वैज्ञानिकहरूले अल्बानिया र ग्रीसको सीमामा अवस्थित सल्फर गुफामा विश्वकै सबैभन्दा ठूलो माकुराको जालो फेला पारेका छन् । यो जालो १०६ वर्ग मिटर (झण्डै १,०४० वर्ग फिट) क्षेत्रमा फैलिएको छ, जुन आधा टेनिस कोर्टजति ठूलो हो ।
यस जालोमा दुई फरक प्रजातिका करिब एक लाख ११ हजार माकुराहरू एउटै स्थानमा शान्तिपूर्वक बसिरहेका छन्। सामान्यतया एक-अर्काका शत्रु हुने यी माकुराहरू पहिलोपटक एउटै जालोमा सहअस्तित्वमा देखिएका हुन् ।
यो अद्भूत खोज सन् २०२२ मा चेक स्पेलियोलोजिकल सोसाइटीका गुफा-अन्वेषकहरूले गरेका हुन् । व्रोमोनर क्यानियनको सल्फर गुफाको अन्वेषण गर्दैगर्दा उक्त जालो फेला परेको हो ।
पछि २०२४ मा रोमानियाको स्यापिएन्टिया हङ्गेरियन युनिभर्सिटी अफ ट्रान्सिल्भेनियाका जीवविज्ञानिक डा. इश्तवान उराक र उनको टोलीले गुफाबाट नमूना सङ्कलन गरेका थिए । डिएनए परीक्षणपछि उक्त जालो टेगेनारिया डोमेस्टिका र प्राइनेरिगोन भागान्स गरी दुई फरक प्रजातिका माकुराहरूले मिलेर बनाएको तथ्य पुष्टि भयो। यो शोध हालै सबटेरेनियन बायोलोजी नामक वैज्ञानिक पत्रिकामा प्रकाशित भएको छ ।
सल्फर गुफा अँध्यारो र विषालु वातावरण भएको स्थान हो, जहाँ हाइड्रोजन सल्फाइड ग्यासले हावालाई विषालु बनाएको हुन्छ।
सोही गुफाको पर्खालमा फैलिएको यो विशाल सामूहिक जालो विश्वकै सबैभन्दा ठूलो माकुरोको जालो मानिएको छ । अध्ययन अनुसार उक्त गुफामा करिब ६९ हजार Tegenaria domestica र ४२ हजारभन्दा बढी Prynerigone vagans माकुराहरू रहेका छन् ।
सामान्य अवस्थामा एक-अर्काको सिकार गर्ने यी माकुराहरू गुफाको अन्धकारमा दृष्टि कमजोर भएकाले एक-अर्कालाई नचिनेका कारण मिलीजुली बसिरहेका छन् । यो माकुराहरूको व्यवहारमा देखिएको अनौठो परिवर्तन हो ।
वैज्ञानिकहरूले यो गुफालाई आत्मनिर्भर पारिस्थितिक प्रणाली भनेका छन् । यहाँ सूर्यको प्रकाश नभए पनि केमोअटोट्रोफी नामक रासायनिक ऊर्जामा आधारित प्रणालीमार्फत जीवन चलिरहेको छ ।
गुफाभित्रको सल्फरयुक्त पानीबाट निस्किने हाइड्रोजन सल्फाइड ग्यासले सल्फर-अक्सिडाइजिङ ब्याक्टेरिया उत्पन्न गर्छ, जसले सेतो बायोफिल्म बनाउँछ। यो बायोफिल्म मिड्ज नामका साना कीराहरूको भोजन हो। ती कीराहरू गुफाका तालहरूमा अण्डा दिन्छन् र हावामा उड्छन्, जसलाई माकुराहरूले खानाको रूपमा प्रयोग गर्छन् ।
माकुराको पेटको विश्लेषणमा सतहका माकुराहरूको तुलनामा ब्याक्टेरियाको मात्रा कम देखिएको छ । डीएनए परीक्षणले यी माकुराहरू गुफाको चरम परिस्थितिमा अनुकूल बनेका प्रमाणित गरेको छ। डा. उराकका अनुसार कुनै प्रजातिहरूमा यस्तो आनुवंशिक लचिलोपन हुन्छ कि तिनीहरूले अत्यन्त कठिन अवस्थामा नयाँ व्यवहार विकास गर्छन् ।
यो खोजले माकुराहरूको व्यवहारबारे वैज्ञानिक बुझाइलाई नयाँ दिशा दिएको छ। पहिले कहिल्यै नदेखिएको सहअस्तित्वले देखाउँछ कि चरम वातावरणमा जीवनले नयाँ बाटो खोज्न सक्छ ।
वैज्ञानिकहरूले यो गुफा अल्बानिया र ग्रीसको साझा सम्पदा भएको भन्दै दुवै देशले मिलेर यसको संरक्षण गर्नुपर्ने बताएका छन्। हाल यो गुफा र त्यहाँ रहेका माकुराहरुमाथि थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया 4