२६ कात्तिक, काठमाडौं । संविधानविद् खिमलाल देवकोटाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता समेत रहेका उनले निर्वाचनमार्फत प्रतिनिधि पुन:स्थापना गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
मंगलबार नेपाल कानून समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचन: चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता देवकोटाले वर्तमान सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने मुख्य जिम्मेवारी पाएकाले त्यसभन्दा दायाँबायाँ सोचेर अघि बढ्न नमिल्ने तर्क समेत गरे ।
‘प्रतिनिधि सभाको विघटन भएको हो । त्यो प्रतिनिधिसभाको निर्वाचनमार्फत पुन:स्थापना गर्ने कुरा हो । दोस्रो कुरा, यो सरकारले निर्वाचन घोषणा गरेको पनि होइन,’ उनले भने, ‘राष्ट्रपति फागुन २१ गते निर्वाचन गर्ने तपाईको जिम्मेवारी हो भनेर टिओआर दिनुभएको हो । यो सरकारले फागुन २१ गते चुनाव गर्नका लागि मन्जुर गरेर त्यो कुर्सी लिएर आएको हो । त्यसकारण त्यसभन्दा भिन्न ढंगले मैले सोच्ने ठाउँ छैन । त्यसकारण निर्वाचनमार्फत् प्रतिनिधिसभा आउने कुरा चाँही महत्त्वपूर्ण कुरा हो ।’
नेता देवकोटाले मुलुकलाई अघि बढाउन प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासन व्यवस्था उपयुक्त हुने पनि बताए ।
प्रतिक्रिया 4