२५ कात्तिक, काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायाधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गरेका छन् ।
नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचन: चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दाबी गरेका छन् ।
आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताउँदै उनले कार्यक्रममा सहभागी एमाले नेता अग्नी खरेलले पूर्वन्यायाधीश र प्रधानन्याधीश प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक बताएपछि मन्त्री सिन्हाले यस्तो जवाफ दिएका हुन् ।
मन्त्री बन्ने दिन पनि एक घण्टा आफूले संविधान पढेको उनको भनाइ छ ।
‘असंवैधानिक किन रे ! भन्दाखेरी त्यो चाँही नी सरकारी पदमा बस्नको निम्ति न्यायधीशलाई बन्देज लगाएको भनेर भन्नुभयो । म सरकार पद हो की होइन यसो हेरेँ, मैले संविधान पल्टाएर हेरेँ । नपढिकन चाहीँ गएको होइन होला म त्यो दिन त्यहाँ । एक घण्टा पढ्ने मौका पाएको थिए । अरु बेला त पढेँ, त्यो धारा चाँही त्यो बेला पढेँ,’ उनले भने ।
मतदान गर्ने अधिकार दिएपछि संविधानले आफूहरूलाई उम्मेद्वार बन्न पाउने अधिकार पनि दिएको बताए । आफूहरू अफ्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएको पनि उनले बताए ।
‘मैले देखेँ मलाई भोट खसाल्ने अधिकारबाट उहाँहरूले वञ्चित गर्नु भएन, भोट खसाल्ने अधिकार दिएपछि मैले जसलाई भोट खसाल्छु, उसको ठाउँमा गएर म भोट माग्ने अधिकार, स्वतन्त्र होस् या पार्टी समातेर होस्, म उम्मेद्वार बन्ने मेरो अधिकार छ कि छैन ? मसँग अधिकार छ,’ उनले भने ।
मन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दाबी गरे ।
सरकारले हरेक राजनितिक दलका जिम्मेवार नेताहरूसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको पनि जानकारी दिए ।
प्रतिक्रिया 4