+
+
Shares

पार्टी निर्माणमा जेनजी : कुन समूह के गर्दैछन् ?

जेनजी फ्रन्टभित्र तीन विकल्पमा छलफल चलिरहेको छ । जेनजी मुभमेन्ट अलायन्स आफ्नै उम्मेदवार खडा गर्दैछ भने सुदन गुरुङ समूह उज्यालो नेपालमा जोडिँदै छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ कात्तिक २५ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौको जेनजी आन्दोलनपछि पुराना दल पुनर्गठन र नयाँ दल गठनको प्रक्रिया चलिरहेको छ।
  • जेनजी फ्रन्टले दल गठन नगरी संगठन विस्तार, गठबन्धन निर्माण र दीर्घकालीन तयारीमा जोड दिएको छ।
  • जेनजी मुभमेन्ट अलायन्सले आगामी २१ फागुनको संघीय चुनावमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने रणनीति बनाएको छ।

२५ कात्तिक, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनपछि पुराना दलहरू पुनर्गठन र नयाँ दलहरू गठनको प्रक्रिया चलिरहेको छ । यही मेसोमा आन्दोलनमा जोडिएका जेनजीहरू पनि दल बनाउने कसरतमा लागेका छन् ।

राजनीतिक दल बन्दा कसरी बनाउने, नबन्दा कसरी अघि बढ्ने भन्ने विकल्पमा समेत जेनजीभित्र छलफल चलिरहेको छ । वैकल्पिक शक्ति आउनुपर्छ भनेर लागिपरेका हरेक व्यक्ति र समूहसँग विभिन्न समूहले छलफल गरिरहेका छन् ।

यस्तो अवस्थामा कुन जेनजी समूहका रणनीति के छन् ? उनीहरू कसरी अघि बढिरहेका छन् ? दल दर्ता गरेर प्रमाणपत्र लिनुपर्ने समय नजिक आइसक्दा उनीहरूको सक्रियता कस्तो छ ?

जुन आन्दोलनले संसद् विघटन गराएर प्रतिनिधिसभाको चुनाव अगाडि ल्यायो, त्यही चुनावमा आन्दोलनकारी स्वयं उम्मेदवारको रूपमा सहभागी हुन्छन् हुँदैनन् ?

यसको लागि उनीहरुले कसरी काम गरिरहेका छन् ? यिनै प्रश्न हामीले विभिन्न जेनजी समूहका अगुवाहरूलाई सोधेका छौँ ।

जेनजी फ्रन्टभित्र तीन विकल्पमा छलफल

जेनजी फ्रन्टले आगामी चुनावका लागि तत्काल दल गठन वा चुनाव चिह्नको खोजीमा नलागी संगठन विस्तार, गठबन्धन निर्माण र दीर्घकालीन तयारीमा जोड दिएको छ । फ्रन्टका एक सदस्यका अनुसार, समूहभित्र तीन प्रमुख विकल्पमा छलफल भइरहेको छ ।

पहिलोः नागरिक समाजकै रूपमा सडकमा रहने, दोस्रो: अर्को चुनावका लागि संगठन विस्तार गरी मजबुत बन्ने र तेस्रो: विद्रोहलाई संस्थागत गर्न अन्य दल वा समूहसँग अलाइनमेन्ट गरेर जाने ।

यसमा पनि विशेषगरी आगामी चुनावमा कसरी जान्ने भन्ने विकल्पमा छलफल भइरहेको छ । यसका लागि दल बनाउने, तर कसको नेतृत्वमा कसरी जाने भन्ने विषयमा पनि संवाद चलिरहेको एक सदस्यले बताए । ‘केही दिनअघि त रक्षा बम वा रन्जु दर्शना, कसलाई नेतृत्व मान्ने भन्नेसम्मका छलफल भएका थिए । तर अहिले त्यसबाट पनि कोर्स अघि बढिसकेको छ,’ ती सदस्यले भने ।

विभिन्न राजनीतिक समूहबाट पनि प्रस्ताव जेनजी फ्रन्टलाई आएको छ । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिहरू, कुलमान घिसिङ निकट व्यक्ति, सुदन गुरुङ समूह, रन्जु दर्शना, सुमना श्रेष्ठलगायत वैकल्पिक शक्तिको लागि गृहकार्य भएका सबै शक्तिसँग फ्रन्टको छलफल चलिरहेको छ ।

विवेकशील साझाले त यदि सबै सकारात्मक भए पार्टीको नाम र चिह्नसमेत परिवर्तन गर्न तयार रहेको भन्दै प्रस्ताव गरेको थियो । तर यस्ता प्रस्तावलाई लिएर अझै ठोस निस्कर्षमा अझै पुगिनसकेको फ्रन्टका एक सदस्यले बताए ।

‘कतै केन्द्रीय कमिटीमा नाम माग्दै वा सँगै अघि बढौँ भन्दै प्रस्ताव आइरहेका छन् । तर अब ३० गतेसम्म अझै कति दल दर्ता होलान् वा केही होला । तत्काल केही नआए पनि त्यसपछि दर्ता भएकैसँग अलायन्स गरेर जाने विषयमा पनि त सोच्न सकिन्छ,’ उनले भने, ‘त्यसैले अहिले नै अब यो तरिकाले जान्छौँ भन्ने केही छैन । हरेक विकल्पमा काम भइरहेको सत्य हो ।’

यदि कुनै दलमा नजोडिएको अवस्थामा के हुन्छ त ? जेनजी फ्रन्टभित्रै स्वतन्त्र उम्मेदवार उठाएर जाने सम्भावनाबारे पनि छलफल भएको छ । यदि फ्रन्टका सदस्य व्यक्तिगत वा कुनै समूहमा रहेर चुनाव लड्छन् भने फ्रन्टले पूर्ण समर्थन गर्नेछ । ‘कुनै दल वा कतै जोडिएनौँ भने पनि स्वतन्त्र उम्मेदवारी दिएर हाम्रा कतिपय साथीहरू चुनावमा जानुहुन्छ । त्यसमा फ्रन्टले सघाउँछ,’ ती अगुवाले भने ।

आफ्नै उम्मेदवार खडा गर्दै जेनजी मुभमेन्ट अलायन्स

आन्दोलनको जगमा उभिएको जेनजी मुभमेन्ट अलायन्सले भने आगामी २१ फागुनको संघीय चुनावमा पार्टी गठन नगरी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्ने रणनीति बनाएको छ ।अलायन्सका प्रतिनिधिहरूले तत्काल दल बनाएर नजाने बताएका छन् ।

भविष्यमा दलीय राजनीतिमा जाने भनिए पनि तत्कालको लागि स्वतन्त्र मोर्चाबन्दीमार्फत चुनावमा होमिने योजना यो समूहको छ । अलायन्सभित्र रहेकै व्यक्तिहरूलाई स्वतन्त्र उम्मेदवारको रूपमा खडा गरेर क्याम्पेन गर्ने योजना बनाएको यो समूहले जिल्ला तहमा संगठन विस्तारको काम गरिरहेको छ ।

‘हामी अहिले जिल्ला-जिल्ला पुगिरहेका छौँ, संगठित हुन । अझै काठमाडौं बाहिरका भूगोल र परिस्थिति हामीले बुझ्न बाँकी छ । धेरै कुरा सिक्दै छौँ,’ अलायन्सका अगुवा अमित खनाल ‘ऊर्जा’ ले भने, ‘तर यो पटक अलायन्सका इच्छुक साथीहरू चुनाव लड्नुहुन्छ । त्यसमा हामी लाग्छौँ । चुनाव लड्नेहरूको सूची बनाउँदै छौँ । सायद ३५ जना जति हुनुहुन्छ होला ।’

यसरी अहिले स्वतन्त्र चुनाव लड्ने यो समूहले आगामी प्रदेश र स्थानीय तहको चुनावबाट भने पार्टी नै बनाएर जाने तयारी गरेको छ । यसरी भविष्यमा दल बनाएर जाने उद्देश्य बोकेको यो समूहले सांगठनिक संरचना पनि सोहीअनुरूप तयार गर्दै लैजाने छ । यसको लागि केही दिनमै समूहको दस्तावेज सार्वजनिक गरेर मंसिरमा अधिवेशन गर्ने योजना पनि अलायन्सको छ ।

खनाल भन्छन्, ‘मुख्य लक्ष्य स्थानीय तह र प्रदेश हो, त्यसमा यसलाई दल बनाएर लैजान्छौं । त्यसका लागि मंसिरमा राष्ट्रिय अधिवेशन बोलाउँदै छौँ । यो अधिवेशनले नै पछि दलको रूप लिन सक्छ । छिट्टै दस्तावेज र हाम्रा सिद्धान्तहरू पनि सार्वजनिक गर्नेछौँ ।’

अलायन्सले अन्य जेन्जी समूहहरूसँग सहकार्यको ढोका खुला राखे पनि यसका केही सर्त छन् । संविधानका आधारभूत कुरा मानेर अघि बढ्न चाहने समूहसँग छलफल हुने अलायन्सले जनाएको छ ।

जेनजी मुभमेन्ट अलायन्सका अर्का एक सदस्यका अनुसार यो समूहलाई विभिन्न समूहले प्रस्तावसमेत गरिरहेका छन् ।

आफ्नो दलमा जोडिन वा नयाँ दल निर्माणमा सहयोग गर्न भन्दै प्रस्ताव आइरहेको छ । सुदन गुरुङ समूह, रक्षा बमको जेनजी फ्रन्ट लगायतसँग संवाद भएको ती सदस्यले जानकारी दिए । ‘सुदन गुरुङको तर्फबाट जेम्स कार्की लगायतले त हाम्रा केही प्रतिनिधिसँग छलफल नै गर्नुभएको थियो । अरू समूहले पनि सम्पर्क गर्नुभएको छ ।

तर हामी तत्काल दलको रूपमा कतै जोडिएर जाने मनसायमा छैनौँ,’ ती सदस्यले भने ।

विवेकशील साझा पार्टीबाट रन्जु दर्शना लगायतले अनौपचारिक प्रस्ताव पनि यो समूहलाई गरेका थिए । यसबाहेक, वैकल्पिक शक्ति बनाउन गृहकार्य गरिरहेका सागर ढकाल, सुमना श्रेष्ठ लगायतले पनि छलफल गरेका थिए । त्यस्तै पुराना दलबाट पनि यो समूहसँग नयाँ ढंगले जानेबारे प्रस्ताव नआएको हैन । ती सदस्यका अनुसार तत्कालीन नेकपा मओवादी केन्द्रबाट जनार्दन शर्मा र सुदन किराँतीले पनि नयाँ ढंगले अघि बढ्ने विषयमा प्रस्ताव गरेका थिए ।

‘उहाँहरूले माओवादी रहँदा नै कुनै नयाँ तरिकाले जेनजीसँग सहकार्य गरेर जान सकिन्छ कि भन्नेबारे प्रस्ताव गर्नुभएको थियो । तर हामीले त्यसमा त्यति चासो नदेखाएपछि यो विषय नै रोकिएको थियो,’ अलायन्सका एक अगुवाले भने ।

सुदन समूहको उस्तै प्रयास

सुदन गुरुङले पनि विभिन्न प्रयास गरे । विभिन्न विकल्पमा छलफल गरेका उनी अन्तत: कुलमान घिसिङ जोडिएको दल उज्यालो नेपालमा जोडिने भएका छन् ।

तत्कालको लागि आफैँ नगए पनि उनी निकट र उनको समूहका केही व्यक्ति उक्त पार्टीमा रहने छन् । उनको समूहका केही प्रदेश संयोजकको नाम पनि उक्त पार्टीको केन्द्रीय कमिटीमा सिफारिस भएको छ ।

त्यसअघि उनले पनि विभिन्न विकल्पमा प्रयास गरेका थिए । ओजस्वी थापा, जेम्स कार्की लगायतका व्यक्तिलाई अघि सारेर अन्य समूहसँग राजनीतिक संवाद गरेका थिए । जेनजी मुभमेन्ट अलायन्स, जेनजी फ्रन्ट लगायतका समूहसँग पनि यसले छलफल व्यापक बनाएको थियो ।

पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेनसँग पनि यसले छलफल गरेको थियो । कुलमान घिसिङसँग जोडिनुपूर्व पनि यो समूहले त्यो अन्य समूहसँग छलफल गरेको थियो ।

मिलेसम्म काठमाडौंका मेयर बालेनसँग मिलेर पार्टी ल्याउने कसरत पनि यो समूहले गर्‍यो । तर कतै सहमतिको बिन्दु नभेटेपछि अन्तत: यो सुदनको कुलमान घिसिङको पार्टी उज्यालो नेपालमा मिसिएको हो ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिहरू, कुलमान घिसिङ निकट व्यक्ति, सुदन गुरुङ समूह, रन्जु दर्शना, सुमना श्रेष्ठलगायत वैकल्पिक शक्तिको लागि गृहकार्य भएका सबै शक्तिसँग फ्रन्टको छलफल चलिरहेको छ ।

विवेकशील साझाले त यदि सबै सकारात्मक भए पार्टीको नाम र चिह्नसमेत परिवर्तन गर्न तयार रहेको भन्दै प्रस्ताव गरेको थियो । तर यस्ता प्रस्तावलाई लिएर अझै ठोस निस्कर्षमा अझै पुगिनसकेको फ्रन्टका एक सदस्यले बताए ।

‘कतै केन्द्रीय कमिटीमा नाम माग्दै वा सँगै अघि बढौँ भन्दै प्रस्ताव आइरहेका छन् । तर अब ३० गतेसम्म अझै कति दल दर्ता होलान् वा केही होला । तत्काल केही नआए पनि त्यसपछि दर्ता भएकैसँग अलायन्स गरेर जाने विषयमा पनि त सोच्न सकिन्छ,’ उनले भने, ‘त्यसैले अहिले नै अब यो तरिकाले जान्छौँ भन्ने केही छैन । हरेक विकल्पमा काम भइरहेको सत्य हो ।’

यदि कुनै दलमा नजोडिएको अवस्थामा के हुन्छ त ? जेनजी फ्रन्टभित्रै स्वतन्त्र उम्मेदवार उठाएर जाने सम्भावनाबारे पनि छलफल भएको छ । यदि फ्रन्टका सदस्य व्यक्तिगत वा कुनै समूहमा रहेर चुनाव लड्छन् भने फ्रन्टले पूर्ण समर्थन गर्नेछ ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?