+
+
Shares

कतै हामीलाई हल्लाको लत त लागेको होइन ?

रिहाना, कान्ये वेष्ट, लिल वेन, बिल्ली आइलीश, ग्रीन डे, लिङ्किन पार्क लगायतले पनि आफ्ना गीतहरूमा छाडा शब्दहरूको प्रयोग प्रशस्तै गरेको पाइन्छ । यी अंग्रेजी गायकका गीतहरूमा अत्यधिक प्रयोग गरिएका शब्द नेपालका एक नगर प्रमुखले प्रयोग गरेको विषयलाई लिएर जेनजी नजिक पुस्ताले समेत सोसल मिडियामा राम्रैसँग हल्ला मच्चाएको देख्न पाइयो ।

अस्मिता विष्ट अस्मिता विष्ट
२०८२ कात्तिक २७ गते ८:०४

आजभन्दा दुई सय वर्षअघि आदिकवि भानुभक्त आचार्यले आफू पाहुना लाग्न गएको घरका महिलाले उत्पन्न गरेको कर्कश ध्वनिले आफ्नो निद्रा खलबलिएको गुनासोमा वधूशिक्षा लेखेका थिए । भानुभक्त आचार्यको वधूशिक्षाले शायद पढाउन असमर्थ भयो शान्तिको स्वरमा लुकेको शक्ति । त्यसैले आजपर्यन्त निकालिरहेका छन् मानिसहरू कर्कश ध्वनि– चियापसलमा, जमघटमा, शहरका चोक र गल्लीहरूमा । हरदम, हरमौसममा बहन्छ मेरो शहरमा, मेरो देशको बतासमा ककर्श ध्वनि । लाग्छ मानिसको अस्तित्वको अहम् हिस्सा बनिसकेको छ यो । लाग्छ मेरा शहरका, मेरा देशका मानिस सुन्न सक्दैनन् मधुरो आवाजमा गरिने गलफतीे, साँझको साउती, साथीभाइको गुनगुन ।

शायद राज्यले, सरकारले सर्वसाधारणको आवाज सुन्न छाडेदेखि बढेको  हो आवाजको भोल्युम । विदितै छ, जब मानिसका मधुरो स्वरलाई नसुने झैं गरिन्छ, जब दबाउन थालिन्छ जायज मागहरू– तब गुन्जिन थाल्छन् विद्रोहका स्वरहरू । विद्रोहको स्वर कर्कश नै हुन्छ– हुँदैनन् कदापि प्रेमालाप झैं मधुर । जब विद्रोहको स्वर समाजमा नियमित गुन्जिन थाल्छ, तब बुझ्नुपर्छ त्यस समाजका मानिस सचेत त छन्, तर तिनले कोलाहललाई जीवनको अहम् हिस्सा बनाइसकेका छन् । कहिलेकाहीं मलाई लाग्छ– केही वर्षयता कोलाहल मेरो शहरको संस्कृति बनिसकेको छ ।

यसकै नतिजास्वरुप हुनुपर्छ, हाम्रो शहरमा एउटा माइक बोकेको मानिस आफ्नो आवाजको भोल्युम बढाउँदै विभिन्न स्थानमा देखा परेका थिए । उनी ठूलो ठूलो स्वरमा जनताको दु:ख कहिरहेका भेटिन्थे । कहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिको विरुद्ध चिच्याइरहेका हुन्थे । कहिले नगरपालिकाको प्राङ्गणमा चिच्याइरहेको भेटिन्थे । अन्तत: त्यही आवाजको शक्तिले उनी नगरपालिकाको मेयर समेत बने । शहरवासी विश्वस्त थिए– अब शहरमा सुन्नुपर्ने छैन कुनै कोलाहल । तर विडम्बना– कोलाहलले केवल स्थान परिवर्तन गर्‍यो । सोसल साइटमा झन् झन् कर्कश बन्दैछ उनको आवाज । म सोचिबस्छु– किन अन्त्य भइरहेको छैन कोलाहलको शृंखला ? कर्म भन्दा किन ठूलो ठानिन्छ कर्कश ध्वनिलाई ?

 ‘एक्सन स्पिक्स लाउडर देन वर्डस्’ भन्ने कथनलाई किन आत्मसात् गर्न इन्कार गरिरहेछन् मानिसहरू ? म देखिरहेकी छु– मेरो शहरका प्रत्येक जसो व्यक्ति हल्लाको कीटाणुले संक्रमणग्रस्त भएका छन् ।

शहरको कुनै पनि कार्यालयमा, विद्यालय र क्याम्पसको परिसरमा, पिकनिक स्पटमा, चियापसलमा मानिसहरूको बहसको प्रमुख विषय बनेका छन् मेरो शहरका मेयर । पछिल्लो समय त झन् उनी देशभरमा चर्चाको विषय बने– उनले देशमा परिचय गराएको श्रम संस्कृतिको कारण र उनले सोसल साइटमा निरन्तर मच्चाएको हल्लाको कारण । मित्र मण्डलीको भेटघाटमा मैले धेरैपटक महसुस गरेकी छु– शहरमा आएको पाहुनालाई मेयरको गुनासो सुनाउन तँछाडमछाड गर्छन् शहरवासी । सोचिबस्छु म–किन यिनको कोलाहलयुक्त गुनासोले चर्किन खोज्छ ती पाहुना बसेको कोठाको भित्ता ?

हल्ला कहिलेकाहीं बतासको सुस्त स्वरमा मिसिएर साउती गर्दै पनि प्रवेश गर्छ मेरो समाजमा, म बाँचेको शहरमा- अनि चुँडालेर विश्वासको धागो टुक्रा–टुक्रा पारिदिन्छ सम्बन्धको स्वेटर । कहिले यो अमेजनको जंगलमा लागेको डढेलो झैं सल्किन्छ र खरानी बनाइदिन्छ युगौंदेखि अटल रहेको सामाजिक सहिष्णुता र सद्भाव

 म सोची बस्छु सधैं, मेरो शान्त र सभ्य शहर मात्र यसरी कोलाहलमय बनेको हो कि संसारका अधिकांश स्थानका अधिकांश मानिसलाई सानो स्वरमा बोल्न आउन छाडेको हो ? आखिर केले जगाउँदै छ मानिसमा आफ्नो आवाज मात्र सुनिनुपर्छ भन्ने भोक ? अनि यस्तो भोकले डोर्‍याउँदै डोर्‍याउँदै कुन दिशातर्फ लैजाँदैछ मानिसलाई ?

डेबोरा तनेनले ‘सेक्स साइज एण्ड कन्भरसेसन: ह्वाई मेन एण्ड वुमेन क्यान नट कम्युनिकेट’ मा भने झैं पुरुषहरूले आफ्नो वर्चस्व कायम राख्न अथवा अन्य पुरुषहरूभन्दा आफू सर्वश्रेष्ठ हुँ भन्ने दाबी गर्नलाई नै मच्चाइरहेछन त मेरा शहरवासी (विशेषगरी पुरुषहरू) त्यो हदसम्मको हल्ला ? वा आफूले चयन गरेर पठाएको मेयरले आफ्नो आवाज सुन्न इन्कार गरेपछिको प्रतिरोधी आवाज थियो त्यो ? कि शहरवासीको आवाजहरू निर्मम ढंगले दबाइन थालेपछि सुनिन थाल्छ प्रत्येक गाउँ शहरमा यतिविघ्न हल्लाका स्वरहरू ?

कुनै पनि हल्लाको स्वरले शान्त समाजको निर्माण गर्न सक्दैन भन्ने कुराको इतिहास साक्षी छ । हल्ला सधैं षड्यन्त्र र द्वेषको छातीमा उम्रन्छ । अनि, यो असन्तुष्टिको काखमा हुर्किन्छ र नष्ट गरिदिन्छ यसले मानिसको बीचमा हुनसक्ने सौहार्दपूर्ण घेटघाट । त्यसैले हिजोआज, उतिसारो देखिन छाडेको छ मुहारमा मुस्कान सजाएर छाताचोक वरपर मिठो गलफतीमा रमाएका चेहराहरू । न त सुनिन्छ बाजेको चियापसलमा सुस्त स्वरमा गरिएको कुराकानी । बरु हर समय मोबाइलको स्क्रिनमा वाक्युद्धमा सामेल भेटिन्छन् मेरा शहरका मेयर र शहरवासी ।

लाग्छ हिजोआज मानिसहरू बीच, समूहहरू बीच, सरकार र जनता बीच बिल्कुल बन्द भएको छ संवाद हुन । अनि त हुर्किंदैछ यहाँ मानिसहरू बीच आशंकाको, असन्तुष्टिको घना विषवृक्ष । तहसनहस पार्दै सुन्दर सम्बन्धहरू । समाजमा, राज्यमा वा कुनै परिवारमा जब गुनासोका, सत्यका आवाज सुन्न छोडिन्छ तब आत्महत्या गर्छ आत्मीय सम्बन्धहरूले । अनि त्यही शून्यतामा जन्मिन्छन् विभिन्न हल्लाका स्वरहरू । जहाँ मानिस आजित हुने गरी गरिन्छन् अनेक अड्कलबाजी । बनाइन्छन् दु:ख, पीडा, अभावले जर्जर भएको मानिसको हृदयलाई झन् जीर्ण । ढालिन्छन्, चुँडाइन्छन् फक्रन नपाई आशाका मसिना कोपिलाहरू ।

हल्लाको यथार्थ बुझेर नै भूपीले लेखेका थिए शायद “यो हल्लै हल्लाको देश हो” शीर्षकमा कविता । हल्लाले कतिसम्म क्षति गर्न सक्छ भन्ने दृष्टान्त आजभन्दा करिब पाँच सय वर्षअघि शेक्सपियरले पनि दिएकै हुन् आफ्नो नाटक ओथेलोमा । शेक्सपियरले यस नाटकमा चित्रण गरे झैं कतिपय हल्ला कुनै एक विशेष व्यक्तिको कानमा गएर गरिन्छ । निरन्तर गरिएको त्यस प्रकृतिको हल्लाले हल्ला श्रवण गर्ने व्यक्तिको मस्तिष्कमा सजिलै रोपिदिन सक्छ शंकाको बीउ । सहजै ल्याइदिन सक्छ प्रेमिल मनहरूमा फाटो । भत्काइदिन सक्छ विश्वासको महल । जराबाटै उखेलिदिन सक्छ सम्बन्धहरू, गृहस्थीहरू । जसरी इयागोले ढाल्न सफल भएको थियो– हल्लाको बारुद पड्काएर ओथेलो र डेस्डिमोनाले प्रेमले खडा गरेको गृहस्थी । हिजोआज समाजमा बिगबिगी छ इयागोहरूको । यी इयागोहरू विदेशी भूमिमा पसिना बगाएर स्वदेशमा सुन्दर संसार बनाउने सपना देख्ने ओथेलोहरूको कान भर्छन् । तिनको मस्तिष्कमा विषवृक्ष हुर्काइदिन्छन् र अन्तत: मासेरै छोड्छन् इयागो र डेस्डिमोनाहरूको सुन्दर गृहस्थ ।

रामलाई रामायणमा सीता प्रतिको प्रेम र कर्तव्यबाट विमुख गराएर सीताको जीवन कष्टकर पार्न उद्यत धोबीहरू जताततै भेटिन्छन् । सोसल मिडियामा हल्ला गर्दै बसेका ढोंगीहरूको हल्लाले आज पनि हाम्रो समाज दूषित भइरहेको छ । कैयन् सीताको व्यक्तिगत स्वतन्त्रतामा धावा बोलिरहेकै छन् हल्ला मच्चाउँदै धोबी प्रवृत्तिहरू ।

हल्लाको शक्ति न्यूक्लियर बमको भन्दा कम हुँदैन । हल्लाको यही शक्ति आँकेर नै गरेका थिए होला हिटलरले सत्तामा नपुगुन्जेल एकतमासले हल्ला । उनले जनमानसको साथ र सहानुभूति बटुल्न चरम राष्ट्रवादको मात्र हल्ला चलाएका थिएनन् त्यसमै कम्युनिस्ट, क्याथोलिक र यहुदी देशका/समाजका शत्रु हुन् भन्ने हल्ला पनि चलाएका थिए । त्यही हल्लाको मोहनीमा जर्मनीका नागरिकलाई लठ्याएर यहुदी समुदायप्रति घृणाभाव फैलाएका थिए । र इतिहासकै घृणित र भयावह नरसंहार गरेका थिए ।

बतासमा मिसिएर सुस्तरी फैलिएको होस् वा तीव्र गतिमा डढेलो झैं फैलिएको हल्ला, हल्लाले हाम्रो हविगत कहिल्यै सपारेको छैन । सपार्ने मनसाय भएकाहरू न त हल्ला गर्छन् न हल्लाको पछि लाग्छन् । ती त चुपचाप आफ्नो कर्म गर्छन्

हाम्रो समाज यतिसम्म हल्लामा रमाउन थालेको छ कि, यसले कुनै पनि घटना, कुनै पनि व्यक्ति वा कहिलेकाहीं कसैले बोलेका शब्दहरूको निहुँ पारेर हल्ला गर्न थाल्छ । कहिलेकाहीं लाग्छ– मेरो समाज अझै पनि सांस्कृतिक विविधताले सृजना गर्न सक्ने भाषा/शब्दको अर्थलाई ग्रहण गर्न सक्ने अवस्थामा पुगेकै छैन । आफ्नो भाषा र संस्कृतिमा उसले जे सिकेको छ, जे बुझ्दै र परिभाषित गर्दै आएको छ, त्योभन्दा एक अउँस पनि केही भिन्न सुन्न र देख्नासाथ हल्ला मच्चाउन थाल्छ मेरो समाज । शायद हल्लाद्वारा नै अन्य संस्कृतिमा सहज ठानिएका तर मेन स्ट्रिम कल्चरमा असहज मानिएका शब्दहरूमा गजबार लगाउन उद्यत छ । यस्तो प्रवृत्ति वास्तवमा सांस्कृतिक असहिष्णुताको प्रवृत्ति हो । कल्चरल इन्टोलरेन्सको प्रवृत्तिलाई शायद हल्लाद्वारा नै सही सिद्ध गर्न चाहन्छ ।

मेन स्ट्रिम कल्चरमा असभ्य र अश्लील ठानिने शब्दहरू, पूर्वी भेगमा विशेषगरी राई–लिम्बू समुदायको वार्तालापमा सहजै समावेश गरिन्छन् । त्यस्तै गरेर अंग्रेजी सिनेमा र अंग्रेजी गीत सुनेर हुर्किएका पुस्ताले पनि मेन स्ट्रिम कल्चरले अश्लील ठानेकोे शब्दलाई सामान्य शब्दको रूपमा नै ग्रहण गरिरहेका हुन्छन् । तिनीहरूले ती शब्दलाई अश्लील होइन बरु आफ्नो आक्रोश पोख्ने शब्दको रूपमा प्रशस्तै प्रयोग गरेको देख्न सकिन्छ । अंग्रेजी गायक एमिनेमका अधिकांश गीतमा त्यस्ता शब्दहरूको खुलेर प्रयोग भएको छ । उनका गीतहरूमा क्रोध, समाजप्रतिको विद्रोह र व्यङ्ग्य देखाउन सो शब्दको प्रयोग भएको पाइन्छ ।

कान्ये वेष्ट, लिल वेन, रिहाना, बिल्ली आइलीश, ग्रीन डे, लिङ्किन पार्क लगायतले पनि सो शब्दको प्रयोग आफ्नो गीतहरूमा प्रशस्तै गरेको पाइन्छ । यी अंग्रेजी गायकका गीतहरूमा अत्यधिक प्रयोग गरिएका शब्द नेपालको एक नगर प्रमुखले प्रयोग गरेको विषयलाई लिएर जेनजी नजिक पुस्ताले समेत सोसल मिडियामा राम्रैसँग हल्ला मच्चाएको देख्न पाइयो । मेरो मनमा ती हल्लाहरूले हल्ला गर्दै प्रश्न तेर्स्याइरहेका थिए– कतै हामीलाई हल्लाको लत त लागेको होइन ? त्यसबेला मलाई यो पनि महसुस भयो कि– जैविक उमेर मात्र होइन मानसिक उमेर पनि मानिसलाई अत्याधुनिक वा पुरातनवादी, युवा वा प्रौढ बनाउने प्रमुख तत्व रहेछ ।

लाग्छ यो हल्लाको युग हो । हरेक मानिस आफ्नो उपस्थितिको आभास गराउने सशक्त माध्यम हल्ला हो भन्ने सोचबाट आक्रान्त छ । हल्लाको प्रयोग मार्फत आज कैयन्को सामाजिक प्रतिष्ठा गुमेको छ । कतिको घर बर्बाद भएको छ । कतिको जीवन तहसनहस भएको छ । तर पनि हामी हल्लाको सम्मोहनमा यस्तरी जकडिएका छौं कि त्यसबाट मुक्ति पाउन आफूले नै तय गरिएको पुनर्स्थापना केन्द्रमा भर्ती हुनुपर्ने अवस्थामा पुगेका छौं । हल्लाको नशा हाम्रो मनमस्तिष्कमा मस्त चढेको छ । हामीमध्ये कतिपय हरेक दिन बिहान चियापसलमा र साँझ कुनै अन्य स्थलमा अनुत्पादक हल्लामा रमाउन अभ्यस्त भइसकेका छौं ।

हल्ला कहिलेकाहीं बतासको सुस्त स्वरमा मिसिएर साउती गर्दै पनि प्रवेश गर्छ मेरो समाजमा, म बाँचेको शहरमा- अनि चुँडालेर विश्वासको धागो टुक्रा–टुक्रा पारिदिन्छ सम्बन्धको स्वेटर । कहिले यो अमेजनको जंगलमा लागेको डढेलो झैं सल्किन्छ र खरानी बनाइदिन्छ युगौंदेखि अटल रहेको सामाजिक सहिष्णुता र सद्भाव ।

बतासमा मिसिएर सुस्तरी फैलिएको होस् वा तीव्र गतिमा डढेलो झैं फैलिएको हल्ला, हल्लाले हाम्रो हविगत कहिल्यै सपारेको छैन । सपार्ने मनसाय भएकाहरू न त हल्ला गर्छन् न हल्लाको पछि लाग्छन् । ती त चुपचाप आफ्नो कर्म गर्छन् । अहिले पनि चुपचाप गरिरहेकै छन् सुकर्म सन्दुक रुइतहरू । हजारौं चिकित्सकले हल्ला नगरी जीवन बचाइरहेकै छन् । हल्ला नगरी खटिरहेछन् देश निर्माणमा मजदुरहरू । अन्न उब्जाउनेहरू केवल हात मात्र चलाइरहेका छन् मुख चलाइरहेका छैनन् । तिनले बुझेका छन् तिनको कर्मको आवाज समाजमा चल्ने हल्लाको आवाजलाई जित्ने हुनुपर्छ । अनि मात्र यो देशले गति र गन्तव्य प्राप्त गर्नेछ ।

लेखक
अस्मिता विष्ट

दुई दशकदेखि महेन्द्र बहुमुखी क्याम्पस धरानमा अंग्रेजी विषय प्राध्यापन गराउँदै आएकी अस्मिता विष्टका लैङ्गिक दृष्टिकोणबाट नेपाली आख्यान र सिनेमा बारे ४ दर्जन बढी लेखहरू प्रकाशित छन् । उनले ‘कन्फाइन्मेन्ट ट्रान्सग्रेसन लिवरेसन : डाइनामिक्स अफ जेण्डर रोल इन कन्टेम्पोररी नेपाली नोबल्स एण्ड फिल्मस्’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?