+
+
Shares

एनपी साउदको प्रस्ताव- फागुनमा चुनाव भए वैशाखमा महाधिवेशन, नत्र फागुनमै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १५:१९

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले फागुनमा चुनाव हुने सुनिश्चित भए वैशाखमा नै १५ औं महाधिवेशन गर्न उपयुुक्त हुने बताएका छन् ।

केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्दै नेता साउदले चुनावको मिति सरेर वैशाखमा हुने अवस्था बन्यो भने फागुनमा महाधिवेशन गर्ने विकल्प बताएका छन् ।

‘निर्वाचनभन्दा अगाडि वा पछाडि महाधिवेशन गर्नुपर्ने भन्दा पनि फागुनमा निर्वाचन हुने सुनिशिचत भयो भने वैशाख र वैशाखमा निर्वाचन हुने भयो भने फागुनमै महाधिवेशन गर्न उपयुक्त हुन्छ,’ साउदले बैठकमा भने ।

मंसिरको समयसीमा भित्र अधिवेशन गर्न सक्ने तयारी र अवस्था नभएको बताउँदै साउदले भने, ‘फागुन २१ गते निर्वाचन तोकिएको छ । हाम्रो पार्टीले निर्वाचनमा जान्छौँ भन्ने मौखिक प्रतिबद्धता गरे पनि केन्द्रीय समितिले आजको दिनसम्म ठोस निर्णयको रुपमा त्यसलाई अंगिकार गरिसकेको छैन ।’

महाधिवेशन जहिले भए पनि चुनाव र महाधिवेशन दुवै विषयमा  पार्टीका सम्पूर्ण संरचना चलायमान हुनुपर्ने बताए ।

साउदले साढे आठ लाख बढी संख्यामा रहेका क्रियाशील सदस्यता नवीकरण हुनुपर्ने र पार्टीमा घट्दै गएको युवा सहभागितालाई नयाँ क्रियाशील सदस्यता वितरण र विस्तार  गर्दै अगाडि बढ्नुपर्ने विचार राखे ।

नेता साउदले जेनजी आन्दोलन भएका विश्वका उदाहरण समेत बैठकमा जानकारी गराएका थिए । जेनजी आन्दोलन भएर सरकार परिवर्तन भएको तर संस्थागत हुन नसकेको उनले बताए ।

‘बंगलादेश सरकारको पतनपछि अतिवादी धार्मिक शक्तिहरु पुनरोदयको क्रममा छन् र त्यहा जेनजीहरु हराएका छन् । श्रीलंकामा एकहप्ते जेनजी विद्रोहपछि सत्ता परिवर्तन भयो । निर्वाचन भयो र वामपन्थी झुकाव राख्ने नयाँ सरकार निर्माण पछि जेनजीहरुको आन्दोलन टुंगिएको छ,’ थप देशको उदाहरण दिँदै साउदले भने, ‘मेडागास्करमा जेनजी आन्दोलनपछि एक जना कर्णेलले सत्ता नियन्त्रणमा लिएका छन् । इस्ट– टिमोरमा सुरु भएको जेनजी आन्दोलन कुनै परिणाम नदिएर निस्तेज भएको छ । इन्डानेसिया, फिलिपिन्समा जेनजी आन्दोलन अहिले पनि संघर्षकै चरणमा छन् । विश्वमा जेनजीहरुले आफ्नो आन्दोलन पछि संस्थागत भएर राज्य संरचना सञ्चालन गरेको अनुभव कतै देखिँदैन ।’

जेनजी आन्दोलनले कांग्रेसलाई युवासम्म जाने, उनीहरूको मुद्दाहरू सम्बोधन गर्ने र सहभागितालाई पार्टीका तह र तप्कामा  सुनिश्चित गर्न अवसर प्रदान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?