पृथ्वीमा धेरै प्रकारका रंगिन जीवहरू छन् । त्यसमध्ये केही जनावरहरू यस्ता छन्, जसले आफ्नो शरीरको कालो र सेतो रङका कारण अलगै पहिचान बनाएका छन् ।
चीनका जङ्गलदेखि अफ्रिकाका मैदानसम्म पाइने यी ब्ल्याक एन्ड ह्वाइट जनावरहरूको रङका पछाडि अनेक वैज्ञानिक कारण लुकेको हुन्छ ।
इङ्ग्ल्यान्डको युनिभर्सिटी अफ ब्रिस्टलमा गरिएको एउटा अध्ययन अनुसार, जेब्राको शरीरमा भएको कालो र सेता धर्काले त्यसलाई किराको टोकाइबाट जोगाउँछ ।
उक्त अनुसन्धानका लेखक डा. मार्टिन हाउ भन्छन्-जेब्रामा यतिधेरै धर्का किन हुन्छन् भन्ने प्रश्नले मलाई सधैं आकर्षित गरेको छ ।
अध्ययन अनुसार हर्सफ्लाइ नामक रगत चुस्ने किरा जेब्राको धर्कायुक्त शरीरमा भ्रमित हुन्छ र टोक्दैन ।
डा. हाउले घोडा र जेब्राजस्ता जनावरहरूमा विभिन्न किसिमका कपडा ओढाएर परीक्षण गरे । त्यसको नतिता के देखियो भने खैरो कपडा ओढेका घोडाको शरीरमा किरा बसे तर जेब्राको जस्तो धर्के कपडा ओढाउँदा भने किराहरू टाढा भागे ।
डा. हाउ भन्छन् – कीराहरू नजिक आउन लाग्दा सुरुमा त उनीहरुले केवल एउटा मात्रै खैरो धब्बा देख्छन् । तर, जब दुई मिटर नजिक पुग्छन् त्यस्ता सेतो र कालो धर्का देखेपछि उनीहरू भ्रमित भएर फर्किन्छन् ।
शिकारीबाट जोगिन रङको भूमिका

जनावरको शरीरमा हुने कालो तथा सेतो धर्काहरुले केवल किराबाट मात्रै जोगाउँछन् भन्ने होइन। पाण्डाको कालो र सेतो शरीरले उसलाई सिकारीबाट लुक्न पनि सहयोग पुर्याउँछ।
प्रो. टिम कारोका अनुसार, चिनियाँ हिमालयका जंगलमा बरफ, चट्टान र रुखका जराहरु काला-सेता देखिन्छन्। त्यसैले ५०-१०० मिटर टाढाबाट पाण्डा र वातावरण छुट्याउन कठिन हुन्छ ।
यस्तै, जेन्टु पेंगुइनका कालो खुट्टा र सेतो पेटले पनि तिनलाई समुद्री शिकारीबाट जोगाउँछन् । डा. हन्ना रोल्यान्डका अनुसार, तलबाट हेर्दा सेतो पेट आकाशजस्तै देखिन्छ भने माथिबाट हेर्दा कालो भाग पानीको गाढा पृष्ठभूमिसँग मिल्छ ।
खतरा जनाउने चेतावनीको रङ
कुनै जनावरको सरीरमा हुने कालो–सेतो रङ्ग भने शिकारीलाई चेतावनी दिने संकेत हो । जस्तै, स्कङ्कको शरीरमा हुने सेतो धर्का तथा कालो छालाले सिकारीलाई संकेत गर्छ-म खतरनाक छु, ममाथि हमला नगर्नु ।
स्कङ्कले आफ्नो शरीरबाट अत्यन्त दुर्गन्धित तरल पदार्थ निकाल्छ, जुन सिकारीका लागि असह्य हुन्छ ।
प्राध्यापक कारोका अनुसार जहाँ धेरै सिकारी हुन्छन्, त्यहाँ शरीरका धर्काहरू अझ स्पष्ट हुन्छन्।

समूहमा सन्देश दिने संकेत
काला र सेता रङले कहिलेकाहीँ समूहमा सन्देश आदानप्रदान गर्न पनि मद्दत गर्छ । रिङ टेल्ड लिमर यसको उदाहरण हो। यी जनावरहरू खैरो हुन्छन्, तर तिनको पुच्छर कालासेता धर्कायुक्त हुन्छ।
टिम कारो भन्छन्, – जब लिमर समूहमा हिँड्छन्, उनीहरूले पुच्छर सिधा उठाउँछन् । यसको संकेत हो, ‘म यहाँ छु, मेरो पछाडि आउ ।’ यस्तै, बाघका कान पछाडि भएका सेता धब्बाले पनि यस्तै सन्देश दिने काम गर्न सक्छन् ।
ताप नियन्त्रण र थप कारणहरू

उता जेन्टु पेंगुइनमा मेलेनिन नामक पिग्मेन्टले पखेटालाई मौसमको प्रभावबाट जोगाउँछ र शरीरको तापक्रम सन्तुलनमा राख्छ ।
डा. रोल्यान्डका अनुसार, काला सतहले सेता सतहभन्दा बढी ताप अवशोषण गर्छ ।
पेंगुइनहरूले कहिले काँही आफ्नो पिठ्युँ घामतिर वा पेट छायातिर फर्काएर ताप नियन्त्रण गर्ने उनको भनाइ छ ।
– बीबीसीबाट
प्रतिक्रिया 4