+
+
Shares

हिमाल आरोही सुरक्षामा बोर्डले दियो उद्धार सामग्री

पर्यटन बोर्ड सीईओ दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्डले निरन्तर काम गरिरहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षाका लागि हिमालय उद्धार संघलाई उद्धार सामग्री हस्तान्तरण गरेको छ।
  • नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्डले हिमाली पर्यटनको दिगोपनासँग उद्धार संघको सहकार्यलाई जोडेको बताए।
  • उद्धार सामग्रीमा क्याराबिनर्स, मेकानिकल एसेन्डर्स, डिसेन्डर्स, पुली, स्लिङ्स, आइस स्क्रु, पिकेट्स, बिले डिभाइस, एंकर्स र स्लिपिङ ब्याग समावेश थिए।

२७ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षा प्राथमिकतामा राख्दै हिमालय उद्धार संघलाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्री सुरक्षामा थप सघाउ पुर्‍याउने उद्देश्यले बिहीबार भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्ड निरन्तर काम गरिरहेको बताए ।

‘नेपालको हिमालय विश्वकै आकर्षण हो, यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ,’ सीईओ जोशीले भने, ‘उद्धार संघसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौं ।’

त्यसैगरी बोर्ड सदस्य नरेन्द्रदेव भट्टले उद्धार कार्य केवल आपतकालीन व्यवस्थापन मात्र नभई नेपालको पर्यटन विश्वसनीयता निर्माण गर्ने माध्यम पनि भएको उल्लेख गर्दै आगामी दिनमा उद्धार र जोखिम व्यवस्थापनमा अझ व्यवस्थित गर्ने बताए ।

बोर्डका अर्का सदस्य ऋषि भण्डारीले हिमाली क्षेत्रमा सुरक्षासँगै वातावरणीय संवेदनशीलता पनि जोडिने भएकाले यस्तो सहयोगले जिम्मेवार पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने बताए ।

त्यसैगरी सामग्री ग्रहणपछि हिमालय उद्धार संघ अध्यक्ष डम्बर पराजुलीले पर्यटन बोर्डको सहयोगप्रति आभार व्यक्त गरे ।

‘सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ,’ उनले भने, ‘बोर्डको यो सहयोगले हाम्रो उद्धार कार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु ।’

उक्त अवसरमा बोर्डले संघलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स ४ थान, डिसेन्डर्स ५ थान, पुली ४ थान, स्लिङ्स ५ थान, आइस स्क्रु र पिकेट्स ५ थान, बिले डिभाइस ४ थान, एंकर्स ४ थान र स्लिपिङ ब्याग ५ थान हस्तान्तरण गरेको थियो ।

पर्यटन बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधार अझ सुदृढ बनाउन निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्‍वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?