२४ कात्तिक, काठमाडौं । संसद् पुनर्स्थापनाको पक्षमा नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर अभियान सुरु गरेका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो ।
उक्त निष्कर्षका आधारमा न्यायालयको ढोका ढकढक्याउनका लागि ‘हस्ताक्षर क्याम्पेनिङ’ सुरुवात गरिएको विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले जानकारी दिए ।
‘नेपाली कांग्रेसले संसद् पुनर्स्थापना गर्ने वा निर्वाचनमा जाने भन्नेबारेमा अहिलेसम्म कुनै निर्णय गरेको छैन । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यो सरकारको गठन र यो विघटन चाहीँ असंवैधानिक र अलोकतान्त्रिक हो मात्रै भनेको छ,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘असंवैधानिक र अलोकतान्त्रिक हो चाहीँ भन्यो, त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे कुनै निर्णय गरेको छैन । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक हो भने यसका विरुद्धमा न्यायलयको ढोका ढकढक्याउन पार्टी किन नजाने भनेर हामीले हस्ताक्षर क्याम्पेनिङ सुरुवात गरेको हो ।’
उनका अनुसार, विघटित प्रतिनिधिसभाका सांसदहरूले तयार पारेको हस्ताक्षरको सूची पार्टीमा बुझाइनेछ । ‘यो सिग्नेचर हामीले पार्टीमा बुझाउँछौं,’ उनले भने, ‘यो निर्णय चाहीँ पार्टीले नै एक भएर गरोस् भन्ने हाम्रो आग्रह हो ।’
यसअघि एमालेले पनि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।
प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।
त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । अन्तरिम सरकारले आगामी फागुन २१ मा चुनावको मिति घोषणा गरेको छ । ।
एकातर्फ सरकार र निर्वाचन आयोग तोकिएको मितिमा चुनाव गराउने कार्यमा अगाडि बढिरहेका छन् भने अर्कोतर्फ सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताउँदै आएको छ ।
प्रतिक्रिया 4