुनेछ’

समर्थकहरूलाई सम्बोधन गर्दै ममदानीले भने, ‘म जवाहरलाल नेहरूका शब्दहरू सम्झिँदै छु। इतिहासमा यस्ता क्षणहरू निकै दुर्लभ हुन्छन्, जब हामी पुरानो युगबाट नयाँ युगतर्फ कदम चाल्छौं।’

उनले थपे, ‘जब एउटा युगको अन्त्य हुन्छ, तब लामो समयदेखि दबिएको आत्मालाई स्वतन्त्र रूपमा बोल्ने अवसर मिल्छ। आज हामी पुरानोबाट नयाँतर्फ अघि बढ्दैछौं । त्यसैले आउनुहोस्, स्पष्टता र दृढ विश्वासका साथ त्यही कुरा गरौं जसलाई गलत बुझ्न सकिँदैन । अब नयाँ युग सुरु हुनेछ ।’

ममदानीले न्युयोर्कलाई आप्रवासीहरूको शहरको रूपमा परिभाषित गर्दै भने, ‘न्युयोर्क आप्रवासीहरूको शहर थियो, छ र सदैव रहनेछ । यो शहर आप्रवासीहरूले निर्माण गरेका हुन्, उनीहरूमार्फत नै चलाइन्छ र अब उनीहरूमार्फत नै यसको नेतृत्व हुनेछ ।’

उनले थपे, ‘यो जित डेमोक्र्याट पार्टीका लागि ठूलो सफलता हो। यसले राजनीतिक वंशवादलाई चुनौती दिएको छ। अब न्युयोर्क शहर अगाडि बढ्नेछ र यसको भविष्य यस शहरका जनताका हातमा हुनेछ।’

ममदानीले अब न्युयोर्क ड्राइभर, नर्स, भान्से र पसलेहरूको शहरका रूपमा लोकतान्त्रिक मूल्य र आदर्शका आधारमा सञ्चालन हुने बताए । न्युयोर्कलाई सर्वाधिक धनाढ्यहरू बस्ने शहरका रूपमा चिनिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सिधा सन्देश पठाउँदै ममदानीले भने, ‘डोनाल्ड ट्रम्प, मलाई थाहा छ तपाईं हेरिरहनु भएको छ। तपाईंका लागि मेरा चार शब्द छन् — ध्यान दिएर सुन्नुहोस् ।’

उनले अगाडि थपे, ‘ट्रम्पलाई जन्म दिने यही शहरले उनलाई पराजित गरेको हो। कुनै पनि तानाशाहलाई डराउने वा चुप लगाउने एक मात्र उपाय भनेको ती परिस्थितिहरू परिवर्तन गर्नु हो, जसले उसलाई शक्ति दिएको हुन्छ। राजनीतिक अँध्यारोको यो क्षणमा, न्युयोर्क नै प्रकाश बन्नेछ।’

ट्रम्पले पनि ममदानीको विजय भाषण हेरेका थिए र ट्रुथ सोसलमा लेखेका थिए, ‘र यो सुरु भयो ।’

जोहरान ममदानीले आफ्नो पहिचानका बारेमा स्पष्ट र गर्वका साथ भने, ‘म युवा हुँ, म मुस्लिम हुँ, म एक डेमोक्र्याटिक समाजवादी हुँ र सबैभन्दा ठूलो कुरा, म यसका लागि माफी माग्दिनँ।’

ट्रम्पले उनलाई कम्युनिष्टका रूपमा चित्रित गर्दै घृणात्मक अभिव्यक्ति दिंदै आएका छन् । सम्बोधनको क्रममा उनले भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूलाई सम्झिएका थिए ।

‘जवाहरलाल नेहरूका शब्दमा, इतिहासमा कहिलेकाहीँ मात्र त्यस्तो क्षण आउँछ, जब हामी पुरानोबाट नयाँमा प्रवेश गर्छौं। जब एउटा युग अन्त्य हुन्छ, राष्ट्रको आत्मा अभिव्यक्त हुन्छ। आज राति हामी त्यही क्षणमा छौं,’ उनले भने ।

सस्तो यातायात र आवासका वाचा

ममदानीले जनमुखी नीतिहरूको प्रतिबद्धता दोहोर्‍याउँदै भने, ‘हामी सर्वसुलभ बाल हेरचाह सुनिश्चित गर्नेछौं, छिटो र निःशुल्क बस सेवा सञ्चालन गर्नेछौं र भाडामा अनावश्यक वृद्धि रोकिनेछ।’

भीडभाडपूर्ण सभामा उनका यी वचनहरूलाई जोशपूर्ण तालीले स्वागत गरिएको थियो । उनले थपे, ‘न्युयोर्कका श्रमिक वर्गलाई धनी र शक्तिशालीहरूले सधैं भनिरहेका छन् कि शक्ति तिनीहरूको हातमा होइन। तर आज तपाईंहरूले देखाउनुभयो— भविष्य अब हाम्रै हातमा छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?