२३ कात्तिक, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको आठौं जिल्ला अधिवेशनले मोहन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
शनिबार तम्घासको लाकुरीमञ्चमा सम्पन्न अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रमका बीच नयाँ नेतृत्व चयन गरिएको हो । उपाध्यक्षमा श्रीधर पोखरेल र गणेश अधिकारी चयन भएका छन् ।
सचिवमा लोकेन्द्र कुँवर, सह–सचिव अनिल खत्री र कोषाध्यक्षमा हरि खत्री चयन भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बताए ।
शनिबार राति अबेरसम्म चलेको बन्द सत्रले यसअघि उपाध्यक्ष रहेका बस्नेतको अध्यक्षतामा सर्वसहमतीमा जिल्ला कार्य समिति चयन गरेको हो ।
अधिवेशनमा राष्ट्रिय कलाकार पुश्कल शर्मा सहितका दर्जन बढी कलाकारको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह, कलाकार, स्रष्टा र दोहोरी प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नव–निर्वाचित अध्यक्ष बस्नेतले जिल्लामा लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको हक अधिकारको पक्षमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया 4