२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् ।
आज सदनमा विश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा घोषणा गरेका मुख्यमन्त्री सोनल प्रदेश प्रमुख सुवेदी समक्ष समेत राजीनामा पत्र बुझाएका थिए ।
उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि उनले राजीनामा घोषणा गरेका थिए । लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत २९ असोजमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नियुक्त गरेकी थिइन् ।
१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा बैठकमा अनुपस्थित थिए ।
मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भएकी थिइन् ।
माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका थिए ।
प्रतिक्रिया 4