नेपाली कांग्रेस ०४६ सालको परिवर्तनपश्चात लामो समय सत्तामा रहने पार्टी हो । तर, पछिल्ला वर्षहरूमा विधिको शासन र सुशासनमार्फत् लोकतन्त्रलाई सुदृढ गर्ने कर्ममा कांग्रेस नेतृत्वलाई उतिसारो सफलता हात लागेन ।
जब सत्ताको शिखरमा कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा पुगे, देउवालाई सिरानी हालेर उनकी जीवनसंगिनी आरजु राणाले ‘नायवी शासन’ चलाउन प्रारम्भ गरिहालिन् ।
मूलधार नै बदल्ने सपना र संकल्प लिएर पार्टीको महामन्त्रीमा पुगेका गगनकुमार थापा, विश्वप्रकाश शर्माजस्ता परिवर्तनकारीहरूको हिजो केही लागेन । तर, आज सेप्टेम्बर रिभुलेशनपश्चात् सभापति शेरबहादुर देउवाको बर्हिगमनले कांग्रेसभित्रको जोड–घटाऊ बदलिएको छ । हिजो देउवातिर फोकस हुने क्यामेराको लेन्स अब ‘गगन–विश्व’तिर तेर्सिँदैछ ।
प्रतिबन्धित कालखण्डलाई छाडेर लोकतान्त्रिक समयमै पनि शक्ति र पतीत राजनीतिक संस्कारका कारण कांग्रेसभित्रै पनि वर्गविभाजन देखा पर्यो । जसका कारण सामाजिक र आर्थिक भिन्नताको दरार फराकिलो बन्दै गयो । पार्टीभित्र चरम ध्रुवीकरणको अवस्था बढ्दै गयो । यो ध्रुवीकरणको सुत्राधारको केन्द्र भागमा भने आरजु राणा देखा परिन् ।
हुनपनि, सन्त नेता कृष्णप्रसाद भट्टराईले ०५१ साउन १ गते महेन्द्र पुलिस क्लवमा आयोजित शेरबहादुर–आरजुको विवाह भोजमा भनेका थिए – आरजु म्याडम, तपाईलाई बधाई छ ! किनकि, हिजोसम्म शेरबहादुरजी हाम्रो हुनुहुन्थ्यो, आजबाट तपाईंको बन्नु भयो ।’
दुरदर्शी नेता किसुनजीको भविष्यबाणी ठ्याक्कै मिल्न गयो । श्रीमती आरजु राणा ‘देउवा’मा रुपान्तरण भन्दा पनि शेरबहादुर देउवा क्षणभरमै ‘राणा’मा रुपान्तरण भैदिए । जसका कारण आरजुद्वारा चलाइएको ‘नायवी शासन’का कारण आज मुलुक यो अवस्थामा पुग्नुको दर्जनौं कारण मध्येको एक हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘सभापति र राजनीति’बाट बर्हिगमनको मार्ग पहिल्याएकाले अब देउवाबारे गरिने टिप्पणीले राजनीतिमा त्यति ठूलो अर्थ राख्दैन ।
अब एक चरणको प्रयत्न देउवारुपी छाता ओढेर खाईपाई आएका, पार्टी र जनताका बीचबाट ‘सात जुनी’सम्म पनि आफ्नै बलबुँतामा अनुमोदन हुन नसक्ने ‘द्वारपाले’हरूबाट ‘नियमित र विशेष’ दुबै महाधिवेशनमा भाँझो हालेर पार्टीभित्रका परिवर्तनकारी शक्तिलाई असफल बनाउने प्रयत्न हुन सक्दछ ।
किनकि, बहालवाला सभापतिका छत्रछायाँमा रहेर दिनरात देशैभरका महाधिवेशन प्रतिनिधिलाई पार्टी रुपान्तरणको पक्षमा हस्ताक्षर नगर्न ‘फर्मान’ जारी गर्दा पनि बहुमतले गरेको हस्ताक्षर पार्टी मुख्यालय सानेपामा अभिलेखीकरण भई छाड्यो । अब बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई ‘नजरअन्दाज’ गरिने विषय भोलिका मितिमा पार्टी संस्थापन पक्षलाई महंगो नै पर्नेवाला छ ।
अब कांग्रेसभित्रको दोस्रो विषय रह्यो – फागुन २१ मा निर्वाचन हुने गरी मिति घोषणा भएकाले हतारमा महाधिवेशनतिर लाग्दा निर्वाचनको तयारी नपुग्ने भन्दै फागुन पछाडि महाधिवेशन सार्ने खेल । तर, लेखेरै राखे हुन्छ– ‘फ्रेस म्याण्डेट’ नलिई तदर्थवादमै कांग्रेस निर्वाचनमा गयो भने कांग्रेसले निर्वाचन ‘फेस’ गर्न सक्दैन ।
उपसभापति भएकैले कार्यवाहक सभापति प्राप्तिबाहेक पूर्णबहादुर खड्कामा विछट्ट सांगठनिक कुशलता देखिन्न । देउवाको बर्हिगमनप्रश्चात उनै खड्कालाई पनि हिजैका ‘द्वारपाले’हरूले घेरा हालिहाल्न सक्छन् । जसको परिणामस्वरुप फटाफट महाधिवेशनको कार्यतालिका ल्याएर ‘मुभ’ हुनुपर्ने पार्टीको केन्द्रीय समितिको बैठक लम्ब्याएर नेपाल सम्बत् भन्दा पनि पछाडि पुर्याइने जोखिम पनि देखिन्छ । यो संस्थापन पक्षको चालबाजी हो ।
तेस्रो विषय हो– नियमित महाधिवेशन गर्ने सन्दर्भमा क्रियाशील सदस्यताको विवाद । संस्थापन पक्ष त क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलाई लम्ब्याएर महाधिवेशन धकेल्न चाहन्छ नै, पार्टीका नेता शेखर कोइरालाको भनाइ पनि मंसिरमै महाधिवेशन सम्पन्न गर्नै पर्छ भन्ने लाइनबाट बाहिर आएको छैन । केवल उनले ‘नियमित महाधिवेशन’ मात्र भनेका छन् ।
अब यतिबेला पार्टी संस्थापन पक्षले ‘शेरबहादुरजी’को बर्हिगमन भैसकेकाले संसद पुनर्स्थापनाको सम्भावना पनि उत्तिकै रहेकाले ‘भावी प्रम’ तपाईँ भनेर डाक्टर शेखर कोइरालामाथि ‘जाली पासो’ थापेर महाधिवेशन मंसिरमै सम्पन्न गर्ने एजेण्डाबाट कोइरालालाई पछाडि हटाउने सम्भावना पनि उत्तिकै छ ।
दुबैतिर खुट्टा टेकिरहेका डाक्टर शेखरले संस्थापनको उक्त प्रस्ताव पत्याउने सम्भावना पनि उत्तिकै छ । किनकि, ‘गगन–विश्व’कै नेतृत्व आजको आवश्यकता हो भन्ने बुझेरै देशभरका बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेकाले भोलिको महाधिवेशनबाट नेतृत्वमा को आउला भन्ने अनुमान डाक्टर कोइरालालाई नहुने कुरै भएन ।
कांग्रेस र कांग्रेसकै माध्यमबाट लोकतन्त्रलाई जीवन्त राख्ने नै हो भने नियमित वा विशेष जे गरे पनि कांग्रेसले आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गरी पार्टीभित्रबाट ‘फ्रेस म्याण्डेट’ लिएर आसन्न निर्वाचनमा जनताको बीचमा जाँँदा नै लोकतन्त्रलाई ‘लय’मा ल्याउन सम्भव छ ।
यतिबेला पार्टीमा अझै पनि महाधिवेशन मंसिरमा सम्पन्न गर्ने र गर्न नदिनेका बीच अघोषित रस्साकस्सी नै रहेको जारी केन्द्रीय समितिमा व्यक्त विभाजित विचारबाट पनि थाहा हुन्छ ।
केन्द्रीय समितिबाट निर्णय गराएर कांग्रेस यतिबेला नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर अगाडि बढ्नु सुल्टो बाटो हो । मंसिरसम्म पुग्दा पनि ‘द्वारपाले’ समूहले केन्द्रीय समितिमा भएको बहुमतको आडमा महाधिवेशन भाँड्ने प्रयत्न गरे त्यही मितिबाट विशेष महाधिवेशन प्रारम्भ गरिनु सुल्टो बाटो हुन्छ ।
बहुमत सदस्य बोकेका शेरबहादुर देउवाले त आफ्नै गुटको कार्यबाहक सभापति दिएर बर्हिगमनको बाटो नरोज्नुस् भन्ने सल्लाह मानेनन् भने बर्हिगमित देउवाका आशीर्वाद प्राप्त समूहबाट अब पार्टीभित्रका परिवर्तनकारी शक्ति हच्किन जरुरी देखिँदैन ।
शक्ति समाप्त हुँदा पनि शक्तिमै रहेको भ्रम त गुण्डु र सानेपालाई हेरेर पनि अनुमान लगाउन सकिन्छ नै, तर ती भ्रम हुन् भन्नेचाँहि प्रधानमन्त्री रहँदा नै हेलिकोप्टरको साहारा लिएर भागेबाटै देश दुनियाँले अनुमान लगाउन कठिन छैन ।
व्यक्तिको सर्वाेच्चतामै रमाउने वामपन्थी दलका बारेको चर्चा भन्दा पनि विधिको शासनमा विश्वास राख्ने दलले आफूलाई उदाहरणका रूपमा प्रस्तुत गरेर मुलुककै अभिभावकीय शक्तिमा नेपाली कांग्रेस रूपान्तरण हुनु पर्दछ भन्ने नै हो ।
दबाबकै बीच किन नहोस्, देउवाले बर्हिगमनको बाटो रोजे । यो पाठ केपी ओली, प्रचण्ड, महन्थ ठाकुर हुँदै रवि लामिछानेसम्मले सिके वा देउवाको सन्देश उनीहरूसम्म पुगे राम्रै हो । तर, यो सम्भावना क्षीण छ ।
यतिबेला आफू बदलिएर देश बदल्ने भनेकै कांग्रेसले हो । आफ्नै पार्टीको सभापतिका घरमा बंकर निर्माण गरी थुपारिएको पैसाको विषयमा माफ माग्दै, ग्लानी गर्दै, भोलिका मितिमा सच्चिने प्रतिवद्धतासहित कांग्रेसको नयाँ नेतृत्व लिएर देशलाई नै नेतृत्व दिन सक्ने नेतृत्व चयन गर्न सक्नु पर्दछ कांग्रेसजनले ।
देउवा दम्पत्ति भन्दा पनि आफ्नो पोजिसन प्यारो लागेर संस्थापनमै रहेका तर धेरथोर समयको बेग बुझ्न सक्ने कोही छन् भने उनीहरूलाई पनि पार्टीमा भोलिको नेतृत्वले समेट्न जरुरी छ । किनकि, पार्टीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेलगत्तै अहिले महाधिवेशनको विपक्षमा उभिएकाहरू पनि बरमझियाको पेडा झैं असली महाधिवेशनको पक्षधर मै हो भनेर आउनेको भीड थेगी नसक्नु हुनेवाला छ । तिनलाई पनि चिन्न जरुरी छ । पार्टीका महाधिवेशन प्रतिनिधिको काँधमा असललाई समेट्ने र खराबलाई चिन्ने समय अब धेरै बाँकी छैन ।
आज कांग्रेस इतिहासकै सर्वाधिक संकट अवस्थामा छ । सर्वाधिक संकट किन भनिएको भन्दा अरूबेलाको संकटमा कांग्रेसको ‘मन र मत’ एउटै हुन्थ्यो तर आज तीनतिर फर्किएको छ । भोलिको नेतृत्वलाई सिंगै कांग्रेसलाई एउटै दृष्टिकोणमा उभ्याउने चुनौती पनि छ । अन्यथा, मुलुकमा प्राप्त उपलब्धि थप गुम्ने खतरा टाढा छैन ।
पार्टी विधानमा विशेष महाधिवेशनको धारा राख्ने तर त्यही धाराको उपयोग गर्दै विशेष महाधिवेशनको माग गर्दा पार्टी नै फुट्ने तर्कदेखि निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टी कमजोर हुनेजस्ता बेतुकका तर्क पनि जारी केन्द्रिय समिति बैठकमा आउन सक्छ । यी सबै महाधिवेशन टार्ने, नगर्ने र उल्टै पार्टीलाई अनिर्णयको बन्दी बनाउने तर्कलाई खारेज गरेर घरेलु तथा भूराजनीतिसंगै युवाको समेत मनोविज्ञान बुझेको नेताको हातमा नेतृत्व पुर्याउन सक्नु नै कांग्रेसका लागि हितकर छ ।
अबको कांग्रेसलाई एमाले, माओवादी वा अरु कसैको बैशाखी बन्ने छुट छैन । आजको यो अवस्था आउनुमा देउवाको सत्तामोहले नै हो । यो शब्द जति दोहोर्याए पनि कमै हुन्छ ।
२०१५ सालमा वीपी कोइरालाले एक्लै दुई तिहाई ल्याइदिए । ०४६ को जनआन्दोलनमा सहभागी हुने भए छरिएर रहेका बामपन्थीलाई मोर्चा बनाएर आउन भनिदिएका थिए गणेशमान सिंहले । तर, आजको कांग्रेसलाई एमाले र माओवादी अनि हिजो कांग्रेसलाई सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नै प्यारो लाग्यो । सोही कारण कांग्रेसले जनविश्वास गुमाउँदै गयो ।
अब कांग्रेसजनले गुमेको त्यो जनविश्वास फिर्ता ल्याउने नेतृत्व सुझबुझपूर्ण तरिकाले चयन गर्न जरुरी छ । सेप्टेम्बर विद्रोह पश्चात कांग्रेसभित्रै परिस्थितिले कोल्टे फेरिसकेको छ ।
अब कांग्रेसको दायित्व भनेको एकै ठाउँमा उभिएर राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने, पार्टीभित्रबाट फ्रेस म्याण्डेट लिने, आसन्न निर्वाचनमा भाग लिने वा संसद पुर्नस्थापना भए आफ्नै अगुवाइमा सरकार निर्माण गरेर मुलुकलाई नेतृत्व दिन आवश्यक छ ।
दुईतिर खुट्टा टेक्ने, समयको बेग नबुझ्ने र बामपन्थीसँग मिलेर सत्ता सजिलै प्राप्त गरिने सपनाबाट कांग्रेस ब्युँझन जरुरी छ ।
जसका निम्ति जालझेलपूर्ण तरिकाले टार्न खोजिएको वा खोजिने महाधिवेशन सम्पन्न गर्नु र सम्पन्न गर्न खबरदारी गरिनै रहनु कांग्रेसजन सामूको पहिलो सर्त हो । तब मात्र पार्टीसँगै देशले पनि निकास पाउनेछ र लोकतन्त्रले पनि लय समाउने छ ।
प्रतिक्रिया 4