२१ कात्तिक, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११, पिपिराका ३५ वर्षीय गंगे सुनारको शुक्रबार बिहान मृत्यु भएको हो ।
लागुऔषध मुद्दामा पक्राउ परेका सुनार ८७ दिनदेखि सुर्खेत हिरासतमा थिए । सुनार शुक्रबार बिहान ६ बजेको समयमा ओछ्यानमै सुतेको बेलामा बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
उनका अनुसार सुनारसँगै सुतेका साथीले बिहान उठाउन खोज्दा नउठेपछि ड्युटीमा भएका प्रहरीलाई खबर गरेका थिए ।
‘हामीले तत्कालै प्रदेश अस्पताल कालागाउँ पुर्याएका थियौँ । अस्पताल पुर्याएको आधादेखि एक घण्टाभित्र चिकित्सकहरूले मृत घोषणा गरे,’ डीएसपी बुढथापाले भने ।
सुनार लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी रहेको प्रहरीले जनाएको छ ।
उनले नियमित औषधि सेवन गरिरहेका थिए । चार दिनअघि मात्रै सरकारी वकिल कार्यालयमा मुद्दा गएर आज उनको मुद्दामा पेसी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4