+
+
Shares
माधव नेपालसँग अन्तर्वार्ता :

‘प्रचण्ड र म महाधिवेशनपछि नेतृत्वमा रहन्नौं’

‘प्रचण्डले दुवै अध्यक्ष बसौं भन्दै हुनुहुन्थ्यो, पदको पछि लाग्यो भन्छन् भन्ठानेर मैले नै सहसंयोजक बन्ने प्रस्ताव गरें।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते १२:१५

दश वटा वाम घटकहरू बीच यसै साता पार्टी एकता भएको छ । यो एकता प्रक्रियामा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लगायतका वाम घटकहरू जोडिएका छन् । जेनजी  आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन लगायत विषयहरू उठिरहेको बेलामा कम्युनिस्ट पार्टीहरुले नयाँ खालको मोर्चाबन्दी गरी पुरानै नेतृत्वको निरन्तरता पनि दिएका छन् । यसै सन्दर्भमा अहिले नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

दश वटा कम्युनिस्ट पार्टीहरु मिलेर नेपाली कम्युनिस्ट पार्टी नामको  दल पुनर्गठन गर्नुभएको छ । खासमा यी १० वटा दल नै थिए त ? एकदुई जनाका समूह पनि दल हुन्छन् ?

जो-जो सहभागी हुनुभयो, सबैबीचको एकता नै हो । किनभने एकता प्रक्रियामा जो-जो आउनुभयो, उहाँहरूलाई हामीले तदनुरूप नै व्यवहार पनि गर्नुपर्छ । सम्मान पनि गर्नुपर्छ, साथमा लिएर जानु पनि पर्छ । त्यसो हुनाले मूलतः दुईटा पार्टीले पहल गरेका हुन् । दुईटा ठूला संसद्मा दलको रूपमा रहेका सांसदहरू समेत भएका पार्टीहरू पनि हुन् ।

बाँकी अरूको चाहिँ संसद्मा उपस्थिति छैन । यसका बाबजुद पनि कतिपय निर्वाचन आयोगमा दर्ता भएको छन् । अरू कतिपयहरू समाजमा, राजनीतिमा क्रियाशील भएर लाग्नुभएको छ। राजनीतिमा क्रियाशील भएर लागेका सबै पक्ष, घटकहरू, पार्टीहरूलाई हामीले अधिकतम समेट्ने कोसिस गरेका छौँ। यस अभियानमा अझै पनि केही पक्षहरू, साथीहरू, घटकहरू, समूहहरू र दलहरू सामेल हुन सक्नुहुन्छ।

थप को-कोसँग एकता हुने सम्भावना छ ?

अहिले नै नभनिहालौँ। किनभने कुरा भइरहेकै बीचमा भन्यौँ भने बिथोल्ने कोसिस ज्यादा हुन्छ। एकता नहोस् भन्ने चाहनेहरू पनि छन्, अनेकौँ किसिमका झुटा आश्वासन पनि दिन सक्छन्। त्यसो भएको हुनाले ‘फलाना फलाना’ भनेर अहिले उहाँहरूको सहमति नभएसम्म घोषणा गर्नु राम्रो हुँदैन।

तपाईंहरूले ‘नेपाली कम्युनिस्ट पार्टी’ भन्ने नाम राख्नुभएको छ । नामको सङ्कटको कारणले यो नाम राखियो कि यसको पछाडि कुनै बृहत्तर व्याख्या छ ?

नेपाल कम्युनिस्ट पार्टी भन्दाखेरि फेरि निर्वाचन आयोगमा नयाँ समस्या खडा हुन सक्छ। तपाईंलाई थाहा छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पहिले पनि राखिएको हो ।  अदालतले त्यो नामलाई नै खारेज गरिदियो। समस्यामा हामी पर्यौं, विचार पुर्‍याएर मात्र गर्नुपर्दोरहेछ भन्ने हामीलाई लागेको हो।

भारतमा ‘भारतीय कम्युनिस्ट पार्टी’ छ । चीनमा ‘चिनियाँ कम्युनिस्ट पार्टी’ छ ।  रुसमा ‘रूसी कम्युनिस्ट पार्टी’ छ। फिलिपिन्समा ‘फिलिपिनो कम्युनिस्ट पार्टी’ छ  भने हामीले हाम्रो देशको सन्दर्भमा ‘नेपाली कम्युनिस्ट पार्टी’ भन्न नसकिने कुरो भएन । देशको नाम पनि अगाडि बढ्ने, नयाँपन पनि देखिने र जनतामा पनि हामीले त्यो नयाँपन लिएर जाने आधार पनि प्राप्त हुने ठानेर ठानेर नेपाली कम्युनिस्ट पार्टी भनेका छौँ ।

नामै फेरेपछि अब यसलाई पुष्पलालले बनाएको नेपाल कम्युनिस्ट पार्टीको निरन्तरता मान्ने कि नयाँ कम्युनिस्ट पार्टी मान्ने ?

यो पुष्पलालले सुरु गर्नुभएको पार्टीको निरन्तरता पनि हो । उहाँले अगाडि सार्नुभएको इतिहासको विरासत पनि यसले बोक्ने छ । नेपाली कम्युनिस्ट आन्दोलनका जुन जिम्मेवारीहरू छन्, अभिभाराहरू छन्, त्यसलाई बोक्ने र पूरा गर्ने अठोटका साथ अगाडि बढ्नुपर्ने पनि हुन्छ।

यसको मूल लक्ष्य भनेको फेरि पनि समाजवाद, नेपाली समाजमा समाजवादको स्थापना गर्ने हो । नेपालमा समानता, सामाजिक न्याय, विकास, समृद्धि, सुशासनको एउटा सन्देश दिने पनि हो  ।

सबै खालका विकृति र विसङ्गतिहरू, चाहे राजनीतिमा रहेका हुन् चाहे समाजमा रहेका हुन्, ती सबैबाट मुक्त भएको एउटा नयाँ आशा, भरोसाको केन्द्रको रूपमा जनताको बीचमा यसलाई स्थापित गरेर लिएर जाने हाम्रो सङ्कल्प पनि हो ।

एमालेबाट विद्रोह गरेर बनेको पार्टी त्यो विद्रोहको औचित्य पुष्टी नहुँदै अर्को दलमा मिल्ने कुरा जायज हुँदैन भन्दै तपाईंहरूको पार्टीमा बहस भएको थियो । के बाध्यताले माओवादीमा मिल्नुभयो ?  एमालेमा किन फर्किनुभएन ?

गतिशीलताको कुरा गर्नुहुन्छ भने, म चुनौती दिन्छु माधव नेपालसँग प्रतिस्पर्धा गर्न सक्ने एकीकृत समाजवादीमा को थिए ? धेरै गफ हाँकेर हुँदैन, गफाडीको गफले केही हुनेवाला छैन।

२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुईटै मिल्न हुने, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) मिल्न नहुने के कारण छ ?

किनभने यो पार्टी स्थापना गर्ने बेलामा नै भनेका थियौँ  कि, हाम्रो उद्देश्य भनेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने हो । वाम एकता गर्ने हो ।  वामपन्थीहरूलाई एउटै प्लेटफर्ममा ल्याउने हो । चाहे त्यो सहकार्य गरेर होस्, चाहे मोर्चा बनाएर होस् । या एउटै पार्टीमा समेटेर होस् ।

विचार, सिद्धान्त, कार्यदिशा मिल्छ भने, मन मिल्नुपर्‍यो, विश्वास बढ्नुपर्‍यो, सँगै अगाडि बढ्दै जाने एउटा अठोट पनि हुनुपर्‍यो । त्यो हुन्छ भने एकताबद्ध हुनुपर्छ भनेर नेकपा (एकीकृत समाजवादी) को स्थापनाको घोषणापत्रमा र  त्यसपश्चात् बसेका केन्द्रीय कमिटीका बैठकहरूमा पनि भनेका छौं ।

दशौँ राष्ट्रिय महाधिवेशनमा पनि, महाधिवेशन पश्चात्का केन्द्रीय कमिटीको बैठकका प्रतिवेदनहरूमा पनि यो कुरालाई हामीले बारम्बार उठाउँदै आएका पनि छौँ।

पार्टीमा जिम्मेवारी दिंदा पनि काम गर्न नसक्नेहरू भागे । भाग्ने भागिरहन्छन्, अघि बढ्ने बढिरहन्छन्।

त्यहाँ हामीले प्रष्ट रूपमा के उल्लेख गरेका छौँ भने त्यसको मार्गदर्शक सिद्धान्त के हुनुपर्छ ? त्यो पार्टीको कार्यनीति के हुनुपर्छ ?  रणनीति के हुनुपर्छ ?  त्यसले सङ्घर्षको कस्तो रूप अपनाउने, त्यसले चाहिँ निर्वाचन र जनतासितको सम्बन्ध कस्तो राख्ने छ ? भन्ने कुरादेखि लिएर समाजको रूपान्तरणको सम्बन्धमा कस्तो दृष्टिकोण राख्नुपर्छ ? समाजवादी क्रान्तिको कार्यक्रमको सन्दर्भमा अरू पार्टीहरू के भन्छन् ?  यी सबै पक्षलाई ध्यानमा राखेर अहिले पनि हामीले यिनै सिद्धान्तहरूमा विचार मिलेपछि एकतालाई हामीले टुङ्गोमा पुर्‍याएका हौं ।

यसको लागि पहिलेदेखि नै हाम्रो कुरा हुँदै आएको पनि हो । म तपाईंलाई स्मरण गराउन चाहन्छु, हामीले नेपाल कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने सिलसिलामा एकता संयोजन समिति पनि बनाइसकेका थियौँ ।

दुई वर्षभन्दा पहिलेको कुरा हो । पछि त्यो अगाडि बढ्न सकेन, मोर्चाको रूप लियो। समाजवादी मोर्चा बनाएर हामी अगाडि बढ्यौँ र समाजवादी मोर्चा बनाएर अघि बढिसकेपछि समाजवादी मोर्चामा भएका घटकहरूसँग एकता गर्ने सोच लिएर पनि अगाडि बढ्यौँ।

अर्को पनि कुरा गर्छु। हामीले २०३२ सालमा कोअर्डिनेशन बनाएका थियौँ। कोअर्डिनेशन केन्द्रलाई फेरि नेकपा (माले) बनायौँ हामीले। नेकपा (माले) लाई हामीले २०४७ सालमा आएर फेरि नेकपा (एमाले) बनायौँ । त्यसमा विभिन्न घटकहरूलाई एकताबद्ध बनाउँदै, बनाउँदै, नेकपा (एमाले) र नेकपा (मार्क्सवादी) का दुईटा समूहलाई एकताबद्ध बनाएर मनमोहन अधिकारीजीलाई पार्टीको अध्यक्ष र मदन भण्डारीलाई पार्टीको महासचिवको रूपमा राख्ने काम पनि गर्‍यौं ।  त्यो बेलामा मनमोहन समूहमा विलय हुन गएको भन्ने प्रश्न त उठेन। २०७५ सालमा माओवादीमा विलय हुन गएको भन्ने कुरा त उठेन । त्यस हुनाले यो पार्टीको निर्णय हो, पहिलेको सर्वसम्मत निर्णय हुँदै आएको पनि हो। अब कसलाई कुन पद चाहिएको थियो, पद नपाएपछि बखेडा खडा गरेको कुरो मात्रै हो, तर त्यो खासै होइन केही पनि।

तपाईंहरू माओवादीमा विलय भएको होइन?

होइन, माओवादीभित्र एकीकृत समाजवादीमा विलय भन्ने कुरा रहेछ। हामीभित्र पनि केही मान्छेहरूमा त्यस्तो छ। यो एकता नचाहनेहरूले अनेक बखेडा खडा गरिरहेका हुन्छन्। उनीहरूको कुराको पछि लाग्नु जरुरी छैन।

तपाईंले बृहत्तर एकताको कुरा गरेपनि पार्टीभित्रै विग्रह आयो। एकीकृत समाजवादीका पनि दुईटा समूह दुईतिर गए । माओवादी केन्द्रमा पनि एउटा समूह त्यहाँबाट बाहिरियो । पार्टीमा नमिलाउने तर बृहत्तर एकताको कुरा गर्ने यो त नेताहरुले आफ्नो पद सुरक्षित गर्नलाई गरेको कदम पनि भन्छन् नि ?

केही पद सुरक्षित गर्नलाई लागेका छन् भन्नु गलत हो । प्रचण्डजीले दुईटा अध्यक्षको व्यवस्था गरौँ भन्दा पनि मैले नमानेको हो । अध्यक्ष पाउनको लागि गयो भन्लान् भनेर पनि मैले  तपाईं संयोजक हो भने म सहसंयोजक बस्छु’ भनेर आफैं भनेको हो । किनभने म पदको निम्ति मरिहत्ते गर्ने मान्छे होइन।

तर अरू केही मान्छेहरूलाई आजै, भोलि नै पद चाहिएको छ । जबकि तपाईंलाई थाहा छ, दशौँ महाधिवेशन भएको एक वर्ष पनि बितेको छैन । अरूलाई पद चाहिहाल्यो। महाधिवेशनमा हिम्मत नहुने मान्छेलाई अहिले पद चाहिएको थियो । महाधिवेशनमा सामना गर्ने आँट नभएका मान्छेलाई अहिले पद चाहियो। त्यसो हुनाले हाम्रो पार्टी पङ्क्तिले त्यसलाई अस्वीकार गरिदियो। सचिवालयले सर्वसम्मतिले निर्णय गर्‍यो। स्थायी कमिटीले सर्वसम्मतिले कसैले फरक मत राखेको छँदै छैन ।

अहिले बिदा हुनुपर्छ भन्ने हो,यदि पुराना पुस्ता भन्ने हो भने, ७० वर्ष मुनि १५ वर्ष घटाएर  ५५ वर्षभन्दा माथिका सबैले बिदा  लिऔं भनें ।

यदि उमेरसम्मको कुरा गर्नुहुन्छ भने यसो गरौं होइन, खुबी क्षमताको कुरा गर्नुहुन्छ भने, आँट जाँगरको कुरा गर्नुहुन्छ भने, सक्रियताको कुरा गर्नुहुन्छ भने, गतिशीलताको कुरा गर्नुहुन्छ भने, म चुनौती दिन्छु माधव नेपालसँग प्रतिस्पर्धा गर्न सक्ने एकीकृत समाजवादीमा को थिए ? त्यसो हुनाले धेरै गफ हाकेर हुँदैन, गफाडीको गफले केही हुनेवाला छैन।

एउटा अर्को पनि पक्ष छ । नमरुञ्जेलसम्म पदमा बसिरहने प्रवृत्ति पनि गलत हो ।  लगातार लगातार नेतृत्वमा बसिरहने प्रवृत्ति पनि ठिक होइन ।

पक्कै पनि म लगातार १५ वर्षसम्म बसेँ । तर राजीनामा मैले आफ्नो स्वेच्छाले दिएको हो ।  कसैले भनेर होइन। कसैमा आजसम्म यस्तो हिम्मत पनि भएको छैन ।  माधव नेपाल मात्र चुनाव त हारेको होइन त ? के मलाई कुनै दबाब थियो ? सिङ्गै पार्टीको मूल्याङ्कन होइन ? परिस्थितिको एउटा बाध्यता थिएन ?

प्रधानमन्त्रीबाट स्वेच्छाले राजीनामा दिने  म हुँ। म नदिन सक्थेँ, त्यहिँ चुनौती दिने थिएँ। मेरो निम्ति पद ठूलो कुरो हुँदैन । त्यस हुनाले म पद होइन, क्रान्ति, देश, समाजको निम्ति र समाजमा राम्रो मूल्य र मान्यता स्थापित गर्नका निम्ति अगाडि बढ्ने मान्छे हो ।

ममाथि कसैले औँलो ठड्याउँछ भने, अनुचित रूपमा त्यस्तो गर्छ भने, त्यसलाई म चुनौती दिन्छु। किनभने मेरो मान्यता छ, पार्टीभित्र पनि सक्रिय मान्छेहरू भयो भने यो समाज बदल्न सकिन्छ । राजनीति बदलिन्छ, बदलिएका छौँ हामी ।

२०४६ सालमा पनि बदलिदियौँ,  ६२/६३ मा पनि बदलिदियौं, त्यसपछि अरू अनेक मोडहरूमा दृढताका साथ उभियौँ पनि, परिवर्तनको सहभागी भयौँ। र ठूल्ठूलो जटिलताको माझमा पनि निकास निकालेर अगाडि बढ्यौँ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने काम गर्यौँ । अनमिन जस्तो संस्था एक ठाउँमा एउटा देशमा प्रवेश गरिसकेपछि फर्किँदैन, त्यो उदाहरण प्रस्तुत गरिदियौँ हामीले।

हामी आफ्नो समस्या आफैँ हल गर्न सक्छौँ भन्ने उदाहरण प्रस्तुत गरियो। मलाई चुनौती दिएका थिए, भनेका थिए ‘तपाईंबाट एउटा पार लाग्दैन’ भनेर। तर मैले पार लगाएर देखाएँ। किन ? म मा आत्मविश्वास थियो । मलाई साथ दिने योद्धाहरू थिए, सहयोद्धाहरू थिए। योद्धा, सहयोद्धाहरूको सहयोगले ठूलठूला चुनौतीहरूको सामना गरिएको छ।

तपाईंको पार्टीमा चाहिँ नेतृत्व पुनर्गठनको कुरा उठिरहेको थियो। जेनजी पुस्ताले नेतृत्व असफल भयो भनिरहेको छ । त्यही कारण सबै पार्टीहरूको सत्ता ढलेको यथार्थ छ । यस्तो बेलामा नेतृत्व पुनर्गठनको कुरालाई चाहिँ तपाईंले किन स्वीकार्नुभएन ?

जेनजी पुस्ताले नेतृत्व परिवर्तनको माग गरेको होइन। उनीहरूले नेतृत्व पुनर्गठनको माग गरेको भए प्रधानमन्त्रीमा ७४ वर्षको व्यक्ति आउनुहुन्थ्यो ?  सम्मानित व्यक्ति, जसको व्यक्तित्वको कारणले न्यायालयमा खेलेको भूमिकाको कारणले उहाँलाई किन त्यो पदमा दिए ?  किन ७१-७२ वर्षका मन्त्रीहरूलाई मन्त्री बनाइयो ? यो  प्रश्नको जवाफ छ ? अनि जेनजी पुस्ताका साथीहरू मसँग भेट्न आए, वार्ता टोलीका सदस्यहरू  पनि आए । ‘हाम्रो पार्टीमा तपाईंको नेतृत्वलाई स्वीकार गर्छौँ, तपाईंको भूमिकाको हामी उच्च कदर गर्छौँ’ भन्दै एकताबद्ध भएका छन् । पार्टीमा सामेल भइसकेका छन्। अरूसँग पनि वार्ता चलिरहेको छ। त्यस हुनाले जेनजी पुस्ताको माग होइन।

त्यसो भए पार्टीमा कसले माग गरेको हो त नेतृत्व परिवर्तनको ?

व्यक्ति-व्यक्तिको नाम म भन्न चाहन्न । म त्यो प्रवृत्तिको आलोचना गर्छु। काम कुरा केही नगर्ने, पद ओगट्ने, ओगटेर बस्ने, जिम्मेवारी पूरा गर्दै नगर्ने, कुरा  मात्र ठूलठूला गर्ने । मलाई मदन भण्डारीले भनेको कुरा याद हुन्छ, ‘चिउरा भिज्नेवाला छैन, चिउरा भिजाउन कि त दूधै चाहिन्छ कि दही नै चाहिन्छ।’

त्यसैले सिद्धान्तको गफले हुँदैन। एक त सिद्धान्त पनि ठिक हुन्छ, तर गफले होइन, व्यवहारमा लागू गरेर हो । र व्यवहारमा लागू गर्दै म आफू पनि अगाडि बढेको छु, अरू साथीहरू पनि अगाडि बढ्नुभएको छ। कतिले सकेनन्, भागेका छन्। भाग्ने भागिरहन्छन्, अघि बढ्ने बढिरहन्छन्।

म निराश हुने मान्छे होइन। तर अशक्त भइसकेपछि पनि, थला परिसकेपछि पनि पद नछोड्ने जुन प्रवृत्ति विद्यमान छ, त्यो प्रवृत्ति ठिक होइन।

अनि यस्तो त्यो प्रश्न त फेरि तपाईंहरूमाथि नै आइराखेको छ नि ?

कहाँ कति चोटी भएँ म ?

तपाईंहरूले १० वटा पार्टीको बीचमा एकता गर्नुभयो। त्यो एकता घोषणा सभाको मञ्चमा हेरियो भने, त्यहाँ एक जना नारायणकाजी श्रेष्ठ ६६ वर्षको हुनुहुँदो रहेछ। त्यो बाहेक नेतृत्व पङ्क्तिमा रहेका पाँच/छ जना नेताहरू चाहिँ ७० भन्दा माथिका हुनुहुन्छ। आज तपाईंको नाती पुस्ताले विद्रोह गरेर यत्रो आन्दोलन भएर एउटा परिवर्तन आइसक्यो, तर आज पनि हाम्रै नेतृत्व चाहिँ हुनुपर्छ र हामी नै नेतृत्वमा भयौँ भने यो सङ्कटलाई पार लगाउँछौँ भन्ने दाबी गर्दै हुनुहुन्छ। कति पनि आत्मसात गर्नुभएको छैन है ?

होइन, हाम्रो पार्टीको महाधिवेशनमा देशभरबाट प्रतिनिधि आएका होइनन् ? युवाहरूलाई ल्याएको होइन हामीले? २० प्रतिशत युवाहरूलाई केन्द्रीय कमिटीमा ल्याएको होइन ? महाधिवेशनको प्रतिनिधि बनाएको होइन ? उहाँहरूले सर्वसम्मत रूपमा किन माधव नेपाल चाहियो भन्नुभयो ?

त्यो बेलामा विद्रोह गर्ने आँट कसले गर्‍यो ? विद्रोहको अगुवाइ कसले गर्‍यो ? विद्रोह गर्ने हिम्मत कोमा छ भन्दाखेरि मप्रति सबैले आशाको नजरले हेरेका हुन् नि! र मैले आशाको नजरले हेर्नेहरूलाई निराश पारिनँ। देशव्यापी रूपमा सङ्गठन बनाइयो, ७७ जिल्लामा, सबै पालिकाहरूमा, वडा-वडामा, देश-विदेशमा, सबै जनसङ्गठनहरूमा एउटा तरङ्ग पैदा गरियो ।

जेनजीको आन्दोलनको बेलामा पनि हाम्रै आवश्यकता महसुस भयो । राष्ट्रपतिले फेरि हामीलाई नै खोज्नुभयो। किनभने यो पुस्ताको पनि आवश्यकता छ भन्ने ठानेर कमरेड प्रचण्डलाई नै खोज्नुभयो। पार्टीको रूपमा मात्रै होइन, व्यक्तित्वको रूपमा पनि हो, भूमिकाको हिसाबले पनि हो, जनतामा अपिलिङ क्षमता छ भनेर ठानेर पनि हो ।

ठ्याक्क सम्झिनुस्, २५ गतेका दिनमा हामीले युवाहरूलाई सडकमा उतार्न सुरु गरेका थियौँ। र त्यसपछि त्यहाँ प्रधानसेनापतिजीले यो कुरा स्वीकार गर्नुभयो कि, राजनीतिक दलहरूको गाउँ-गाउँमा सङ्गठन छ, ती सबै मान्छे उत्रिन थाल्यो भने के हुन्छ हालत ?।

जुनसुकै पुस्तामा पनि भ्रष्टहरू,अयोग्यहरू, नालायक पनि हुन्छन् । जुनसुकै पुस्तामा स्वार्थी,अत्यन्तै दुष्टहरू पनि हुन्छन् । यो ख्याल गर्नुपर्छ । त्यसो हुनाले हामी युवा पुस्तालाई भन्न चाहन्छौं त्यो गलत प्रवृत्तिका बीचमा तपाईंहरू जुझ्नुस्, हामी तपाईंहरूलाई साथ दिन तयार छौँ । किनभने यो संसार हुन त हाम्रो पनि हो, तपाईंहरूको पनि हो, तर अन्तिम विश्लेषणमा तपाईंहरूको हो । किन ? हामी त एक प्रकारले भन्ने हो भने हाम्रो समय सकिँदै छ, अब तपाईंहरूको समय आउँदै छ। तपाईंहरू उदाउँदो सूर्य हो, तपाईंहरू एउटा आशा र भरोसाको केन्द्र पनि हुनुहुन्छ।

२०२८ सालमा एउटा अभियान सुरु भएको हो । म २०२६ सालमा कम्युनिस्ट पार्टीको सदस्य बनेको हुँ । २०३१ सालमा क्रान्तिकारी अपिल निकालेको हुँ। अपिल निकाल्ने बेलामा मेरो उमेर कति थियो ? २२ वर्ष । कोअर्डिनेशन केन्द्र गठन गर्ने बेलामा हामी दुई जना थियौँ, त्योभन्दा पहिले पहल गर्ने एउटा सीपी मैनालीजी हो, अर्को म हो ।

अनि ३२ सालमा बल्ल आठ जना हो । ती आठ जनामध्ये कति जना हराए, बेपत्ता भए । पुष्पलालले सुरु गर्नुभयो ६ सालमा, पुष्पलालसँग कति जना हुनुहुन्थ्यो ? पाँच जना । बाँकी चार जनाले पुष्पलाललाई साथ दिएनन् । एक्लै पुष्पलालले अन्तिम समयसम्म लाग्नुभयो । उहाँको उमेर त धेरै भएको थिएन त, ५७ वर्ष भएको उमेरमा उहाँ बित्नुभयो । तर त्यस्तो अवस्थामा पनि को रहे ? एक्लै पुष्पलालले आँट गर्नुभयो ।

त्यही पुष्पलालको विरासत हामीले बोक्यौँ । म पुष्पलालको पार्टीको सदस्य हुँ २६ सालमा । र मेरो रौतहट जिल्ला पुष्पलालको बलियो सङ्गठन भएको जिल्ला हो । रौतहटमा तुलसीलालजीको सङ्गठन बलियो थियो । विष्णुबहादुर मानन्धरजीको पार्टी पनि क्रियाशील थियो ।

पश्चिम नेपालमा मोहनविक्रमजीको पार्टी थियो। पूर्वी नेपालमा मनमोहन अधिकारीजीको पार्टी थियो । सबैका बीचमा पनि एउटा नयाँ पार्टी बनाउनुपर्छ भन्ने विद्रोह नै गरिएको हो त्यो बेलामा पनि । आँट गरिएकै हो त्यो बेलामा पनि, गरेर देखाइएको पनि हो ।

तपाईंहरूको जुन इतिहास छ, त्यसको त योगदानको त मुल्यांकन भएकै छ नि । तर आजको दिनमा युवा पुस्ताले नेतृत्व परिवर्तन भए झन् राम्रो हुन्थ्यो कि भनेर अपेक्षा गरेका छन् नि । यो कुरा सुन्नुपर्दैन ?

पार्टीभित्रका जेनजीहरूले के भने ? अहिले तपाईंले छोड्नुभयो भने हाम्रो यो पार्टी नै चल्दैन । अहिले जसले दाबी गरे उनीहरूको कुनै भूमिका नै छैन, मौका छोपेर पछि आएका हुन् । धेरै म नकारात्मक कुरा बोल्दिनँ अहिले । जब मेरोबारेमा नकारात्मक बोल्यो भने, त्यसपछि म सुरु गर्छु । किन?  मेरो पनि बानी के छ भन्दाखेरि यदि कसैले औँलो ठड्याउँछ भने, बाँकी राख्दिनँ । किनभने अपमानभन्दा ठूलो कुरो अरू केही पनि हुँदैन, अपमान सहने मेरो बानी छैन । म बद्मासी गर्दिनँ, म भ्रष्टाचार गर्दिनँ, म गलत काम गर्दिनँ । मेरो जीवन समाजसेवा, राजनीति, सामाजिक परिवर्तनको अभियानमा बितेको छ । त्यसमा पनि त्यसको अभियन्ताको रूपमा कम्युनिस्ट पार्टीले भूमिका खेल्दै आएको छ ।

त्यसो हुनाले पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, तुलसीलाल अमात्य जस्ता ती योद्धाहरूले अगाडि बढाउनुभएको अभियानलाई हामीले अगाडि बढाउनुपर्छ । तर हामीले सुम्पिने फेरि नयाँ पुस्तालाई नै हो । अहिले नयाँ पुस्तालाई सुम्पिनुपर्छ भनेर मैले कमरेड प्रचण्डसँग पनि भनेको छु, अब धेरै लामो समयसम्म हामी नबसौँ।’

तपाईंहरू पदमा  बस्ने अवधि चाहीँ कहिलेसम्म हो ?

अवधि भन्ने कुरा केही हुँदैन । हामीले चाहिँ के भनेका छौँ भने महाधिवेशन हुँदै छ, यो महाधिवेशनसम्म चाहिँ  हामी बसौं । बरु मैले यसै पटकपनि म छोड्न खोजेको थिएँ, तर कोही तयार भएनन्।

तपाईं पद छोड्न तयार हुनुहुन्थ्यो ? सहसंयोजक बस्न तयार हुनुहुन्थेन ?

मैले भनिहालेँ तपाईंलाई । बेकारमा दुई-दुई वटा अध्यक्ष पदको निम्ति मरिहत्ते गर्‍यो भन्लान् भनेर  फेरि यो गीत गाउलान्’ भन्ने कुराले पनि मलाई अलि पोल्दो रहेछ । तर धेरै पोल्न थाल्यो भने, त्यसपछि फेरि आगो दन्किन्छ।

तपाईंहरूको पार्टीको आकार सानो भएको भएर अध्यक्ष दिने थिएनन् होला नि ?

भनिसक्नुभएको थियो प्रचण्डले । दुइटै अध्यक्षको व्यवस्था गरौँ, पहिलेको मोडलमा जाऔँ ।२०७५ सालको मोडलमा जाऔँ भनेर प्रचण्डजीले आफ्नोतर्फ उदारता देखाएको हो ।

प्रचण्ड अध्यक्ष दिन तयार थिए तर तपाईं आफैंले सहसंयोजक बन्ने प्रस्ताव गर्नुभएको ?

मैले भने, मलाई चाहिँदैन । त्यसैले म मैदान छोडेर भाग्ने होइन । तर पदको निम्ति मरिहत्ते पनि गर्ने होइन। मैले चाहेको भए धेरै चोटी म प्रधानमन्त्री भइसक्थेँ । मैले त्यो अवसर पाइसकेको थिएँ।

एकीकृत समाजवादी भइसके पछाडि पनि प्रधानमन्त्रीको अफर आएको थिय ?

हो । राष्ट्रपति पनि बन्न नमानेको हो ।विद्या भण्डारीजी राष्ट्रपति बन्नेवाला होइन । मलाई घेराबन्दीमा पारेर राष्ट्रपति बनाउन खोजेका थिए । मैले अस्वीकार गरेर ‘विद्या भण्डारीजी बन्नुस्’ भनेको । यो सबैलाई थाहा होस् । रामचन्द्र पौडेलजीलाई मैले नै हुन्छ भनेको हो । अहिले सङ्कटको बेलामा रामचन्द्र पौडेल राष्ट्रपतिज्यूले जुन अडान लिनुभएको छ, त्यसको म प्रशंसा गर्न चाहन्छु ।

तपाईंहरुले नेतृत्व छोडेर अहिले नै नयाँ युवा उमेरको नेतालाई नेतृत्व मानेर पनि पुनर्गठन  गर्न सक्नुहुन्थ्यो । किन त्यो चाहिँ नगर्नुभएको ?

प्रत्येक संस्था सम्हालेका मान्छेहरूको उमेर कति छ ? पार्टीमा मात्रै लागू हुन्छ त ? कति वर्षदेखि सम्हालेर बसेका छन् ? मुख नखोलौँ, तितो कुरा भन्नुहुँदैन भनिन्छ। कुरा त अरूको निम्ति भन्न खुब सजिलो छ । कुरो के हो भने, त्यो संस्था चलाउन सक्नका लागि त्यहाँका साथीहरू तयार हुनुपर्छ । उनीहरूले यो महसुस गर्नुपर्‍यो । तर विरोध गर्ने मान्छेले दाबी गर्छ भने, म मान्दिनँ । विरोध गर्ने, बदनाम गर्न खोज्ने, ल्याएर पदमा राखिसकेका मान्छेले त्यसपछि डे वानदेखि चाहिँ दुःख दिने, यो कुरा स्वीकार्य हुँदैन ।

म त चाहे त्यो केपी ओली होस् या जोसुकै होस्, कसले सामना गर्‍यो ? म सामना गर्ने मान्छे हुँ । यसको मतलब  मेरो मनमा पूर्वाग्रह छ भन्ने होइन । जुन ढङ्गले उहाँ (केपी ओली)को घर जलाइयो, त्यो बहुत गलत हो! जुन ढङ्गले शेरबहादुर र उहाँको म्याडमलाई त्यसरी कुटपिट गरियो, त्यो बहुत गलत हो । जुन ढङ्गले अहिले हाम्रो देशको महत्त्वपूर्ण राज्यका तीनवटा महत्त्वपूर्ण निकाय, कार्यपालिका, त्यसको प्रतीकको रूपमा रहेको सिंहदरबार, न्यायपालिका, त्यसको प्रतीकको रूपमा रहेको सर्वोच्च अदालत, व्यवस्थापिका, त्यसको प्रतीकको रूपमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रिय धरोहरहरू, राष्ट्रपति निवास जसरी जलाइयो, योभन्दा निन्दनीय कुरा के हुन सक्छ? बेठिक कुरालाई पहिले रोकौँ। पहिले रोक्न सकेको हो । त्यसो हुनाले कुराले चिउरा भिज्दैन । गर्नुस्, गर्ने योद्धाहरू आउनुहुन्छ भने म पूरै तयार छु ।

राजनीतिमा चाहिँ उमेरको अर्थ हुँदैन, पुस्तान्तरण आवश्यक छैन भन्ने तपाईंको धारणा हो ?

होइन, नेतृत्वमा कति पटक भन्ने कुरा महत्त्वपूर्ण हो । आजीवनको कुरा पनि महत्त्वपूर्ण हो । अनि भूमिकाको कुरा महत्त्वपूर्ण हो । त्यसो हुनाले त्यही भूमिकाको कुराले त हेर्नुस् न, के कारणले त्यो ७५-७८ वर्ष भएका ट्रम्प राष्ट्रपति हुनुभएको छ ?  के कारणले चाहिँ चीनमा पनि राष्ट्रपति हुनुहुन्छ ? के कारणले भारतमा प्रधानमन्त्री हुनुहुन्छ ? के कारणले संसारका अरू देशहरूमा हुँदाहुँदा महाथिर ९५ वर्षको उमेरमा पनि प्रधानमन्त्री बन्ने स्थिति बन्यो ? अब ती सबै राम्रो हो नराम्रो हो  केही भन्न चाहन्नँ, मलाई आफ्नो देशको मतलब छ ।

कुनै पदको बार्गेनिङ भएको छैन। कुनै पदको सहमति भएको छैन । झलनाथलाई सम्मानका साथ नै यो पार्टीले राख्छ । स्वाभाविक रूपमा संयोजक प्रचण्ड, सहसंयोजक म, त्यसपछि वरीयतामा उहाँ नै हो ।

म पदको निम्ति मरिहत्ते गर्ने मान्छे होइन । पदको दुरुपयोग गर्न हुँदैन भन्ने मान्यता राख्ने मान्छे हुँ म । त्यसो हुनाले मैले प्रधानमन्त्री पद पनि त्यागेकै हो । मलाई कसैले दबाब त दिएका होइनन्। माओवादी पार्टीको दबाब थियो भनेर मैले अस्वीकार गर्दिएको हो । मलाई प्रधानमन्त्री नै स्वीकार नगर्ने पनि भनेकै हो । अब प्रचण्डजीसँग मेरो हातमालो भइरहेको छ, किनभने उहाँ मेरो पुरानो साथी पनि हो।

अहिले तपाईंमाथि भ्रष्टाचारको मुद्दा लागेको थियो । पार्टी पनि गत चुनावमा राष्ट्रिय नै  बनेको थिएन । अब फागुनमा हुने चुनावमा के गर्ने भन्ने संकट पनि थियो त्यसैले  तपाईंले अहिले एमाले छोडेर प्रचण्डको छहारी लाग्न जानु भयो भन्ने छ नि ?

सबैले स्वीकार गरेको कुरा के हो भने, माधव नेपाललाई कसरी समाप्त पार्ने, माधव नेपालको व्यक्तित्वलाई कसरी खत्तम पार्ने कुरामा केपी ओलीको एकमात्र ध्यान थियो । भ्रष्टाचारको मुद्दा त्यही हो । त्यसो भएरकाले त्यसमा कुनै दम छैन । त्यहाँ लगाइएका तीनटा आरोप छन् । एउटा हदबन्दीभन्दा बढी जग्गा दिएको र हदबन्दीभन्दा बढी जग्गा फेरि बिक्रीको पनि गर्न दिएको । भूमि सम्बन्धी ऐन २०२१ को धारा १२ ले के लेखेको छ भने, ‘नेपाल सरकारले कुनै पनि कल-कारखानादेखि लिएर कम्पनीहरूलाई हदबन्दीभन्दा बढी जग्गा दिन सक्नेछ’ र सो दिएको जग्गा अर्को दफामा भनेको छ, ‘यदि त्यो उचित कारण प्रस्तुत हुन्छ भने त्यसलाई सट्टा-पट्टा गर्न पनि दिन सकिनेछ ।’ र अहिले पनि यो सरकारले, योभन्दा पहिलेको सरकारले एउटा सूचना जारी गर्यो, ‘कसैले हदबन्दीभन्दा बढी जग्गा लिनुभएको छ भने सरकारको स्वीकृति बिना, आउनुस् तपाईंलाई हामी वैधानिक बनाइदिन्छौँ ।’ र १५६ वटा कम्पनीहरू त्यस्ता रहेछन्।  अनि त्यो चाहिँ गलत भयो?  पतञ्जलीले के गर्‍यो ? आयुर्वेद कलेज खोलेको छ, आयुर्वेद हस्पिटल खोलेको छ  ।

दोस्रो कुरो, त्यो बेलामा जिल्लाको भूमि सुधार, के भन्छन्, मालपोतको हाकिमले ‘दिनु कानुनसम्मत देखिन्छ’ भनेर सिफारिस गरेका छन् । स्वास्थ्य मन्त्रालयका उपसचिव, सहसचिव, सचिव अनि राज्यमन्त्री, मन्त्री समेतले ‘कानुन बमोजिम दिन उपयुक्त देखिन्छ, भूमि सुधार मन्त्रालयले यसमा ध्यान देओस् ।’ भनेका छन् ।  भूमि सुधार मन्त्रालयमा पुगिसकेपछि फेरि यति प्रक्रियाबाट गुज्रेको छ । त्यहाँ पनि फेरि उपसचिव, सहसचिव, सचिव, मन्त्रीले ‘यो दिनु उपयुक्त देखिन्छ ।’ भनेका छन् । क्याबिनेटको बैठक बसेको छ, त्यसले तुरुन्तै  दिएको छैन । एउटा मन्त्रिमण्डलको समिति बनाउने, त्यो विधेयक समितिमा छलफल गरी त्यसको निष्कर्ष बमोजिम गर्ने’ भनेर निर्णय गरेको छ । त्यो समितिमा ३५ जना मान्छे छन्, ३५ जनामा त्यहाँ कानुनका विज्ञहरू सबै छन्, सात सात जना मन्त्री बसेका छन्, १०-१० सचिवहरू बसेका छन् । मुख्यसचिव बसेका छन् । महान्यायाधिवक्ताको कार्यालयका उपमहान्यायाधिवक्ता बसेका छन्, कानुन आयोगका उपप्रमुख बसेका छन्। ती सबैले ‘यो दिनु उपयुक्त हुन्छ’ भनेका छन् ।

दोस्रो कुरा, त्यहाँ लेखेको के छ थाहा छ ? सरकारी र सार्वजनिक जमिन हिनामिना र हानि-नोक्सानी पुर्‍याएको भन्ने छ । जबकि त्यो सबै निजी जग्गा किनेको हो ।  किने बापत राज्यले राजस्व बुझाएको हो । बिक्री गरेबापत राजस्व बुझाएको हो । त्यो सरकारी जग्गा नै होइन, त्यो सार्वजनिक जग्गा नै होइन, भिरको जग्गा हो, पाखो जग्गा हो, जडीबुटीको लागि चाहिँ उनीहरूले सट्टा-पट्टा लिएका हुन । प्रधानमन्त्री म जोडिएको छैन, त्यो प्रक्रियाबाट आएको छ ।

तेस्रो कुरा भन्छु, त्यहाँ कुनै हानि-नोक्सानी भएको छैन ।  कुनै हिनामिना भएको छैन । सरकारी जग्गा हुँदै होइन । निजी जग्गा हो, किनेको हो । सरकारले कुनै छुट दिएको छैन राजस्वमा ।

अख्तियारमा कुरा पहिले पनि पुग्यो । अख्तियारले पूरा छानबिन गर्‍यो र केही नदेखिएको हुनाले यसलाई तामेलीमा राख्ने भनेर निर्णय गर्‍यो । त्यो निर्णय गर्ने क्रममा फेरि एउटा कमिटी बन्यो पाँच जनाको । त्यो कमिटीले सबै छानबिन गरिसकेपछि पहिले बेचेको जग्गाको चाहिँ पैसा यति, जग्गा किनेको यति, बैंकमा पैसा रहेको र यसलाई उनीहरूले पाँच वर्षभित्र जग्गा किन्नुपर्ने भएको हुनाले अनि जग्गा किन्नका लागि निर्देशन दिने भनेर भनेको छ ।

त्यसो हुनाले सरकारलाई घाटा भएको छ, कुनै नोक्सानी भएको छैन । अनि कहाँबाट भ्रष्टाचार ? अहिले आएर चाहिँ के लेखेको छ भन्दाखेरि चाहिँ हानि-नोक्सानी! हानि-नोक्सानी त भएकै छैन।

त्यो त अनुसन्धानको विषयमा हो । तर तपाईंमाथि चाहिँ अहिले यो आरोपका कारणा पनि रक्षात्मक हुनसभएको त हो नी ?

म आफू गल्ती गरे पो डराउँछु ? म त संलग्न छैन । पतञ्जलीबाट पैसा दिएको छ भन्ने मलाई आरोप पनि छैन ।  पतञ्जलीको पैसा खाएको आरोप पनि छैन । खाली किन दियो मात्र भनिएको छ ।  यो सरकारले अहिले पनि भनिरहेको छ, ‘आऊ नेपालमा आऊ, कम्पनी खोल, कारखाना खोल, ठूला संस्थाहरू खोल, तिमीलाई चाहिने जति पनि हदबन्दीको जग्गा दिन तयार छु ।’

हजार रोपनी दिन्छ, २ हजार रोपनी दिइरहेकै छ त! त्यो के हो भने , ‘कहाँ के निहुँ पाऊ, कनिका बोकाऊ ।’  यो यस्तै कुरो हुँदाखेरि म बडो मनमन कल्पना गर्थेँ, ‘ केपी ओली त सप्रिने नै भएनन्, फेरि मलाई सिध्याउने!’  किन ? उनको बानी छ, आफूसँग कसैले पनि जोरी खोज्यो भने, आफूसँग कसैले बहस गर्‍यो भने, उनीसँग कसैले प्रतिस्पर्धा गर्‍यो भने, उनीसँग कसैले उनीभन्दा भिन्न विचार राख्यो भने, त्यसलाई समाप्त पार्नुपर्‍यो । अहिले पनि भनेको होइन, माधव नेपाल झोली तुम्बा बोकेर कहाँ हिँडेको!’ अनि, म एकता गर्न जान्छु  ? झोली तुम्बा बोकेर, म केपी ओलीजीकहाँ गएर उहाँको पाउमा शरण गर्छु ? म आत्मसमर्पण गर्छु ? त्यो, मेरो नेचर छैन ।

केपी ओलीले पार्टी एकताका लागि लेखेरै पनि आह्वान त गर्नुभएको थियो नि  ?

‘झोली तुम्बा भन्ने ! कहाँ पार्टी एकता ? पार्टी एकता गर्छु भनेर कतिपय मान्छेहरू गएका होइनन् ? हुँदैन, यहाँ व्यक्तिगत रूपमा मात्रै हो, कुनै समूहको कुरा चल्नेवाला छैन भनेर पठाए । उनको कुरा सत्य होइन । एमालेमा रहेका सबै कार्यकर्तालाई धन्यवाद छ, जसले मप्रति सद्भाव राख्नुभएको छ ।  पतञ्जलीको केसमा पनि धेरैले मलाई ‘तपाईंमाथि पूर्वाग्रह साँधेको हो’ भन्नुभएको छ । हाम्रो पार्टीले एकमतले निर्णय गरेको छ, ‘राजनीतिक पूर्वाग्रह हो ।’ वकिलहरूको झन्डै २००-३०० को सङ्ख्याले, सबै पार्टीका बौद्धिक समाज, सामाजिक अभियन्ताहरूले मलाई फोन गरेर, ‘तपाईंमाथि पूर्वाग्रह साँधेको हो’  भनेका छन् ।

तपाईंमाथि संवैधानिक आयोगले दर्ता गरेको मुद्दा हो नि, यहाँ केपी ओली कसरी जोडिन्छन्  फेरि ?

ओहो! कति तपाईं मिठो कुरा गर्नुहुन्छ ! के के भइरहेको छ भन्ने कुरा थाहा छैन कि तपाईंलाई ? प्रमाणै ल्याएर देखाइदिऊँ? बकपत्र देखाइदिऊँ ? मसँग पनि सूचना रहँदैन, जानकारी हुँदैन ?  त्यसमा नजाऊँ। किनकी अरूलाई खाल्डो खन्नेहरू आफैँ पनि खाल्डोमा पर्छन् । त्यसो हुनाले पूर्वाग्रहबाट नचलौँ । कसैले पनि भ्रष्टाचार गर्छ भने, छुट नदिऊँ। म पनि भ्रष्टाचारीहरूलाई छोड्ने पक्षमा छैन । दुराचारीहरूलाई छोड्ने पक्षमा छैन । देशघातीहरूलाई छुट दिने पक्षमा छैन ।

यो मुलुकमा चाहिँ पुरै विकृति र विसङ्गति फैलाउनेहरूलाई छोड्ने पक्षमा छैन । मैले भन्ने गरेको छु, ‘घुस दिनका लागि कोही मान्छे हुनुपर्छ, कि त्यो कर्मचारी हुनुपर्छ कि त्यो व्यापारी हुनुपर्छ, कि त्यो बिचौलिया हुनुपर्छ, कि त्यो विदेशी हुनुपर्छ । यही चारवटा होइन? माधव नेपाललाई एक पैसा कसैसँग पनि घुस मागेको, लिएको छ ?

किनभने मेरो बुवाले सिकाएको संस्कार छ । मलाई माग्नुपर्ने आवश्यकता पनि छैन। मेरो श्रीमतीको पेन्सन छ । म पनि पहिले बैंकमा काम गरेको मान्छे हो ।  मैले पार्टीलाई पैसा दिएको हो थिएँ ।  मेरो आफ्नो ८ आना जग्गा पार्टीलाई बुझाइदिएँ । यस्तो गर्ने कोही नेता छैन अहिलेसम्म ।  अहिले त्यो ८ आना जग्गाको १० करोड रुपैयाँको पर्दछ ।

कलङ्कीको जग्गा मेरो श्रीमतीले १३ हजारमा किनेको हो । मेरो बुवाले काठमाडौँमा जग्गा किन्नुभएको थियो । ३० हजार रुपैयाँ प्रतिरोपनी किन्नुभएको थियो । तीन दाजुभाइलाई उहाँले जग्गा बाँड्नुभयो। हामी तीन दाजुभाइको निम्ति उहाँले जग्गा  दिनुभयो । उहाँ स्कुलको हेडमास्टर हुनुभयो, कलेजको प्रिन्सिपल हुनुभयो । त्यसैले म विपन्न परिवारको पनि होइन ।

म आफैँ पनि सादा जीवनको हिमायती हुँ । मलाई तडकभडक मन पर्दैन। मलाई ब्राण्ड मन पर्दैन, मलाई काम, व्यवहार मन पर्छ । मलाई जिम्मेवारी मन पर्छ ।  त्यसको राम्रो पालना गर्नुपर्छ भन्ने म अनुशासनको हिमायती मान्छे हो । यस्ता कुरामा बहुत कडा मान्छे पनि हुँ म, आजदेखिको कडा होइन । म अझै भन्नुहुन्छ भने म कलेज पढ्दाको सुरुवातमा म त शाकाहारी मान्छे पनि हुँ । ब्राह्मण परिवारबाट आएको हुँ, पुरोहित परिवारबाट आएको पनि हो, यो सबैलाई थाहा होस् । त्यो संस्कार ममा छ । म कसैको अपमान गर्दिनँ । मलाई अपमान गर्ने पनि  मन पर्दैन । आफ्नो पनि अपमान सहन सक्दिनँ ।

अनुहार त देखिन्छ, देखिन्छ । किनभने राजनीतिबाट सन्यास लिँदैन, साधु बनिँदैन, राजनीतिमा लागिरहने हो । प्रमुख जिम्मेवारी चाहिँ, मुख्य प्रमुख पदमा आउनका लागि चाहिँ भनेको हो ।

तपाईंले भन्नुभयो, पार्टीले ११ सिट ल्यायो ।१९ सिट त हामीले लिएकै थियौँ, उनै सिटमा ११ सिट आयो । जहाँसम्म मतको कुरा छ, हामीले ६ लाख मत पाएको हो प्रदेशसभामा। तर हाम्रै कमजोरीले गर्दाखेरि यो समानुपातिक भोट खसाल्नका लागि जसरी अभियान चलाउनुपर्ने हो, त्यहाँ कम भयो।

तर गठबन्धन बनेको थियो नि त, गठबन्धनको भोट पनि आएको थियो होला ?

होइन, समानुपातिकमा त्यस्तो हुँदैन। समानुपातिक त आफ्नो पार्टीको मत नै हो । तपाईंले भन्नुभयो कि अब चुनावमा जाने कुराले तर्सिएर एकता गरेको हो?  होइन । तर  आवश्य चुनाव पनि एउटा चुनौती नै हो । चुनौती हामीलाई मात्रै होइन, नेपालका सबै दलहरूको सामु छ ।

अहिले विद्यमान कुनै पनि दल ढुक्क नभए हुन्छ । त्यसो हुनाले चुनावको सन्दर्भमा अवश्य पनि गठबन्धन गर्नै पर्‍थ्यो । एक्लै गरेर पार्टी बलियो हुन्छ, बडा शक्तिशाली हुन्छ भनेर या चुनावमा भाग नलिएर झन् ज्यादा क्रान्तिकारी हुन्छ भन्ने मान्यताको पक्षमा छैन । उहिले पनि हामी पञ्चायती चुनावमा भाग लिएका हौँ । उहिले पनि पञ्चायती चुनावमा जनपक्षीय उम्मेदवार खडा गरेका हौँ । त्यो हेर्ने जिम्मा मेरै थियो । त्यसो भएको हुनाले पनि यो चुनावको निम्ति होस्, जनपरीक्षणको निम्ति होस् । किनभने अलग-अलग पसल थापेर राम्रो हुँदैन । सुरुदेखि पनि हामी एकताकै हिमायती हौँ। म एकता विरोधी मान्छे कहिले पनि होइन ।

तपाईंसँग असहमति राखेर हिँड्नुभएका झलना खनाल पार्टी एकता घोषणा सभा भन्दा अघिल्लोदिनसम्म केपी ओलीसँग कुरा गर्दै हुनुहुन्थ्यो । उहाँ कसरी मिल्नुभयो ?

उहाँले एकताको महत्त्वलाई बुझ्नुभयो । उहाँ पनि वृहत् वाम एकताकै पक्षमा आएको मान्छे हो । त्यो उहाँलाई रियलाइजेसन भयो कि, अरूबाट केही हुनेवाला छैन । र यो राम्रो अभियान हो भने उहाँले ठान्नुभयो ।

दुई दिन अगाडि चाहिँ फेरि पार्टीको बैठकमा बाहिर प्रतिक्रिया दिँदा तपाईंलाई ‘विसर्जनवादी’, ‘पलायनवादी’ भन्दै हुनुहुन्थ्यो तर अन्तिम समयमा आउनुभयो । त्यहाँ पदको कुनै बार्गेनिङ भएको हो कि ?

कुनै पदको बार्गेनिङ भएको छैन। कुनै पदको सहमति भएको छैन । उहाँलाई सम्मानका साथ नै यो पार्टीले राख्छ । स्वाभाविक रूपमा संयोजक प्रचण्ड, सहसंयोजक म, त्यसपछि वरीयतामा उहाँ नै हो । किनकी  उहाँ पूर्वप्रधानमन्त्री पनि हो । पहिलेदेखि पार्टीको महत्त्वपूर्ण ओहोदामा बसेको मान्छे पनि हो । त्यसपछि वामदेव गौतम हुनुहुन्छ, त्यसपछि नारायणकाजी श्रेष्ठ । पाँच जना व्यक्तिहरूको वरीयता यस रूपमा नै राख्नुपर्छ भन्ने हो । यो हाम्रो सम्मान पनि हो र भूमिकाको अपेक्षा पनि हो ।

किनकी कुनै एउटा व्यक्तिले, कुनै एउटा नेताले मात्र  गरेर हुँदैन। सँगै टिम नै चाहिन्छ । हिजो पनि मैले एक्लै गरेको होइन, सीपी मैनाली, राधाकृष्ण मैनाली र  केपी ओलीकै पनि भूमिका नभएको होइन। केही नकारात्मक कुराहरू छन्, म कसैको पनि अपमान गर्न चाहन्नँ । ‘केही थिएन, भूमिका खत्तम’ थियो  भन्दिनँ । सबैका आफ्ना-आफ्ना खुबी हुन्छन्, आफ्ना-आफ्ना विशेषता हुन्छन् । यी सबैको सङ्गम हुनुपर्छ पार्टी ।

प्रचण्ड र तपाईंको एकता चाहिँ कति लामो टिक्ला ? किनकी तपाईंहरु फरक धारबाट पार्टी निर्माण गर्नुभएको व्यक्ति भएकाले लामो जान गार्‍हो हुन्छ कि ?

उहाँसँगको मेरो सहकार्यको ४० वर्ष भइसक्यो । ‘सहकार्य टिक्दैन’ भन्ने कुरा छ!४२ सालदेखि उहाँसँग मेरो सम्पर्क छ । हुन त २९ सालदेखि केपी ओलीसँग हो, यो पनि थाहा होस् । ४२ सालदेखि प्रचण्डसँग हो । र सङ्कटको बेलामा फेरि हामी सँगै रहेका हौँ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनलाई मैले महत्त्वपूर्ण भूमिका खेलेको हो ।  गिरिजाप्रसाद कोइरालाजीलाई पनि कन्भिन्स गरेर दिल्ली लाने मै हुँ, यो थाहा होस् ।

अनि ६२/६३ को जनक्रान्ति भन्नुस् कि आन्दोलन भन्नुस्, त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने कुरामा फेरि मेरै महत्त्वपूर्ण भूमिका रहेको छ । त्यस हुनाले त्यो बेलामा भूमिका खेल्ने गिरिजाप्रसाद कोइरालाजी हुनुहुन्छ, प्रचण्डजी र  म हो । त्यो बेलादेखि काम गर्दै आएका हौं । राष्ट्रिय राजनीतिमा हामीले हातेमालो गर्दै गएका छौँ र त्यो बेलाको नेकपाकालिन समयमा यसलाई जोगाउने, बचाउने कुरामा हामीले भूमिका खेलेका छौँ । जब केपी ओलीजीले विद्रोह गरिसकेपछि, संसद् भङ्ग गरिसकेपछि, उहाँ अलग ढङ्गले चल्ने स्थिति भइसकेपछि, प्रचण्डजी र म त हो नि, दुईटा अध्यक्षको व्यवस्था गरेको होइन? त्यो सबै स्थितिले गर्दाखेरि मैले अनुभव गरेसम्म उहाँसँग काम गर्न सजिलो छ ।

तर २०६६ सालमा तर तपाईंहरूको सडकमै जुन तिक्तता थियो नि त्यो सम्झनुभएको छ ? प्रचण्डले सडकबाटै तपाईंलाई  ‘कठपुतली’ भन्नुहुन्थ्यो त ?

झोंकमा कहिलेकाहिँ त्यस्तै हुन्छ । मान्छेको स्वभाव हो । झोंक चलेको बेलामा,रिस उठेको बेलामा, आफू अप्ठ्यारोमा परेको बेलामा त्यस्तो हुन्छ ।

तर धेरै कम्युनिस्टहरंत झोंक-झोंकमै फुटेका छन् नि ?

त्यो पनि छ, तर त्यो चित्र राम्रो त होइन । तर के गर्नुहुन्छ, एउटा घरमा बसेर भाँडभैलो मच्चाउनुभन्दा त अलग-अलग हुनु राम्रो। त्यस्तो एकीकृत समाजवादीमा भाँडभैलो मच्चाउने काम गर्नुभन्दा त जानु राम्रो । यहाँ बसेको छ, काम गर्नै दिएको छैन, भाँडभैलो मच्चाएको छ, कमिटी नै चलाएको छैन, जिम्मेवारी नै पूरा गरेको छैन ।

मैले प्रचण्डजीलाई भनेको छु  अब पुरानो पार्टीको निरन्तरता हुनुहुँदैन । उस्तै विकृति, उस्तै विसङ्गति बोकेर जान सकिँदैन । सबै पार्टीमा रहेका कमजोरीमा सुधार गरौँ । जनताको आशा, अपेक्षा के हो, ध्यानमा राखौँ । सबैभन्दा पहिले भ्रष्टाचारलाई केन्द्रबिन्दुमा राखौँ, जनताको हित र कल्याणलाई केन्द्रबिन्दुमा राखौँ ।

राष्ट्रियताप्रतिको जिम्मेवारीबोधलाई केन्द्रबिन्दुमा राखौँ । एउटा नयाँ संस्कार बसालेर अगाडि बढौँ । पद मात्रै ओगट्ने काम, जिम्मेवारी पूरा नगर्ने यो प्रवृत्तिकाविरुद्ध जुधौँ । प्रत्येकको कामको अनुगमन गरौँ र प्रत्येक कामका योजनाहरू सार्नुभन्दा पहिले राम्रो अध्ययन-अनुसन्धान गरौँ।’

सामग्र दृष्टिकोण राखौँ, दीर्घकालीन हितलाई ध्यानमा राखौँ र त्यसको आधारमा एउटा सामग्री योजना बनाऔँ । लगानी गर्दाखेरि प्रतिफलको सबैभन्दा पहिले प्रत्याभूति गरौँ । तब भने देश निर्माण पनि हुन्छ, पार्टी पनि निर्माण हुन्छ । पार्टी निर्माणसम्बन्धी मसँग पनि खाका छ, राष्ट्र निर्माणको मसँग पनि खाका छ । त्यो त म त त्यो बेलामा प्रधानमन्त्री हुँदाखेरि अर्कै सङ्कटको सामना गरिरहेको थिएँ, तर पनि मैले सुरु गरेको थिएँ । कतिपय जनता आवास कार्यक्रम सुरुवात गर्ने, घर नभएकालाई घरको व्यवस्था गर्नुपर्छ भन्ने अभियान सुरु गर्ने मै हुँ ।

तामाकोशीको सुरुवात गर्ने फेरि मै हुँ। निजगढमा विमानस्थल बनाउनुपर्छ भन्ने कुराको मान्यता मैले बोकेको हुँ, यो अहिलेसम्म कसैले आँट गरेको छैन । फास्ट ट्र्याक रोड सुरु गर्नुपर्छ भनेर शिलान्यास गर्ने मान्छे मै हुँ ।

म भन्छु, जसले सुकै राम्रो काम गरेको छ भने, राम्रो भनौं, चर्चा गरौँ ।  गौरव बोध गरौँ  ।

फागुन २१ मा चुनावको मिति घोषणा भइसकेको छ । अहिले सरकारले चुनावको लागि गरिरहेको तयारी प्रति तपाईंको के धारणा छ ? तपाईंहरूको पार्टी चुनावमा कसरी सहभागी हुन्छ?

प्रधानमन्त्रीज्यूले जुन आँट गरेर पहल गर्नुभएको छ, त्यो पहल सफल होस् । चुनाव समयमा सम्पन्न होस् । उहाँले सबैको सहयोग लिनुहोस् र त्यसको निम्ति शान्ति-सुरक्षाको व्यवस्था राम्रो र त्यसपछि निष्पक्ष निर्वाचनको प्रत्याभूति गर्ने काम गरेर सबैको मन र विश्वास जितेर अगाडि बढ्नुहोस् । यसमा राजनीतिक दलहरूको सहयोग पनि चाहिन्छ, जेनजी पुस्ताको पनि सहयोग चाहिन्छ । आम नागरिकको सहयोग पनि चाहिन्छ । तर राज्यका निकायले सबैभन्दा मुख्य जिम्मेवारी पूरा गर्नुपर्छ । चुनाव हुन्छ भनेर तयारीका साथ अगाडि बढ्नुपर्छ।

निर्वाचन आयोगले भनेको १२० दिनको टाइमलाइन घट्न थालिसक्यो । राजनीतिक वातावरण बनेको छैन । एमालेले चुनावलाई स्वीकारेको छैन । प्रतिनिधिसभा पुन:स्थापनाको मुद्दा उठाएको छ । यस्तो अवस्थामा चुनाव हुनसक्छ त ?

नेकपा (एमाले) ले त्यो आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्छ । उसले आशङ्का गरेको हो, आशङ्का गर्न पाइन्छ, ‘हुँदैन कि’ भन्ने लाग्न पाउँछ । फेरि आफैँ प्रधानमन्त्री भएको बेलामा संसद् विघटन भयो, त्यो विघटन भएकोमा पनि गुनासो पनि होला । ती चिजहरू आफ्नो ठाउँमा छन् । अहिले धेरै यताउता लाग्ने होइन । खास बेलामा खास कुरा सोच्नुपर्छ । अहिले चुनावमै जानु र जनताको मत लिएर आउनु नै राम्रो हुन्छ । नेपाली कांग्रेसले ठिक निर्णय गरेको छ, अरू दलहरूले पनि गरेका छन्, एमालेले पनि त्यही गरोस् ।

राजनीतिक दलहरूको बीचमै पनि चाहिँ चुनावी वातावरण बनाउनको लागि आपसी संवाद पनि हुनुपर्छ होला नि त ? त्यो वातावरण त देखिन्न ?

हामी एकताको अभियानमा त थियौँ । अब हामी छलफल सुरु गर्छौं ।  मैले पहिले पनि विभिन्न पार्टीहरूलाई राखेर, संविधानका पक्षधरहरू, गणतन्त्रका हिमायतीहरू  राखेर कुरा गरेको छु । अब पनि हामी कुरा गर्छौं ।

फागुन २१ मा चुनाव होला त्यसपछि तपाईंहरूले ६ महिनामा महाधिवेशन गर्ने भन्नुभएको छ । अबको महाधिवेशनबाट पार्टीको नेतृत्वमा माधव नेपाल र प्रचण्ड नै आउने हो कि पुस्तान्तरण गर्नुहुन्छ ?

प्रचण्डजीलाई पनि मैले भनेको छु कि, ‘तपाईं पनि ४० वर्षदेखि लगातार पदमा हुनुहुन्छ ।  मुख्य पदमा हुनुहुन्छ । अब पदको पनि सीमा तय गरौं ।  त्यसको आधारमा प्रत्येक एउटा व्यक्ति कति पटक मन्त्री बन्छ, त्यसलाई पनि सीमा तोकौं । त्यसैगरी सांसदै पनि कति चोटी हुने, त्यसमा पनि मूल्याङ्कनको विधिमा जाने कुरा गरौँ ।  प्रत्येकको के भन्छ, मूल्याङ्कन गर्ने, अनुगमन गर्ने विधि पनि बसालौँ । तपाईं-हामी पनि अब ७० नाघिसकेका छौँ ।  त्यसो हुनाले पनि लगभग मोटामोटी रूपमा यो ७०-७५ को उमेरभन्दा बढी लगातार रूपमा चाहिँ बसिरहने कुराको विकल्प सोच्नुपर्छ ।  प्रचण्डजी त्यसमा पोजेटिभ हुनुहुन्छ । उहाँले पनि ल ठिक छ, महाधिवेशनसम्म हामी गरौँ, नयाँ पुस्ताहरूलाई हेरौँ, नयाँ पुस्ताहरूलाई चाहिँ जिम्मेवारी सुम्पेर अगाडि बढौँ भनेर उहाँले पनि पोजेटिभ जवाफ दिनुभएको छ । हामी दुईटैको धारणा पोजेटिभ छ, त्यस हिसाबले नयाँ पुस्ताले आफूलाई तयार गरिराख्नुपर्छ ।

त्यसो भए अब यो महाधिवेशन पछाडि चाहिँ नेतृत्वमा तपाईंहरूको दुई जनाको अनुहार चाहिँ देखिँदैन?

अनुहार त देखिन्छ, देखिन्छ । किनभने राजनीतिबाट सन्यास लिँदैन, साधु बनिँदैन, राजनीतिमा लागिरहने हो । प्रमुख जिम्मेवारी चाहिँ, मुख्य प्रमुख पदमा आउनका लागि चाहिँ भनेको हो ।  मैले यसैपटक एउटा समूहका नेतालाई भनेको थिएँ, ‘आउनुस्, हामी दुईटा चाहिँ अध्यक्षको छँदै छौँ भने, तपाईं महासचिव भएर आउनुस् ।’ अहिले पनि मैले भनिरहेको छु, ‘आउनुस्, नयाँ पुस्ताका साथीले काम गरेर देखाउनुस् । काम, गतिविधि र व्यवहारबाट तपाईंको मूल्याङ्कन हुन्छ,पद खोजेर हुँदैन ।’

हामीले कहिले पद खोजेर पाएको होइन । मलाई त पद दिएकै हो, २०३९ सालमा सीपी मैनालीले मलाई पद दिन खोजेको हो, मैले पद मानिनँ, लिइनँ  । मैले जीवराज आश्रितलाई त्यो प्रस्ताव राखेँ, उहाँले पनि मान्नुभएन । फेरि मदन भण्डारीलाई राखेँ, उहाँले पनि मान्नुभएन। त्यस्ता हौँ हामी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?