२५ कात्तिक, काठमाडौं । ‘अहिलेसम्मको मेरो सम्पत्ति भनेकै ‘पब्लिक अडिट’ हो । छोटो अवधिमा केही गर्न नसके पनि यसलाई कायमै राखेर बिदा हुन्छु ।’
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुनु केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा चन्द्रकुवेर खापुङले अनलाइनखबरसँग भनेका थिए ।
जम्माजम्मी २ महिना ९ दिन (६९ दिन) का लागि आईजीपी बनेका खापुङले यो छोटो अवधिमा आफूले सोचेअनुसार नै काम गरे ? वा साँच्चै बिर्सन लायक काम गरे ?
खापुङले आफ्नो छोटो अवधिलाई जसरी समीक्षा गरे पनि प्रहरीको इतिहासमा उनको कार्यकालमा संगठनले अपुरणीय क्षति बेहोर्यो । भौतिक, मानवीय र मनोवैज्ञानिक क्षतिको हिसाब गर्ने हो भने यो समय १० वर्षे सशस्त्र संघर्षभन्दा कम नरहेको प्रहरीहरूको बुझाइ छ ।
खापुङको कार्यकाल खादामाला लगाउँदै सकिनेदेखि दशैं-तिहार सुरक्षा केन्द्रित मात्रै हुने बुझाइ धेरैको थियो । तर परिस्थिति यस्तो बन्यो, यो समयमा प्रहरीका लागि सबै विपत्ति एकै पटक आइपर्यो । १९ भदौमा आईजीपीको जिम्मेवारी सम्हालेका खापुङले बधाई थाप्दाथाप्दै २३ भदौको जेनजी आन्दोलन सुरु भयो ।
सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचारको अन्त्य र सुशासन लगायत माग राखेर सुरु भएको जेनजी आन्दोलनले खापुङको ‘पुलिसिङ’को नाडी छाम्यो । शान्तिपूर्ण आन्दोलन हुने भनिएको पहिलो दिनमै प्रहरीका ब्यारिकेड तोडिए ।
निषेधित क्षेत्र जोगाउन प्रहरी पूर्णतः असफल रह्यो । संसद् भवनका प्रहरीका सेन्ट्री पोस्टमा आन्दोलनकारी पुगेर सेल्फी हाने । संसद् भवन आन्दोलनकारीको निशानामा पर्यो ।
संसद् भवन छिर्नबाट रोक्न असफल प्रहरीले गोली चलायो । प्रहरीको गोली लागेर प्रदर्शनकारी भकाभक सडकमा ढले । पूर्वसूचना संकलनमा प्रहरी चुक्यो, भिड नियन्त्रण पूर्ण रूपमा असफल भयो । प्रदर्शनमा उत्रिएका निहत्था विद्यार्थीको ज्यान गयो ।

निषेधित क्षेत्र अगाडि नै प्रहरीले प्रदर्शनकारीलाई रोक्न सकेको भए यति ठूलो मानवीय क्षति हुने थिएन । यसमा असफल भएको जस/अपजस स्वाभाविक रूपमा नेतृत्वको हिसाबले खापुङमाथि जाने नै भयो ।
पहिलो दिनको घटनाबाट झस्केको प्रहरी भोलिपल्ट २४ भदौमा निरीह देखियो । कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आयो । ज्यान जोखाउन हात उठाएर आत्मसमर्पण गर्नुपर्नेदेखि बर्दी फुकालेर प्रहरी भाग्नुपर्यो ।
देशभरका प्रहरी कार्यालय तोडफोड र आगजनी भए । ३ प्रहरी मारिए । २३ र २४ गतेको घटनामा प्रहरी पूर्णतः असफल देखियो । पूर्वसूचनादेखि आन्दोलनको रणनीति बनाउनै प्रहरी असफल रह्यो । जेनजी घटना प्रहरी इतिहासमा बिर्सन लायक बन्यो ।
अबको केही दिनमा आईजीपी खापुङ प्रहरी सेवाबाट बिदा भए पनि २३ र २४ भदौको घटनाले उनलाई प्रश्न गरिरहनेछ- हतियार सुम्पेर प्रहरी भाग्ने अवस्था किन आयो ?, आन्दोलन नियन्त्रणमा प्रहरी कहाँ चुक्यो ?
सुरक्षामा चुक भएको विषय आईजीपी खापुङले सार्वजनिक रूपमा स्वीकारेका छन् । प्रहरीले गोली चलाउनुपर्ने अवस्थाका बारेमा भने त्यतिबेलाको परिस्थितिको उपज भनेर सञ्चारमाध्यममा अभिव्यक्ति दिइसकेका छन् ।
यो अभिव्यक्ति पनि विरोधाभास बन्यो । जेनजी समूह लगायतले त्यतिबेलाको सरकारको नेतृत्वलाई जोगाउने गरी अभिव्यक्ति दिएको रूपमा बुझे । अर्का एकथरीले भने खापुङले सत्य बोलेको भन्दै प्रचार गर्नेसम्मको काम भयो ।
प्रहरी संगठन तथा फिल्डमा खटिएका प्रहरी कर्मचारीका लागि उनले अडान राखेको भन्दै संगठनभित्र राम्रै चर्चा पायो । सँगै घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगलाई असहयोग गरेको आरोप खापुङले खेपे ।
०००
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा भने प्रहरी सम्हालिएर काम गर्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी पर्यो । उनीहरूलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै मृतकको परिवारले परिवारमा जाहेरी दिए ।
यसविरुद्ध एमालेकै भ्रातृ संगठन युवा संघको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि हामी नेपालीका संस्थापक सुदन गुरुङविरुद्ध काउन्टर जाहेरी पर्यो ।
ओली, लेखकलाई तत्कालै पक्राउ गरेर कारबाही गर्नुपर्ने दबाब प्रहरीमा आयो । दुवैतर्फको काउन्टर जाहेरीले स्थिति फेरि मुठभेडको अवस्थामा पुगेको भान भयो ।

तर, यो परिस्थितीलाई भने प्रहरीले सुझबुझपूर्ण तरिकाले किनारा लगायो । तत्कालै पक्राउ गरिहाल्दा मुद्दाको ग्राभिटी र निम्तिन सक्ने मुठभेडबारे विश्लेषण गरेर प्रहरीले दुवै जाहेरीलाई तामेलीमा राख्न सरकारी वकिल कार्यालयमा पठायो । सरकारी प्रहरीको रायअनुसार जाहेरी तामेलीमा राखेपछि अर्को सुरक्षा जोखिम तत्काललाई टरेको थियो ।
घटनाबारे जाँचबुझ आयोगले जाँच गरिरहेकाले अहिले नै प्रहरीले कारबाही गरिहाल्नु हुन्न भन्ने अडान खापुङको थियो । यो अडानले मुठभेड टरेको प्रहरीभित्र चर्चा हुने गर्छ ।
यता, जेनजी समूहले भने प्रहरीको यही रणनीतिलाई लिएर आलोचना गरेका छन् ।
०००
जेनजी आन्दोलनमा प्रहरीले आफ्ना कार्यालय, हातहतियार जोगाउन सकेन । यति मात्रै होइन, महत्वपूर्ण सरकारी संरचना पनि जले । सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, जिल्ला अदालत तोडफोड र आगजनी भए ।
व्यक्तिका निजी सम्पत्तिदेखि, नेताका घर निशानामा परे । आन्दोलनको क्रममा बैंक लुट्नेसम्मका कामहरू भए । तर सबै थोक गुमाएर कमजोर बनेको प्रहरीले कसरी काम गर्ला भन्ने शंका थियो ।
तैपनि, स्रोत-साधनविहीन प्रहरीले जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरूलाई धमाधम पक्राउ गर्यो ।
बैंक लुट्नेदेखि प्रहरीको हत्या गर्ने, आगजनी र तोडफोड गर्ने, प्रहरीका हतियार लुट्ने, व्यक्तिका घरहरू लुट्ने समातिए ।
अहिले उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । केही पुर्पक्षका लागि कारागार चलान भएका छन् । केही भने धरौटीमा रिहा भएका छन् । यसले एउटा सकारात्मक सन्देश दिएको छ ।
०००
खापुङको कार्यकालमा प्रहरी संगठनले सम्झने एउटा राम्रो कामको सूचीमा किरियापुत्री भवन पर्छ । आईजीपीको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णयका रूपमा उनले प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूका लागि किरियापुत्री भवन बनाउने घोषणा गरे ।
कार्यभार सम्हालेसँगै बसेको नीति निर्माण समिति (पीसीसी) को बैठकले यो निर्णय गर्यो । प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत किरियापुत्री भवनका शिलान्याससमेत खापुङले गरिसकेका छन् ।
जेनजी घटनामा सुरक्षा चुकबारे औसत काम गरेका खापुङ जति विवादरहित २९ वर्ष १० महिनामा थिए, त्यति बिवादरहित यो ६९ दिनमा बन्न सकेनन् । लो प्रोफाइलमा बसेर विवादरहित तरिकाले काम गर्ने खापुङ उत्तरार्धमा भने चर्चा र विवादको गोलचक्करमा परे । राम्रो गर्न नसके पनि नराम्रो नगर्ने बताउने कार्यकालको अन्त्यतिर सुरक्षा समन्वयको अगुवाईमा चुके ।
जेनजी आन्दोलनमा केही सुरक्षा चुक भएको बताए पनि त्यसपछिको घटनामा भने प्रहरीले उत्कृष्ट ढंगले काम गरिरहेको दाबी गर्छन् ।
उत्तरार्धमा जेनजी आन्दोलनको चक्रमा विवाद तानिएका खापुङ ३० वर्षे कार्यकाल सकेर यही कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाश जाँदैछन् ।
प्रतिक्रिया 4