परिभाषा, सिद्धान्त, तुलनात्मक विश्लेषण सब पुस्तकमा मात्रै सीमित हुने विषय हुन्, परीक्षामा लेख्ने बाहेक यसको खासै काम छैन भन्नेहरूको बाहुल्य छ। त्यसमा पनि एआईले संसारको कुनै पनि विषयको सजिलो उत्तर दिन्छ। अब पुस्तक, दर्शन, तर्कको के आवश्यकता भन्ने अर्को भयानक भाष्य स्थापित हुँदैछ।
तर मानिस, उसको जीवन, मानिस र मानिस, मानिस र पशुपक्षी, मानिस र प्रकृति, मानिसहरूको समुदाय र समाज, समाज र राष्ट्र, देश तथा देशहरूका सम्बन्ध बुझ्न दर्शन, सिद्धान्त, परिभाषा, तुलनाहरू अपरिहार्य छन् र रहन्छन्।
जस्तै, हामी नवउदारवाद भन्ने शब्दलाई यत्र-तत्र प्रयोग भएको पाउँछौं। परिभाषा के हो भनेर सोध्यो भने उदारवाद भन्दा पनि कडा उदारवाद भन्ने आशयको उत्तर धेरै पाइन्छ। मानौं कि उदारवाद ५०० एमजीको औषधि थियो भने नवउदारवाद १००० एमजीको हो।
खासमा उदारवादमा राज्यको अधिकार सीमित गर्दा बजारको माग र आपूर्तिको सिद्धान्तको आधारमा स्वस्फूर्त रूपमा स्वतन्त्र हुने परिकल्पना गरिन्छ भने नवउदारवादमा बजारलाई स्वतन्त्र राख्नु राज्यको अनिवार्य जिम्मवारी हुन्छ। नवउदारवादमा बजार स्वतन्त्र राख्न राज्यले सक्रिय भूमिका खेल्नुपर्दछ। त्यसका लागि बलियो राज्य आवश्यक हुन्छ। यस्तै तर्कका हिमायती अमेरिकी राष्ट्रपति रोनाल्ड रेइगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरलाई हामीले नवउदारवादी भनेका हौं।
के हामीले कुनै देश वा नेतृत्वलाई नवउदारवादी भनिरहँदा यस्तै परिभाषामा आधारित भएका हुन्छौं? हुँदैनौं भने के हामी नेपाल र नेपालीले मात्रै प्रयोग हुने परिभाषाको तर्जुमा गर्दैछौं? कि माथि सोधे जस्तै हामी एआई जिन्दावाद गर्ने, सहयोगीलाई नै मालिक मान्ने युगको उदय गर्दैछौं? हाम्रासामु यस्ता चर्चा गर्न नरुचाउने तर जटिल धेरै प्रश्नहरू छँदै छन्।
त्यस्तै एउटा महत्वपूर्ण प्रश्न हो: के नेपाली समाज उत्तर/आधुनिकवाद उन्मुख समाज हो? सामाजिक विज्ञान भित्र आधुनिकता एवं उत्तरआधुनिकता मूलत: दुई प्रसंगहरूमा चर्चा गर्ने गरिन्छ। पहिलो, अध्ययनको दृष्टिकोणको रूपमा व्यक्ति वा समाजलाई विश्लेषण गर्दा पूर्वनिर्धारित परिभाषा, मानक र विधिमा मात्रै सीमित हुने विधि पद्धतिसँग विमति राख्ने उत्तरआधुनिक दृष्टिकोण रहेको छ। खासगरी समाज र व्यक्तिको अध्ययन प्राकृतिक विज्ञानमा जस्तै स्पष्ट, सिधा कारण र नतिजा हुन्छन् भन्ने बारेमा उनीहरूको ठूलो प्रश्न रहेको छ।
फ्रेन्च दार्शनिक मिशेल फूकोले भने झैं ज्ञान उत्पादन गर्दा सरोकारवालाहरूले कुनै निश्चित तथ्यहरूलाई मात्रै ज्ञान हो भनेर विश्वास गर्ने बनाउने त्यहाँका परम्परा र अभ्यासमा रहेका भाष्य विश्लेषण गर्दा मात्रै कारण र नतिजाको सम्बन्ध स्पष्ट हुन्छन्। त्यसैले उत्तरआधुनिकवादी विश्लेषणमा आधुनिक राज्य, समाज र अर्थतन्त्रको निर्माण एवं सञ्चालन सम्बन्धी स्थापित सिद्धान्तहरूको उपयोगिता माथि नै प्रश्न गरिन्छ।
अर्थात् उनीहरूले परिकल्पना गरेको सत्य र अध्येताले विश्लेषण गर्न खोजेको क्षेत्रको सत्यका बीच एकरूपता नहुनु कुनै आश्चर्य होइन त्यसैले कुनै पनि अवस्था वा घटना विश्लेषण गर्दा यस्ता बहु-सत्य र बहुआयामिकतालाई हेर्नु र लेखाजोखा गर्नुपर्दछ।
यहाँ चर्चा गर्न खोजिएको आधुनिकता र उत्तरआधुनिकताको विषय अध्ययनको दृष्टिकोण नभई ‘मूल्य’को रूपमा आधुनिकता र उत्तरआधुनिकता हो।
मिसिगन विश्वविद्यालयमा रहेका राजनीतिशास्त्री रोनाल्ड इंगलहार्टले यो क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्। कार्ल मार्क्सदेखि मार्क्स वेबरसम्म सबै आधुनिकतावादी सिद्धान्तकारहरूले आर्थिक रूपान्तरणले सामाजिक एवं राजनीतिक परिवर्तन गराउने तथ्यलाई स्वीकार गरेका छन्। तर आर्थिक वृद्धि वा विकासले मानिसहरूका मूल्य वा मान्यतामा प्रभाव पार्दछ वा पार्दैन र पार्दा कस्तो प्रभाव पर्दछ भन्नेमा भने आम सहमति छैन।
सो क्षेत्रमा लामो समय काम गरेका इंगलहार्टका अनुसार आर्थिक अवस्थाको परिवर्तनले व्यक्तिहरूको मूल्य र मान्यतामा पनि प्रभाव पार्दछ र त्यसले सिङ्गो अर्थतन्त्र, राजनीति र सामाजिक जीवनशैलीलाई निर्धारण गर्दछ। यसलाई आधुनिक र उत्तरआधुनिक भनेर वर्गीकरण गर्नु उपयुक्त हुन्छ।
उनका अनुसार आधुनिक समाजमा यान्त्रिक विधिबाट हुने बृहत् उत्पादन र सबल राज्य निर्माणप्रति सबैको स्वीकारोक्ति हुन्छ। व्यक्ति, समाज र राज्यको भूमिका एवं गतिविधि यस्ता दुई उपलब्धि हासिल गर्ने सिलसिलाले निर्धारण गर्दछ। राज्यले व्यक्तिको अधिकार र कर्तव्यलाई निर्धारण गर्ने मात्रै होइन शिक्षाका माध्यमबाट नागरिकहरू सीप र चेतनामा समेत राज्यले निमन्त्रण गर्दछ। यहीं कारणले आधुनिकतावाद र अधिनायकवाद धेरै देशमा सँगसँगै आएका पनि छन्।
आधुनिक समाजमा बस्ने व्यक्तिहरूका दुई प्रमुख विशेषता हुन्छन्। पहिलो, त्यहाँ हरेक व्यक्तिमा धनी हुने इच्छा हुन्छ। सिधा भन्ने हो भने हरेक व्यक्तिले धन मन पराउँछन्। धनी हुन प्रयत्नशील रहन्छन्। खासमा बृहत् उत्पादनले सबैमा धनी हुने इच्छा जगाएको हुन्छ। दोस्रो, राज्यलाई माया गर्नु सबै नागरिक धनी हुने प्रक्रियाको अनिवार्य कर्तव्य पनि स्वीकार गरिएको हुन्छ वा स्वीकार गर्ने वातावरण तर्जुमा गरिएको हुन्छ। नागरिकहरूमा त्याग र सहकार्यको भावना जागृत गरिएको हुन्छ। त्यसो गर्दा मात्रै बृहत् उत्पादन र सबल राज्य निर्माण सम्भव हुन्छ भन्नेमा आम स्वीकारोक्ति हुन्छ।
यस्तो अवस्थामा समाज, अर्थतन्त्र र राजनीति सञ्चालनमा तर्कसंगतताको प्रभुत्व माग हुन्छ। मार्क्स वेबरले भनेको समाज र राजनीतिको आधुनिकीकरण पनि यहीं हो। समाजका हरेक क्षेत्रमा रहेका व्यक्तिहरू प्राधिकार सम्पन्न हुन्छन्। हरेक विषयमा विज्ञान (र अहिले आएर प्रविधि पनि) र वैज्ञानिक कारणहरू खोज्ने गरिन्छ। यसरी राज्य र समाज सञ्चालन गर्दा माथि उल्लिखित उद्देश्यहरू सामूहिक रूपमा हासिल गर्न सकिन्छ भन्ने मूल्य र मान्यतामा आम सहमति हुन्छ।
थोरै सजिलो पार्ने हो भने समाज, अर्थतन्त्र र राजनीतिमा हरेक निर्णय प्राकृतिक हुन्छन्। कुनै पनि निर्णय कसरी लिने भन्ने विधि र प्रक्रिया पूर्वनिर्धारित हुन्छ। तोकिएको विधि प्रक्रियाको पूर्ण कार्यान्वयन हुन्छन्। विधि प्रक्रिया परिवर्तनको पनि आफ्नै प्रक्रिया हुन्छ।
हरेक सार्वजनिक व्यक्तिले आफ्नो पदले दिएको अधिकार प्रयोग गर्दा सबैले स्वीकार गर्दछन्। हरेक महत्वपूर्ण निर्णयहरू तथ्यांक र वैज्ञानिक विधिबाट उत्पादित ज्ञानमा आधारित हुन्छन्। विकास भनेको नै विज्ञानको अनुसरण गर्नु हो भन्ने स्वीकार गरिएको हुन्छ। व्यक्तिले आफ्नो भूमिका आफ्नो सीप र क्षमताको आधारमा यसै विधि र प्रक्रिया भित्र खोज्छन्।
बीसौं शताब्दीपछि आर्थिक विकास गरिरहेका देशहरू हेर्यो भने ती देशहरू हिंडेको बाटो यही आधुनिकताको बाटो नै हो। सन् २०१० मा क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट भियतनामी प्राध्यापक तोंङ भुईले प्रकाशन गरेको पुस्तक ‘एसियामा विकासको बाटो: दक्षिण कोरिया, भियतनाम, चीन र इन्डोनेसिया’का अनुसार एशियामा विकसित भएका देशहरूका दुई प्रमुख विशेषता छन्। पहिलो जुन-जुन देश विकसित भएका छन् उनीहरू विकसित हुनुपूर्व सबल राज्य निर्माण भएको हुन्छ र रमाइलो पक्ष के छ भने त्यो सबल राज्य आर्थिक विकास गर्छु भनेर निर्माण भएको होइन कुनै अर्कै राजनीतिक सिलसिलामा निर्माण भएको हुन्छ। दोस्रो, त्यहाँ राज्यका एलिट र आम नागरिक बीच धेरै अन्तरक्रिया हुने गरेको छ।
हाम्रो देशमा अहिले मूलतः आधुनिकताको सिद्धान्तको मूल्य र मान्यता अपनाउनु उपयुक्त हुन्छ भन्ने निष्कर्ष उन्मुख छ। हाम्रा सामाजिक एवं राजनीतिक संवादहरू पनि त्यसै विषयले प्राथमिकता पाएको देखिन्छन्। समाज, अर्थतन्त्र र राजनीतिमा तर्कसंगतताको खाँचो, राजनीति एवं समाजका उच्च तहमा रहेका व्यक्तिहरूको प्राधिकारको सुनिश्चितता, हरेक क्षेत्रको विज्ञान एवं वैज्ञानिक विधि र कारणको खोजीको संवादमा ठूलो चासो देखिएको छ।
तर फेरि आधुनिक हुन खोज्नु नै आफैंमा समस्या हो भन्ने दुई तर्कहरूले यथावत् नै छ नेपाली समाज। एकातर्फ नेपाली समाजमा प्रबोधन अर्थात् एन्लाइटमेन्ट विरोधी भाष्यको सशक्त उपस्थिति छ। उदारवादीदेखि मार्क्सवादीसम्मका प्रबोधन अर्थात् एन्लाइटमेन्ट समर्थक चिन्तकहरूमा व्यक्तिको स्वतन्त्रता र वैज्ञानिक ज्ञान उत्पादन प्रणालीमा दृढ विश्वास रहेको छ।
तर नेपालमा व्यक्तिगत स्वतन्त्रता भनेको पश्चिमा विचार हो र यसको सान्दर्भिकता अझै पनि नरहेको तर्क गर्नेहरू धेरै छन्। त्यस्तै हाम्रो आफ्नै ज्ञान उत्पादन प्रणाली नै उपयुक्त रहेको भन्ने आवाज पनि सशक्त नै छ। दोस्रो, आधुनिकता भनेको नै पूँजीवादको देखाउने दाँत भएको र यसभित्र विभेद, शोषणको अर्को लुकाउने दाँत रहेकोले यो बहस आफैंमा त्रुटिपूर्ण रहेको तर्क गर्ने र विश्वास गर्नेहरूको पनि कमि छैन।
तर त्योभन्दा पनि ठूलो अर्को विरोधाभास आधुनिकताको तर्क गर्ने व्यक्ति र उनीहरूको जीवनशैलीमा रहेको छ। माथि उल्लेख गरे झैं उत्पादनमा व्यापक विस्तार, सबल राज्य निर्माण, समाज, अर्थतन्त्र र राजनीति सञ्चालनमा तर्कसंगतताको प्रभुत्व र विज्ञान एवं वैज्ञानिक विधिको अधिकतम प्रयोग आधुनिकतावादका आधारभूत विशेषता हुन्।
राज्यले यसको लागि आवश्यक सीप मात्रै होउन सामूहिकता, सहकार्य र त्यागको भावना वृद्धि गराएको हुन्छ। समाज औपचारिक हुन्छ। हरेक व्यक्तिहरू औपचारिक र व्यावसायिक देखिन्छन्।
जसरी नेपाली समाजमा आधुनिकतावादको टुसा पलाएको छ हाम्रो समाजका हरेक क्षेत्रमा त्यसै उन्मुख परिवर्तनहरू देखिन्छन्? छैनन् भने कारणहरू के हुन्? विगत तीन दशकको नेपाली समाजको रूपान्तरणको बहसको सबैभन्दा प्रमुख प्रश्न यहीं हो।
झट्ट हेर्दा नेपाली समाजमा प्रभाव पार्न सक्ने अधिकांश व्यक्तिहरू उत्तरआधुनिक मूल्य र मान्यतामा विश्वास राख्ने एलिट जस्तै देखिन्छन्। उत्तरआधुनिक मूल्य र मान्यतामा विश्वास राख्ने व्यक्तिहरू मूलतः व्यक्ति स्वतन्त्र हुन्छ र उसलाई समाजको कुनै पनि निर्धारित रीति, रिवाज वा परम्पराले बाँध्नुहुँदैन भन्ने ठान्छन्। औपचारिक कपडा लगाउनु, औपचारिक भाषा (हाम्रो हकमा हजुर, तपाइँ) प्रयोग गर्नु पनि हिजोको व्यवस्था उपज भएकोले त्यसलाई अनुसरण गर्नु आवश्यक ठान्दैनन्। जस्तै, कोट–टाई लगाउने विषयमा उनीहरू आलोचनात्मक हुन्छन्। तर्कसंगत हुने, प्राधिकार हुने, वैज्ञानिक हुने भनेको नै पश्चिमाकरण भएकोले त्यसलाई प्राथमिकता हुँदैन भन्ने ठान्छन्।
नेपाली समाज र राजनीति आज यस्तै विरोधाभासबाट गुज्रेको छ। हामीलाई पूर्वी र दक्षिण पूर्वी एशियाको जस्तो विकास चाहिएको छ। तर हामी उनीहरू जस्तै औपचारिक, सामूहिक, तर्कसंगत हुने, निर्धारित विधि र पद्धतिमा बाँधिने जस्ता न्यूनतम आधुनिक जीवन र समाज निर्माण भन्दा हामीलाई पनि डेनमार्क जस्तो उत्तरआधुनिक जीवनशैली चाहिएको छ। सुन्दा त धेरै राम्रो लाग्छ, तर हामीले हामीलाई नै सोध्ने बेला भएको छ: के यो सम्भव छ? छ भने कसरी ? छैन भने अबको हाम्रो बाटो के? हाम्रो अलमलले समाज, अर्थतन्त्र र राजनीतिमा पार्ने प्रभाव के? हामीले सबैभन्दा पहिला उत्तर खोज्नुपर्ने आधारभूत प्रश्नहरू हुन्।
प्रतिक्रिया 4