+
+
Shares

गण्डकी प्रदेशका हवाई कम्पनीको सिट उपयोग क्षमता ८० प्रतिशत

नेपाल राष्ट्र बैंकको वार्षिक अध्ययन प्रतिवेदन अनुसार गत आव २५ हवाई कम्पनीले १४ हजार १ सय ५८ उडान गरेको उल्लेख छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा हवाई सेवा कम्पनीको सिट उपयोग क्षमता ७९.१३ प्रतिशत पुगेको छ।
  • गत आव गण्डकीमा विदेशी पर्यटक आगमन २६ प्रतिशतले वृद्धि भई ६९ हजार ४ सय ९१ पुगेको छ।
  • गण्डकी प्रदेशका ५९ स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४ सय ४५ व्यक्तिलाई औसतमा ४८ दिन रोजगारी दिएको छ।

२७ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका हवाई सेवा कम्पनीको कारोबारमा सुधार आएको छ । आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशमा दर्ता हवाई सेवा कम्पनीका सिट उपयोग क्षमतामा सुधार भई ७९.१३ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकको वार्षिक अध्ययन प्रतिवेदन अनुसार गत आव २५ हवाई कम्पनीले १४ हजार १ सय ५८ उडान गरेको उल्लेख छ ।  अघिल्लो आव हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार २०८१/८२ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ४.६१ प्रतिशतले वृद्धि हुने अनुमान छ । अघिल्लो आव यस्तो वृद्धिदर ३.६७ प्रतिशत थियो ।

गत आव गण्डकीको आर्थिक वृद्धिदर ५.५१ प्रतिशत रहने अनुमान छ । यस प्रदेशको जीडीपीमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २७.८, १६.५ र ५५.८ प्रतिशत रहने अनुमान छ ।

समीक्षा वर्षमा गण्डकीका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब १.११ प्रतिशतले ह्रास आई ४ लाख ३१ हजार ३ सय ८५ हेक्टर कायम भएको छ ।

तरकारी, फलफूल, मसला, चिया र कफी खेतीले ढाकेको क्षेत्रफल क्रमश: ०.३१, ६.३५, २.१३, १.०४ र ४.६१ प्रतिशतले वृद्धि भएको छ भने खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा १.५५ प्रतिशतले कमी आएको अध्ययनले देखाएको छ ।

गत आव गण्डकीमा प्रमुख कृषि बाली उत्पादनमा ४.८६ प्रतिशतले कमी आएको छ । खाद्य, नगदे तथा अन्य बाली र फलफूल उत्पादनमा क्रमश: ९.०५ र ०.४८ प्रतिशतले कमी आएको छ भने तरकारी, मसला, कफी र मह उत्पादनमा क्रमश: १०.९८, ५.२६, ४७.९५ र ६९.६९ प्रतिशतले वृद्धि भएको छ ।

उक्त अवधिमा उक्त प्रदेशका बैंक तथा वित्तीय संस्थाले कृषि, वन र माछापालन क्षेत्रमा २४ अर्ब ६ करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ६.७४ प्रतिशत हो ।

गत आव गण्डकी प्रदेशका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत छ । गत आव यस्तो अनुपात ३९.२० प्रतिशत थियो ।

गत आव चाउचाउ, क्याप्सुल औषधि, बियर, चुरोट, प्रशोधित दूध, ड्राई सिरप औषधि र तोरी तेल उत्पादनमा वृद्धि भएको छ भने इँटा, ओइन्टमेन्ट औषधि, ट्याब्लेट औषधि, चकलेट, लिक्विड औषधि, बिस्कुट र सिमेन्ट उत्पादनमा कमी आएको छ ।

गत आव बैंक तथा वित्तीय संस्थाले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ७.८२ प्रतिशत अर्थात् २७ अर्ब ९१ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् ।

गत आव गण्डकीमा विदेशी पर्यटक आगमन संख्या २६ प्रतिशतले वृद्धि भई ६९ हजार ४ सय ९१ छ । त्यस्तै होटलको शय्या संख्या बिक्री ३.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४ सय १९ छ भने अकुपेन्सी ३१.८४ प्रतिशत छ जुन गत वर्ष ३१ प्रतिशत थियो । पछिल्लो समय आन्तरिक तथा वाह्य पयर्टनमा सुधार आएकाले सेवा क्षेत्रमा तदनुरूप सकारात्मक प्रभाव देखिएको हो ।

गण्डकीबाट गत आव उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति उच्च रहनु, बसाइँसराइ, प्राविधिक तथा व्यावसायिक तालिमको व्यवस्था पर्याप्त मात्रामा हुन नसक्दा विश्वविद्यालयमा विद्यार्थी संख्या ५.३१ प्रतिशत ह्रास देखिएको छ । तर, शिक्षक संख्यामा भने १.३३ प्रतिशतले वृद्धि देखिएको छ ।

गत आव  बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १४.६ प्रतिशतले वृद्धि भई ६ खर्ब १२ अर्ब २९ करोड पुगेको छ । कुल कर्जा प्रवाह २.३ प्रतिशतले वृद्धि भई ३ खर्ब ५६ अर्ब ९२ करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ०.५६ प्रतिशतले वृद्धि भई २३ अर्ब ८९ करोड पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये कालीगण्डकी करिडोर अन्तर्गतको मालढुंगा–राम्दी–गैँडाकोट खण्डको भौतिक प्रगति करिब ८० प्रतिशत र बेनी–जोमसोम खण्डको भौतिक प्रगति करिब ८७ प्रतिशत छ ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत गोरखा–लमजुङ खण्डको भौतिक प्रगति ७७ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको ८२ प्रतिशत छ । तनहुँ जलविद्युत् आयोजना तथा बुढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक प्रगति क्रमश: ६७ र १६.५५ प्रतिशत छ ।

यस प्रदेशका ५९ स्थानीय तहले २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका छन् । जसबाट ७ सय ८९ आयोजना मार्फत् कुल ४ सय ४५ व्यक्तिले औसतमा ४८ दिन रोजगारी पाएको अध्ययनले औँल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?