News Summary
Generated by OK AI. Editorially reviewed.- केटीहरूको सांगीतिक समूह काट्सेयले गतवर्षदेखि अनलाइनबाट ज्यान मार्ने धम्की आइरहेको बताएको छ।
- काट्सेयलाई यसवर्षको ग्रामी अवार्डमा उत्कृष्ट नयाँ कलाकारको विधामा मनोनित गरिएको छ।
- ब्यान्डका सदस्यहरूले धम्की र यौनवादी टिप्पणीले मानसिक आतंक सिर्जना गरेको उल्लेख गरेका छन्।
केटीहरूको चर्चित नयाँ सांगीतिक समूह ‘काट्सेय’ ले गतवर्षको सुरुवातदेखि आफूहरूलाई अनलाइनबाट ज्यान मार्ने धम्की आइरहेको बताएको छ ।
ब्याण्डले गतवर्षदेखि नै सांगीतिक डेब्यू गरेको थियो ।
‘द सिक्स पिस’ भनिने उक्त ब्याण्ड यसवर्षको ग्रामी अवार्डमा ‘उत्कृष्ट नयाँ कलाकार’ को विधामा मनोनित भएको छ ।
बीबीसीसँग कुरा गर्दै ब्याण्डका सदस्यले आफ्ना परिवारलाई लक्षित गर्दै धम्की आइरहेको र ‘परिणाम गम्भीर हुनसक्ने’ बताएका छन् ।
‘म आफैलाई भन्न खोज्छु कि यसले केही फरक पर्दैन, तर यदि हजारभन्दा धेरै मानिसले ज्यान मार्ने धम्की पठाइरहेका छन् भने, यो चिन्ताजनक कुरा हो’ गायिका लारा राजले भनिन् ।
भारतको तामिल मूलकी अमेरिकी नागरिक राजलाई जातीय टिप्पणी गरिएको छ र ‘अनुमति बिना संयुक्त राज्य अमेरिकामा काम गरेको र बसोबास गरेको भन्दै आइसमा झूठो रिपोर्ट गरिएको छ ।
२० वर्षीया ती गायिकाले नकारात्मक टिप्पणीबाट बच्नको लागि आफ्नो टिवर एकाउन्टलाई डिलिट गरेकी छन् ।
‘म अरूको विचारको दर्शक होइन भन्ने कुरा महसुस गरेँ’ उनले भनिन् ।
क्याट्सेले उनीहरूलाई प्राप्त धम्की कस्तो प्रकृतिको हो भन्ने कुरा खुलाएका त छैनन् तर आक्रामक र अनुपयुक्त व्यवहारले प्रशंसकमाझ निराशा जगाएको छ ।
गत वर्ष, च्यापेल रोनले आफ्ना प्रशंसकसँग गरेका “धेरै असंगत शारीरिक र सामाजिक अन्तरक्रिया’को आलोचना भएको थियो । जसमा उनका परिवार र साथीलाई दुव्र्यवहार गर्ने मानिस पनि समावेश थिए ।

पप ब्यान्ड ‘मुना’ ले आफ्ना समर्थकलाई ‘प्रभावमा पार्न र ध्यान तान्नको आफू र आफ्ना प्रियजनको बारेमा झूट फैलाएको’ भन्दै आलोचना गरेको छ । गायिका दोजा क्याटले आफ्नो फ्यानबेसको एक भागबाट ‘डरलाग्दो’ व्यवहार भएको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
‘हाम्रो करियर साँच्चै छोटो भएको छ, तर मलाई लाग्छ कि हामीले पहिले नै हामीलाई, हाम्रो परिवारलाई धेरै कुरा भनिसकेका छौं’ क्याट्से गायिका सोफिया लाफोर्टेजाले भनिन् ।
‘हामीलाई थाहा छ, हामीले यति खुलारुपमा प्रस्तुत हुनको लागि साइन-अप गरेका थियौं । हामीलाई थाहा छ, यो प्रसिद्धिको एक हिस्सा हो । तर यसले हामी मानिस हौं भन्ने तथ्यलाई परिवर्तन गर्दैन ।’
राजले ब्यान्डले प्राप्त गरेका टिप्पणीबारेको यौनवादी प्रकृतिलाई पनि औंल्याइन् ।
‘मानिसले हामीलाई तहगतरुपमा विभाजित गर्ने महिलाको रूपमा हेर्छन् । तिनीहरूले हामी कति सुन्दर छौं, हाम्रो गायन कौशल, नृत्य कौशलको आधारमा हामीलाई ग्रेड दिनेछन्, र त्यसपछि यसलाई जोडेर प्रतिशत दिनेछन्’
‘यो त एकदमै डिस्टोपियन हो’ उनले भनिन् ।
‘मलाई लाग्छ कि यसले दिमागमा धेरै आतंक जमाएको छ’ उनकी ब्यान्डमेट म्यानन ब्यानरम्यानले थपिन् ।
अनलाइन नकारात्मकताको बावजुद, क्याट्से ब्याण्डले उल्लेखनीय वर्ष बिताइरहेको देखिन्छ ।
ब्याण्डको दोस्रो एल्बम ‘ब्यूटीफुल केओस’ ले यतिबेला अमेरिकी एल्बम चार्टमा दोस्रो नम्बरमा स्थान जमाएको छ ।
कपडा ब्रान्ड ‘ग्याप’ को लागि ब्याण्डका सदस्यले छायांकन गरेको एउटा विज्ञापन अगस्टमा भाइरल भयो, जसले ४० करोड भ्यूज पायो र सामाजिक संजालमा ८ अर्ब ‘इम्प्रेसन’ प्राप्त गर्यो ।
गत महिना, उनीहरूले एमटीभी अवार्डमा उत्कृष्ट प्रदर्शनको विधा जिते । ५ दिन अघि, उनीहरू एसडब्लूभी र विल्सन फिलिप्स पछि ग्रामीमा उत्कृष्ट नयाँ कलाकारको मनोनयन प्राप्त गर्ने इतिहासमा तेस्रो केटी समूह बनेका थिए ।
१७ देखि २२ वर्ष उमेर समूहका यी ६ जना सदस्य साँच्चै अन्तर्राष्ट्रिय प्रकृतिका छन् ।
डेनिएला अभान्जिनी एटलान्टाकी भेनेजुएला–क्युबाली अमेरिकी हुन् । राज न्यूयोर्ककी भारतीय-श्रीलंकाली अमेरिकी हुन् । ब्यानरम्यान जुरिचकी घाना–इटालियन हुन् ।
मेगन स्किएन्डिएल होनोलुलुकी चिनियाँ-सिंगापुरी अमेरिकी हुन् । लाफोर्टेजा फिलिपिन्सको मनिलाकी हुन् र युन्चे जेउङ दक्षिण कोरियामा जन्मे र हुर्केकी थिइन् ।
‘हाम्रो छालाको रङ, हाम्रो संस्कृति हाम्रो शक्ति हो । यसलाई प्रयोग गर्नुहोस् र यसको स्वामित्व लिनुहोस्’ अवान्जिनीले भनिन् ।
बीबीसीबाट ।
प्रतिक्रिया 4