+
+
Shares

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिबारे आगामी आइतबार विस्तृत बहस हुने

कृष्णप्रसाद यादवसहित मधेश प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश पाण्डेयको इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।

रूपक चौलागाईं रूपक चौलागाईं
२०८२ कात्तिक २६ गते १६:१०

२६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिको वैधताबारे आगामी आइतबार नै आफ्नो प्रारम्भिक दृष्टिकोण दिने भएको छ ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मुख्यमन्त्री यादवविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे ३० कात्तिकमा दुवै पक्षलाई छलफलका लागि झिकाएको हो । यदि सर्वोच्च अदालतले नियुक्तिलाई प्रारम्भिक रूपमा कैफियतयुक्त देखेमा दीर्घकालीन महत्व राख्ने प्रकृतिका निर्णयहरू नगर्नू भनी आदेश दिन सक्नेछ ।

गत मंगलबार सर्वोच्च अदालतले यस्तै आदेश दिएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘सुविधा सन्तुलनको दृष्टि’ भन्दै मुख्यमन्त्री र मन्त्रिपरिषद्ला‌ई ‘मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू/नगराउनू’ भनी आदेश दिएको थियो ।

सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिसम्बन्धी निर्णय, मन्त्रिपरिषद् गठनसम्बन्धी कागजात लगायतका निर्णयहरूसमेत आगामी आइतबारको सुनुवाइमा पेस गर्न आदेश दिएको छ ।

कृष्णप्रसाद यादवसहित मधेश प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश पाण्डेयको इजलासले आगामी आइतबार दुवै पक्षलाई छलफलका लागि झिकाएको हो ।

७४ जना सांसदहरूले मुख्यमन्त्री सरोज यादवलाई कुनै काम कारबाही नगर्न/नगराउन आदेश माग गर्दै निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनाललाई नै निरन्तरता दिन माग गरेका थिए । आगामी आइतबार संयुक्त इजलासमा रहने दुई न्यायाधीशले प्रारम्भिक रूपमा नै सरकार गठन प्रक्रियामा कैफियत रहेको देखेमा ‘दीर्घकालीन असर गर्ने कुनै काम नगर्नू भनी’ अन्तरिम आदेश जारी गर्न सक्नेछन् । जसको प्रारम्भिक संकेत मंगलबारको आदेशमा स्पष्ट देखिन्छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गतसाता संविधानको धारा १६८(३) अनुसार एमाले संसदिय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि नयाँ सरकार गठनको प्रयासमा लागेका सात दलका नेताहरूले उनको कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए । आफूले कानुनविद्हरूसँग छलफल गरेको भन्दै आफू संविधानको भावनाअनुसार अघि बढ्ने र त्यसका लागि एक/दुई दिन लाग्ने बताएकी थिइन् ।

त्यही साँझ उनी बिरामी भएकाले काठमाडौं जानुपरेको भनी मुख्यमन्त्री सोनललाई जानकारी दिइन् । सोनलले उनलाई फूल दिएर स्वास्थ्य लाभको कामनासहित बिदा गरे । अनि महोत्तरीको बर्दिबासस्थित होटेल पानसमा गएर एमाले संसदीय दलका नेता यादवलाई शपथ ग्रहण गराएकी हुन् ।

लेखक
रूपक चौलागाईं

चौलागाईं अनलाइनखबर डटकमका उप-सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?