+
+
Shares

रविको बयान लिइयो, ओली र लेखकको कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ६:४२

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बिहीबार बयान लिएको छ । तर, आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोधपुछ गरेको छैन ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । साथै, उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ ।

यसै क्रममा नख्खु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाइ गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले बिहीबार लामिछानेलाई कारागारबाट सिंहदरबारमा झिकाएर बयान लिएको हो । ‘रविलाई रिहाई गर्ने’ पत्रमा ‘गृहसचिवको आदेशअनुसार निर्णय भएको’ उल्लेख थियो । यो पत्र सक्कली ठहरिएमा रविको रिहाई प्रकरणमा गृहसचिव समेत अनुसन्धानमा तानिन सक्ने देखिन्छ ।

हेर्नुहोस् नख्खु कारागारको पत्र

आयोगमाथि प्रश्न : ओलीलाई कहिले बोलाउने ?

सरकारद्वारा गठित जाँचबुझ आयोगलाई नमान्ने र आफू बयान दिनसमेत नजाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक चुनौती दिइसकेका छन् । उनले गौरीबहादुर कार्कीको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् ।

उता जेनजी आन्दोलनकारीहरुले भने भदौ २३ को गोलीकाण्डबारे केपी ओली र रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिनुपर्ने माग राख्दै आएका छन् । यस्तो अवस्थामा कारागारमा रहेका रवि लामिछानेलाई बोलाएर बयान लिएको जाँचबुझ आयोगले अहिलेसम्म ओलीलाई बयानमा बोलाएको छैन ।

जाँचबुझ आयोगले बयानका लागि बोलाएको अवस्थामा पूर्वप्रधानमन्त्री ओली बयान दिन आउलान् कि नआउलान् ? यो हेर्न बाँकी छ । तर, रविको बयान लिइसकेपछि अब ओली र रमेश लेखकको पनि बयान लिइनुपर्ने बहस सामाजिक सञ्जालमा शुरु भएको छ, जसले आयोगमाथि दबाव पर्न गएको छ ।

एकातिर आयोगले भदौ २३ र २४ को घटनाको जाँचबुझ गरिरहेको छ, अर्कातिर प्रहरीले हालसम्म ३७२ जनालाई पक्राउ गरेर १४१ वटा मुद्दा चलाइसकेको छ ।

यसै सन्दर्भमा कारगारमा रहेका रवि लामिछानेको बयान लिएको आयोगले २३ गतेको गोलीकाण्डबारे अहिलेसम्म केपी ओली र रमेश लेखकसँग बयान लिन सकेको छैन । रविलाई बयान लिने तर ओलीको नलिने हो भने ‘चयनमुखी न्याय’ को आशंका जन्मन सक्छ ।

यसैबीच, जाँचबुझ आयोगले नेपाल प्रहरीका आइजीपी चन्द्रकुबेर खापुङलाई भने २३ गतेको गोलीकाण्डबारे स्पष्टीकरण सोधेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?