+
+
Shares

दुबईका अपार्टमेन्टमा बढ्दै नेपालीको लगानी, सरकारी निकाय बेखबर

सम्बद्ध व्यवसायीका अनुसार पछिल्लो समय करिब १० अर्ब रुपैयाँभन्दा धेरै दुबईमा लगानी भएको छ । नेपालीले विदेशमा लगानी गर्न कानुन अनुसार सहज छैन । विदेशमा लगानी गर्नै पाइँदैन भन्दा पनि फरक पर्दैन । दुबईमा बढेको लगानी गैरकानुनी हो ।

भुवन पौडेल भुवन पौडेल
२०८२ कात्तिक २३ गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनपछि नेपाली उद्योगी–व्यवसायीले आफ्नो सम्पत्ति सुरक्षित गर्न दुबईमा लगानी बढाएका छन्।
  • दुबईमा नेपाली लगानी १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ र अधिकांश लगानी गैरकानुनी हुन्डीमार्फत भइरहेको छ।
  • नेपाल राष्ट्र बैंक र प्रहरी निकायलाई विदेशमा लगानी बढेको विषयमा कुनै जानकारी छैन भने पूर्वकार्यकारी निर्देशकले यसलाई क्यापिटल फ्लाइट भनेका छन्।

२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि अवैधानिक बाटो हुँदै युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा नेपालीको लगानी बढेको छ ।

जेनजी आन्दोलनमा उद्योगी–व्यवसायीका व्यक्तिगत सम्पत्तिमा तोडफोड र आगजनी गरिएपछि पूँजी पलायन बढको हो ।

त्यसै पनि नेपालको औपचारिक र अनौपचारिक अर्थतन्त्रको आकारमा खासै धेरै अन्तर छैन । नेपाल राष्ट्र बैंकको सहयोगमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको एक अध्ययन अनुसार अनौपचारिक अर्थतन्त्र हिस्सा ४२ प्रतिशतको हाराहारी छ भने औपचारिक अर्थतन्त्र हिस्सा ५८ प्रतिशत छ ।

यस्तो अवस्थामा पूँजी पलायन जोखिम सधैं हुने भए पनि जेनजी आन्दोलनपछि निराश उद्योगी–व्यवसायीको चिया गफमा समेत आफ्नो सम्पत्ति सुरक्षित गर्न पनि विदेश लैजानुपर्ने तर्क गर्ने गरेका छन् ।

नेपालमा लगानी गर्ने, उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने भनेर व्यक्तिगत सम्पत्ति नै जोखिममा राख्न नहुने एक व्यवसायीले बताए ।

‘पछिल्लो समय व्यावसायिक घरानाले समेत विदेशमा लगानी गर्ने योजना सहित काम सुरु गरेका छन्,’ ती व्यवसायीले भने, ‘व्यवसायी मात्र नभई व्यक्तिगत रूपमा पनि सम्पत्ति जोगाउन विदेश लैजानै पर्ने भयो ।’

ती व्यवसायीका अनुसार व्यवसायीले मात्र नभई सम्पत्ति भएका सर्वसाधारणले समेत दुबईमा लगानी गर्न थालेको उनले बताए ।

जेनजी आन्दोलन लगत्तै पूर्व अर्थमन्त्रीहरूको फोरमले पनि पूँजी पलायनको खतरा उच्च दरमा बढेको निष्कर्ष निकालेको थियो । फोरमको छलफलमा व्यक्तिगत सम्पत्ति समेत जोखिममा परेपछि स्वदेशको सम्पत्ति बेचबिखन गरेर विदेश लैजाने क्रम बढ्न थालेको भन्दै उनीहरूले स्वदेशमा लगानी गर्ने वातावरण विकास गर्न सरकारलाई सुझाएका थिए ।

समाजिक सञ्जाललहरूमा देखिएका विज्ञापन हेर्दा पनि ती व्यवसायीको सामूहिक गफ तथा पूर्व अर्थमन्त्रीहरूको चासोमा केही हदसम्म विश्वसनीयता रहेको देखिन्छ । सामाजिक सञ्जाल फेसबुकमा दुबईका विभिन्न प्रपर्टीमा लगानीका लागि अफर राख्दै विज्ञापन गरेको देखिन्छ ।

नेपालको झन्डासमेत प्रयोग गरेर विज्ञापन बनाइ सामाजिक सञ्जालमा प्रचार प्रसार हुँदै आएको छ । विज्ञापनमा दुबईको रियलइस्टेट (घरजग्गा) मा लगानी गर्दा हुने फाइदा समेत उल्लेख गरिएको छ ।

दुबईमा अपार्टमेन्ट खरिद गर्दा वार्षिक भाडा आम्दानी, दुबईको गोल्डेन भिसा, सम्पत्ति र आयकरमा छुट लगायत अफर छन् । ती सम्पत्तिको मूल्य भने साढे २ करोड देखि ५ करोड रुपैयाँसम्मका छन् ।

केही नेपालीले दुबईमा सम्पत्ति खरिद गर्न मध्यस्थकर्ताका रूपमा काम समेत गर्ने गरेका छन् । नेपालीलाई दुबईमा अपार्टमेन्ट खरिद गराउँदै आएका एक मध्यस्थकर्ताका अनुसार पनि पछिल्लो समय नेपालका धनाढ्य परिवारले आफ्नो सम्पत्ति सुरक्षा गनै भन्दै दुबईमा अपार्टमेन्ट खरिद गर्ने क्रम बढेको छ ।

उनका अनुसार पछिल्लो समय करिब १० अर्ब रुपैयाँभन्दा धेरै दुबईमा लगानी भएको छ । नेपालीले विदेशमा लगानी गर्न कानुन अनुसार सहज छैन । विदेशमा लगानी गर्नै पाइँदैन भन्दा पनि फरक पर्दैन । दुबईमा बढेको लगानी गैरकानुनी हो ।

भारतसँगको खुला सीमाका कारण गैरकानुनी बाटोबाट नेपालीले दुबईमा सहज लगानी लैजाने गरेको देखिन्छ । त्यसका लागि उनीहरूले हुन्डी तथा भारतसँगको खुला सीमा धेरै प्रयोग गर्ने गरेको ती मध्यस्थकर्ताको भनाइ छ ।

विदेशमा लगानी बढेको विषयबारे नेपाल राष्ट्र बैंकलाई जानकारी छैन । दुबईमा अपार्टमेन्ट किन्न नेपालमा विज्ञापन बढिरहेको र नेपालीको लगानी पनि बढेको विषलाई लिएर राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितसँग जिज्ञासा राख्दा त्यस विषयमा राष्ट्र बैंकमा कुनै जानकारी नभएको बताए ।

विदेशी विनिमयका सन्दर्भमा राष्ट्र बैंकले हेर्ने भएकाले विदेशमा अपार्टमेन्ट नै खरिद गर्न सकिने सटही सुविधा उपलब्ध नहुने भएकाले त्यस सम्बन्धमा कुनै पनि प्रसंगमा कुरा नउठेको उनको भनाइ छ ।

त्यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरीमा समेत विदेशमा लगानी बढेको विषयलाई लिएर जिज्ञासा राख्दा दुवै निकायलाई कुनै पनि जानकारी नभएको पाइयो ।

विदेशमा लगानी बढेको भनेर प्रहरीका कुनै पनि निकायमा छलफल हुने वा उजुरी पनि नआएको दुवै निकायका प्रवक्ता बताउँछन् । सरकारी नियकायको मौनता देख्दा विदेशमा गैरकानुनी लगानी बढाउन झनै मद्दत पुगेको देखिन्छ ।

विदेशमा सम्पत्ति खरिद गर्नु गैरकानुनी भएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक वासुदेव अधिकारीले बताए ।

‘पछिल्लो समय दुबईमा नेपालीले खरिद गरेको अपार्टमेन्ट खरिद भनेको क्यापिटल फ्लाइट तथा मनी लाउन्डरिङ हो,’ उनले भने ।

विदेशमा लगानी बढेको विषयमा सरकारी निकाय पनि चनाखो हुनुपर्ने उनले सुझाए । साथै, हुन्डी कारोबारलाई पनि निरुत्साहित गर्नुपर्ने उनले सुझाए ।

हुन्डी कारोबारको अवस्था 

हुन्डी कारोबार नै गैरकानुनी हो । त्यसैले यस्तो कारोबार कानुनको पालना गराउने निकायलाइ छलेर मात्रै सम्भव छ । हुन्डी कारोबार भएको वा गरेको जानकारी पाउने बित्तिकै प्रहरीले नै नियन्त्रणमा लिने र कारबाही गर्ने गर्छ ।

प्रहरी रिपोर्ट अनुसार काठमाडौ उपत्यकामा चालु आर्थिक वर्ष २०८२/८३ चार महिना अर्थात् २० कात्तिकसम्म हुन्डी कारोबारसँग सम्बन्धित ४ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामध्ये काठमाडौंमा ३ र भुक्तपुरमा एक हुन्डी कारोबारीको मुद्दा दर्ता भएको हो ।

यी ४ मुद्दामा कुल १० जना अरोपित पक्राउ परेको काठमाडौं उपत्यका प्रहरी कार्यलयले जनाएको छ । त्यसको बिगो रकम १ करोड ३ लाख रुपैयाँ छ । काठमाडौंको बिगो ९७ लाख ८८ हजार र भक्तपुरको बिगो ५ लाख रुपैयाँ रहेको कार्यलयले जनाएको छ ।

गत आव भने कुल १९ मुद्दा दायर भएका थिए । त्यसमा ३३ आरोपी पक्राउ भएका थिए । बिगो रकम ७ करोड १६ लाख रहेको प्रहरी कार्यलयले जनाएको छ ।

हुन्डी भन्नाले विदेशको आम्दानी विदेशी मुद्रामै एक व्यक्तिले जम्मा गर्ने र विदेशमा भएको आम्दानी नेपाल पठाउन चाहने व्यक्तिको प्रतिनिधिलाई नेपालमा भुक्तानी दिने प्रक्रिया हो । यो गैरकानुनी रूपमा हुने अन्तर्राष्ट्रिय कारोबार प्रक्रिया हो ।

अपार्टमेन्ट खरिद गर्दा कसरी हुन्छ भुक्तानी ?

दुबईमा अपार्टमेन्ट खरिद गर्न बढी हुन्डी प्रयोग हुने गरेको जानकार बताउँछन् । दुबईमा रहेका नेपालीले नेपाल पठाउने रकम उतै राख्ने र उनीहरूले एजेन्टको मद्दतबाट उक्त व्यक्तिको सम्बन्धित व्यक्तिलाई नेपालमा भुक्तानी दिने गर्छन् । यसरी दुबईको मुद्रालाई नेपालीले दुबईमै सम्पत्ति खरिद गर्न प्रयोग गर्दै आएका छन् ।

हाल नेपालबाट विदेशी २ हजार ५ सय अमेरिकी डलरभन्दा धेरै लैजानु गैरकानुनी हो । तर, पछिल्लो समय डलर नगद बोकेर भारतसँगको खुला सीमा प्रयोग गरेर विदेश पैसा लैजाने गरेको एक प्रहरी अधिकृतले जानकारी दिए ।

त्यसका साथै अन्तर्राष्ट्रिय व्यापारमा अधिक र न्यून मूल्य तथा परिमाण कायम गरेर पनि विदेश पैसा लग्ने गरेको उनको भनाइ छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?