२३ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार गृहमन्त्रालयमा भएको दुई पक्षीय भेटमा प्रतिनिधिसभा निर्वाचनको शान्ति सुरक्षा लगायत बारेमा कुराकानी भएको छ ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।
भारत सरकारले दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध सुमधुर ढंगले अघि बढ्ने बताउँदै निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि भारत सधैँ सकारात्मक रहेको श्रीवास्तवले बताए ।
मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रस्टाचार रहीत सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको र घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी गराएका थिए ।
भेटमामा मन्त्री अर्यालले भारत सरकारले नेपालप्रति राखेको मित्रवत भावनाप्रति धन्यवाद दिँदै नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने बताए ।
सोही भेटमा, दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले राखेका छन् ।
प्रतिक्रिया 4