+
+
Shares

नीति शाहलाई हियाउनेहरूका नाममा

अर्कोतिर सिनेमा साम्रज्यमा पनि पितृसत्ता हावी छ । त्यहाँ स्पटब्वाइदेखि निर्देशकसम्मको लस्कर लगाउने हो भने पुरुषको पंक्ति लामो हुन्छ ।

शिव मुखिया शिव मुखिया
२०८२ कात्तिक २६ गते २०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्म क्षेत्रमा भ्यानिटी भ्यानको अभाव छ र यो विलासिता नभई आवश्यक सुविधा हो भन्ने कुरा उठाइएको छ।

‘फलानोले स्टेज भाँचिने गरी नाच्नुभन्दा धरानमा श्रमदान गर्न जानु नि ।’ यो वाक्यांश कस्तो सुनिन्छ ?

ठ्याक्कै यस्तै सुनिन्छ, ‘आम नेपालीले सिटामोल खान पाएका छैनन्, हाम्रो हिरोइनलाई भ्यानिटी भ्यान चाहिएको छ ।’ यी परस्पर अमिल्दा प्रसंग हुन् । स्टेज भाँचिने गरी नाच्नु र श्रमदान फरक कुरा हुन् । त्यस्तै फरक कुरा हुन्, भ्यानिटी भ्यान र सिटामोल पनि ।

सामान्य चेत भएकाले सजिलै भन्न सक्छन्, ‘भ्यानिटी भ्यान माग गर्दैमा सिटामोलको हाहाकार हुने होइन । त्यसोभए एक गायिकाले किन यति छुच्चो र बेढंगको तर्क गरिन् ? यसको जवाफ उनैसँग होलान् । यद्यपि अभिनेत्री नीति शाहले जसरी ‘भ्यानिटी भ्यान भए हुन्थ्यो’ भनेर आफ्नो कुरा राखिन्, त्यो उनको मात्र आवाज थिएन । उनको मात्र आवश्यकता थिएन । बरू समग्र नेपाली फिल्मको प्रतिनिधि आवाज थियो ।

कुरा केही दिन अघिको हो, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाली कलाकार्मीलाई आफ्नो कार्यकक्षमा निम्तो गरे । हाम्रो कला क्षेत्रको अवस्था के छ ? कलाकारहरूको समस्या के छ ? उनी सुन्न चाहन्थे । त्यही सुनाउनका लागि फिल्म निर्देशक, निर्माता, कलाकार, लेखक, गायक, संगीतकार, हिरो, हिरोइन त्यहाँ सहभागी भए।

सिनेमा निर्माणमा भइरहेको प्रगति र दुर्गती, सहजता र अवरोध, जोखिम र सम्भावनाबारे त्यहाँ कुराकानी भए । सोही क्रममा अभिनेत्री नीति शाहले आफ्नो भोगाइ सुनाइन्, ‘खासगरी सुटिङका क्रममा महिला कलाकारलाई धेरै असहज हुन्छ । भ्यानिटी भ्यान भइदिएको भए हुन्थ्यो ।’

फिल्म छायांकनको कुनै निश्चित ठाउँ हुँदैन । कहिले शहरमा, कहिले गाउँमा । कहिले गल्लीको भीडमा त कहिले एकलासे जंगलमा । जहाँ पनि हुनसक्छ । हामीकहाँ सुविधायुक्त फिल्म स्टुडियो छैनन्, जहाँ कथाले मागेअनुसार सेट बनाएर छायांकन गर्न सकियोस् ।

अर्कोतिर सिनेमा साम्रज्यमा पनि पितृसत्ता हावी छ । त्यहाँ स्पटब्वाइदेखि निर्देशकसम्मको लस्कर लगाउने हो भने पुरुषको पंक्ति लामो हुन्छ । यस्तोमा सीमित मात्रामा उपस्थित महिला कलाकार र सहयोगीलाई पुरुषसँग सबैकुरा सराबरी साझेदार गर्न सहज हुँदैन ।

अभिनेत्री नै किन नहोस्, उनी एक महिला हुन् । शारीरिक गोपनियतादेखि धेरै कुरामा सजगता अपनाउनुपर्ने हुन्छ । मासिक श्रावको बेला होस, शौचका लागि या पहिरन फेरफारका लागि, सुरक्षित र सहज ठाउँ जरुरी हुन्छ । यी सबै अवस्थामा अस्थायी टहरा वा टेन्ट उपयुक्त विकल्प नहुन सक्छन् ।

त्यही कारणले त फिल्म छायांकनका क्रममा भ्यानिटी भ्यानहरू प्रयोगमा ल्याइन्छन् । थुप्रै बलिउड कलाकारले त आफ्ना लागि निजी भ्यानिटी भ्यान नै छायांकनमा लैजाने गर्छन् ।

फिल्म छायांकनका क्रममा यो एक विलासिता होइन अत्यावश्यक कुरा हुन् । तुलनात्मक रुपमा खर्चिलो हुने भएकाले हुनसक्छ, नेपाली फिल्ममा यसको प्रचलन सुरु भएको छैन । केही समयअघि अभिनेता प्रदिप खड्काले भ्यानिटी भ्यान खरिद गरेको खबर आएको थियो । त्यसबाहेक अरू कलाकर्मीसँग यस्तो सुविधा छैन ।

नेपाली फिल्मको बढ्दो बजारले मात्र होइन, कला संस्कृतिको स्रोत बलियो बनाउन पनि यस क्षेत्रलाई आधुनिक संशाधनको खाँचो छ । त्यसै मध्येको एउटा सानो अंश हो, भ्यानिटी भ्यान ।

भनिहालौं, फिल्म फगत हल्का मनोरञ्जन होइन । यो त कला, संस्कृतिको सबैभन्दा शक्तिशाली माध्याम हो । यही सौम्य शक्तिको जगमा अहिले विश्वका कतिपय मुलुकले आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । तर, हामीकहाँ फिल्मप्रतिको बुझाइ एकदमै आलोकाँचो छ । त्यसैले त फिल्म क्षेत्रका लागि उठ्ने प्रसंगहरू कतिपयका लागि ‘हल्का मजाक’ बन्ने गर्छ । पछिल्लो उदाहरण हो, तिनै गायिकाको भद्धा टिप्पणी ।

अभिनेत्री नीति शाहले छायांकनस्थलमा अनेकन समस्या झेलेर नै भ्यानिटी भ्यानको आवश्यकता महसुस गरेकी हुन् । उनले आफूलाई सुपरस्टार देखाउनका लागि कुनै बिलासी वस्तुको माग गरेकी थिइनन् । तर, कतिपयलाई ‘उल्कै’ भएजस्तो लाग्यो । अनि धमाधम नीतिलाई दिल्लगी गर्न थाले ।

हुन त यो कस्तो समय छ भने, सामाजिक सञ्जालमा ‘रंगीला कुरा’ गरेर आफूलाई केन्द्रमा राखिरहने । सके भाइरल हुने । तर, ‘भाइरल हुनका लागि’ आफूले के गरिरहेको छु ? के लेखिरहेको छु ? त्यसको छेउटुप्पो भेउ नपाउने ।

कुनै पनि कुरालाई गरिबी, बिरामी, बिपत्ति आदिसँग जोडिदिएपछि मान्छेको ‘सेन्टिमेन्ट’ आफूतिर तानिन्छ भन्ने धारणा व्याप्त छ । त्यही धारणको नतिजा त हो ‘फलानो चिज किन्नुभन्दा त गरिबलाई खानेकुरा दिनु नि’ जस्ता अभिव्यक्तिहरू ।

यसरी अरूको उछितो काड्नेहरूले सो प्रश्न आफैंतिर फर्केर गर्न सक्छन् ? गरेका छन् ? ती गायिकाले नीति शाहलाई हियाउँदै लेखेकी छिन्, ‘आम नेपालीका बालबच्चाले दक्ष शिक्षा पाएका छैनन्, हाम्रा हिरोइनलाई सुसु गर्न सजिलो हुने भ्यानिटी भ्यान चाहिएको छ ।’  यहाँ नीति शाहले उठाएको प्रसंगलाई ‘बालबच्चाले शिक्षा नपाएको’ कुरासँग जोडेर सर्वसाधरणको ‘सहानुभूति’ तान्ने चेष्टा गरेकी छिन् ।

उसो भए, यी गायिका किन खर्चिलो ध्वनि र प्रकाशले सु–सज्जित तामासिक स्टेजमा उभिएर नाचगान गर्छिन् ? त्यति भव्य स्टेज बनाउने खर्चले ‘दूर दराजका सुत्केरीलाई पोषिलो खानेकुरा दिए हुँदैनथ्यो ?

लेखक
शिव मुखिया

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?