News Summary
Generated by OK AI. Editorially reviewed.- मानव चेतनाले समूहमा बस्ने निर्णय गरी नियम, मूल्य र संस्कृति निर्माण गरेर समाजको प्रारम्भ गर्यो।
- इसापूर्व पाँचौं शताब्दीमा एथेन्समा विकसित प्रजातान्त्रिक अभ्यासले नागरिकलाई के सही, के गलत भन्ने प्रश्न सोध्न प्रेरित गर्यो।
- नेपालमा २०६२/६३ को जनआन्दोलनले राजाको पूर्ण सक्रिय शासनको चेतनालाई अन्त्य गरी गणतन्त्रको बाटो खोल्यो।
समाजको जन्म कुनै भौतिक आवश्यकताले मात्र भएको होइन। तर जब मानिसमा सामूहिक रूपमा सोच्ने चेतना आयो तब समाजको जग बस्यो। मानवको पहिलो चेतना बाँच्नका लागि सुरक्षामा केन्द्रित थियो। हिंस्रक जनावर वा प्राकृतिक विपत्तिबाट एक्लै बच्न नसकिने कुराको ज्ञान भयो।
यसै चेतनाले गर्दा मानिसले समूहमा बस्नुपर्छ भन्ने निष्कर्ष निकाल्यो। समूहमा बस्ने निर्णय नै पहिलो सामाजिक सम्झौता वा चेतनाको प्रतिविम्ब थियो जसले गर्दा समाजको प्रारम्भ भयो। मानिसले समूह बनायो तर पशुले पनि समूह बनाउँछन्। भिन्नता के हो भने मानव चेतनाले नियम, मूल्य र संस्कृति निर्माण गर्यो यो नै समाज हो।
जनावरको समूह प्रवृत्तिमूलक हुन्छ भने मानव समाज चेतनामूलक। मानव समाजमा भाषा र प्रतीकवादको विकास चेतनालाई व्यक्त गर्न र एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नका लागि भयो। भाषा आफैंमा सामूहिक चेतनाको सबैभन्दा ठूलो उपज हो। भाषाले विचारहरूलाई समाजमा भण्डारण गर्न सहयोग गर्यो।
जस्तै: कुन जडीबुटी काम लाग्छ, वा कसरी शिकार गर्नुपर्छ। यो सामूहिक ज्ञानको बैंक बन्यो। यो काम किन गरिनुपर्छ र किन गरिनुहुँदैन भन्ने सामाजिक नियमहरू भाषाद्वारा स्थापित गरिए। यसले व्यक्तिलाई सामूहिक चेतनाको अधीनमा ल्यायो। यो नै कानूनको प्रारम्भिक रूप थियो। यसै क्रममा मृत्युपछिको जीवन वा अलौकिक शक्तिबारे सोच्ने चेतनाले धर्म र मिथकहरूलाई जन्म दियो। धर्मले लाखौं मानिसलाई एउटै साझा चेतनामा बाँधेर विशाल समाज निर्माण गर्न सहयोग गर्यो।
जब मानव घुमन्ते जीवन त्यागेर खेतीपाती गर्न थाल्यो (कृषि क्रान्ति) भौतिक रूपमा ठूलो परिवर्तन आयो। स्थिर बसोबासले मेरो जमिन, मेरो घर भन्ने व्यक्तिगत सम्पत्तिको चेतनालाई जन्म दियो। बाली लगाउने र बाली उठाउने चक्रले दीर्घकालीन योजना बनाउने चेतनाको विकास गर्यो। अतिरिक्त उत्पादन भएसँगै धनी र गरिब वा शासक र श्रमिकको चेतना शुरु भयो।
समाजको भौतिक संरचनामा खेतीले परिवर्तन ल्याए पनि त्यसलाई व्यवस्थित गर्ने नियमहरू (कसले धेरै पाउने, कसले कम) मानिसको नयाँ र जटिल चेतनाले नै स्थापित गर्यो। आदिम समाजमा बुढापाकाको कुरा मान्ने चलन थियो। यो चलन त्यस समूहको सङ्कलित अनुभव र विवेकलाई विश्वास गर्ने सामूहिक विवेक नै समाजको प्रारम्भिक ऐना थियो। शुरुका समाजहरूमा चेतना सरल थियो। त्यसैले समाज पनि सरल थियो।
जसरी मानिसको चेतना जटिल, स्वार्थी र द्वन्द्वपूर्ण हुँदैगयो, समाजको रूपरेखा पनि त्यही जटिलताको प्रतिविम्ब बन्दैगयो। आजको आधुनिक समाज त्यसैको ज्वलन्त उदाहरण हो।
मानव समाज र राजनीतिको सम्बन्धको जग भौतिक आवश्यकतामा भन्दा पनि चेतनाको विकासमा अडिएको छ। जब आदिम मानवले ‘म’ र ‘हामी’ बीचको भिन्नता महसुस गर्यो, तब नै सामाजिक बन्धन र समूहगत शक्तिको चेतना शुरु भयो। यही सामूहिक चेतनाले कालान्तरमा राजनीतिक संरचनाहरूलाई जन्म दियो। त्यही नै पहिलो राजनैतिक चेतनाको उदय थियो। कृषि क्रान्तिपछि जब मानिस स्थायी रूपमा बस्न थाले, उनीहरूले उत्पादनको वितरण, जमिनको सुरक्षा र समूहको हितका लागि एक अधिकारसम्पन्न नेतृत्वको आवश्यकता महसुस गरे।
यो महसुस नै प्रारम्भिक संगठित राजनीतिक चेतना थियो। जसले पुरोहित वा शक्तिशाली मुखियालाई शासकका रूपमा स्वीकार गर्यो। जब समाज सरलबाट जटिल बन्दै गयो तब न्याय र अन्यायको बोध भयो। मेसोपोटामियाको हम्मूरावीको संहिता (लगभग १७५४ ईसा पूर्व) यसै चेतनाको प्रतिविम्ब हो।
यसले ‘आँखाको बदला आँखा’ जस्ता कठोर नियमहरू स्थापित गरेर समाजमा एकरूपता ल्याउन खोज्यो। यो व्यक्तिगत बदलाको चेतनालाई सामूहिक राज्यको न्यायमा परिणत गर्ने प्रयास थियो। प्राचीन समयमा दार्शनिक चेतनाले नै समाज सञ्चालनको मार्ग तय गर्यो।
इसापूर्व पाँचौं शताब्दीमा ग्रीसको एथेन्समा विकसित भएको प्रजातान्त्रिक अभ्यास इतिहासकै सबैभन्दा ठूलो राजनैतिक चेतनाको छलाङ थियो। सुकरात, प्लेटो र अरिस्टोटल जस्ता दार्शनिकहरूले नागरिकलाई के सही, के गलत भन्ने प्रश्न सोध्न प्रेरित गरे।
प्रत्यक्ष लोकतन्त्रको चेतनाले जन्माएको यो प्रणालीले शासक ईश्वरले पठाएको होइन बरु नागरिकद्वारा चुनिएको हो भन्ने अवधारणा स्थापित गर्यो। रोमन गणतन्त्रको विकासले एथेन्सको प्रत्यक्ष लोकतन्त्रबाट प्रतिनिधिमूलक सरकारतर्फको चेतनाको यात्रालाई संकेत गर्यो।
त्यो गणतान्त्रिक चेतनाले शक्ति एक व्यक्तिमा नभई विभिन्न निकाय (सिनेट, म्याजिस्ट्रेट) मा विभाजन हुनुपर्छ भन्ने चेतनालाई स्थापित गर्यो।
चेतनाको सैद्धान्तिक धरातल र दार्शनिक परिभाषा
चेतना केवल जागरूकता वा जान्ने अवस्था मात्र नभई मूल्याङ्कन गर्ने र प्रतिक्रिया दिने क्षमता हो। यही क्षमताले मानिसलाई परिवेशबाट प्राप्त सूचनालाई अर्थ दिन सिकाउँछ। प्लेटोले चेतनालाई ‘आइडिया’ वा ‘रूप’ मा लिएका थिए।
समाजमा न्याय, सत्य र सुन्दरताको खोजी नै यही उच्च चेतनाको प्रतिविम्ब हो। कार्ल मार्क्सले चेतनालाई भौतिक परिवेशको प्रतिविम्ब माने। यो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण हो। उनका अनुसार, आर्थिक संरचनाले समाजको चेतना, संस्कृति र राजनीतिलाई निर्धारित गर्छ।
आधार उत्पादनका साधनहरू र उत्पादन सम्बन्धहरू (अर्थतन्त्र) समावेश हुन्छन्। यो समाजको मूल आधार हो। अधिरचनामा समाजको चेतनाका रूपहरू समावेश हुन्छन्। जस्तै कानून, राजनीति, धर्म, दर्शन, संस्कृति र कला। मार्क्सवादीहरूका लागि समाजको चेतना (अधिरचना) ‘आधार’ (अर्थतन्त्र) को प्रतिविम्ब हो।
मानिसको चेतनाले उसको सामाजिक अस्तित्व निर्धारण गर्दैन बरु उसको सामाजिक अस्तित्वले उसको चेतना निर्धारण गर्छ। यस सिद्धान्तले आर्थिक अवस्था परिवर्तन भएमा मानिसको चेतना पनि परिवर्तन हुन्छ भन्ने मान्यता राख्छ। नेपाली समाजमा जब गरिबी र आर्थिक असमानता विकराल बन्दै जान्छ तब हाम्रो राजनीतिक, सामाजिक र सांस्कृतिक विश्वासको चेतना पनि सोही आर्थिक प्रणालीको पक्षमा प्रभावित हुन्छ।
सामाजिक परिवर्तन ल्याउनका लागि केवल विचार बदलेर मात्र हुँदैन बरु समाजको भौतिक आधारलाई पनि बदल्नुपर्छ। शासक वर्गले आफ्नो शक्ति कायम राख्नका लागि धर्म वा विचारहरू प्रयोग गरी श्रमिक वर्गलाई आफ्नो शोषणको बारेमा सचेत हुन नदिने अवस्थालाई मार्क्सवादीहरू ‘झूटा चेतना’ भन्छन्।
सामूहिक चेतना र सामाजिक एकता
फ्रान्सेली समाजशास्त्री एमिल दुरखिमका अनुसार “व्यक्तिहरूको चेतनाको योगभन्दा पनि ठूलो र शक्तिशाली एउटा साझा शक्ति समाजमा हुन्छ”। जसलाई उहाँले सामूहिक चेतना भन्नुभयो। यो समाजका अधिकांश सदस्यहरूले साझा रूपमा धारण गर्ने विश्वास, मूल्य, नैतिकता र भावनाहरूको एक अमूर्त प्रणाली हो। यो हरेक व्यक्तिको दिमागमा नभई समाजकै रूपमा अस्तित्वमा रहन्छ। यसले समाजलाई एकबद्धतामा राखेर व्यक्तिको व्यवहारलाई नियन्त्रण गर्छ। र के सही हो वा के गलत भन्ने सामाजिक मापदण्ड पनि स्थापित गर्छ।
उदाहरणार्थ नेपाली समाजमा पाहुनालाई देवता सरह मान्नुपर्छ भन्ने मान्यता। यो कुनै एक व्यक्तिको विचार नभई समग्र समाजले स्वीकार गरेको साझा चेतना हो भने भ्रष्टाचारलाई गलत ठान्ने सामूहिक भावनाको उपज हो। जब साझा चेतना कमजोर हुन्छ तब सामाजिक मापदण्ड भत्कन्छ र समाजमा विचलन बढ्छ। समाजमा जब व्यक्तिगत स्वार्थ हावी हुन्छ तब दुरखिमको यो ‘सामूहिक चेतना’ कमजोर भएको मान्न सकिन्छ। त्यसैले स्वस्थ समाज निर्माणका लागि यस सामूहिक चेतनालाई सकारात्मक मूल्य–मान्यताहरूलाई सामाजिक उत्तरदायित्वले मजबुत बनाउनुपर्छ
मिशेल फुकोको शक्ति सिद्धान्तले शक्तिलाई शासन गर्ने एउटा अदृश्य संरचना माने। उनका अनुसार समाजले ज्ञान र प्रवचनको माध्यमबाट मानिसको चेतनालाई नियन्त्रण गर्छ। शिक्षा प्रणाली, मिडिया र विज्ञानले जे कुरालाई सत्य वा सामान्य मान्छ त्यही नै व्यक्तिको चेतना बन्छ। यसरी समाजले नागरिकलाई सचेत रूपमा भन्दा पनि सूक्ष्म रूपमा नियन्त्रण गरिरहेको हुन्छ।
जब शक्तिशाली राष्ट्र वा शासकले मिडिया, शिक्षा र भाषाको प्रयोग गरेर कमजोर समाजको चेतनालाई हेर्ने दृष्टिकोण परिवर्तन गरिदिन्छ त्यसलाई चेतनाको उपनिवेशीकरण भनिन्छ।
सांस्कृतिक दर्शन
सांस्कृतिक दर्शनले समाजको चेतनालाई संस्कृति र परम्पराको लेन्सबाट हेर्छ। संस्कृति भनेको पुस्ता दर पुस्ता हस्तान्तरण हुँदै आएको ज्ञान, विश्वास, कला, नैतिक मूल्य र सिकेका व्यवहारहरूको समग्र रूप हो। यसरी संस्कृति भनेको एउटा समाजले हजारौं वर्षदेखि सङ्कलन गरेको सामूहिक चेतनाको संग्रहालय वा भण्डार हो।
हाम्रा चाडपर्व, भाषा, साहित्य, रीतिरिवाजहरू चेतनाका बाह्य रूपहरू हुन्। उदाहरणका लागि धान नाच, देउडा नाच, कौडा, म्हेन्दोमाया, स्याप्रु नाच्ने, देउसी-भैलो खेल्ने परम्पराहरू कुनै बेलाको सामूहिक भावना र मूल्यमान्यताको प्रतीक हुन्। अर्कोतर्फ सामाजिक विकृतिको रूपमा सयौं वर्षदेखि गरिंदै आएको जातीय तथा लैङ्गिक विभेद, छाउपडी प्रथा, दाइजो प्रथा जस्ता अमानवीय व्यवहारहरू संस्कारको रूपमा स्थापित नेपाली समाजको धार्मिक चेतनाको रूपमा प्रतिविम्बित थियो र आजसम्म पनि यो यथावत् छ।
जुन विज्ञान प्रविधिको अत्याधुनिक शताब्दीको मानव समाजमा लज्जा र व्यङ्ग्यको साझा परिचय बनिरहेको छ भने मन्द गतिमै सही जसरी नेपाली समाजको चेतना परिवर्तन हुँदैछ समयको गति सापेक्ष नभए तापनि यो सवालमा नेपाल अहिले परिवर्तनको बाटोमा छ भन्न सकिन्छ।
तर कहिलेकाहीं त्यो प्रक्रिया पछाडितर्फ फर्काउने प्रयास पनि त्यत्तिकै रहन्छ। यो पुरानो सामन्तवादी चेतनाको विम्ब हो। जब समाजको चेतना परिवर्तन हुन्छ तब संस्कृतिमा पनि परिवर्तन आउँछ। पश्चिमीकरण वा विश्वव्यापीकरणले गर्दा नेपाली समाजको संस्कृतिमा आएको परिवर्तनले हाम्रो वर्तमान चेतना बाहिरका प्रभावहरूप्रति कति खुला वा कमजोर छ भन्ने कुरा देखाउँछ।
मध्ययुगीन धार्मिक चेतना
मध्ययुगसम्म आइपुग्दा धर्मले चेतनालाई ठूलो हदसम्म नियन्त्रण गर्यो। ईश्वरीय अधिकारको सिद्धान्तले राजालाई भगवानले पठाएको प्रतिनिधि मान्ने चेतनालाई स्थापित गर्यो। यसले नागरिकलाई शासकको विरोध गर्नु भनेको ईश्वरको विरोध गर्नु हो भन्ने मनोभावमा बाँध्यो। तर यही बन्धनभित्र पनि लुकेको चेतनाले प्रतिरोधको बाटो खोल्यो। जस्तै, म्याग्ना कार्टा (१२१५) बेलायतमा भएको यो घटना मध्ययुगमा राजाको असीमित शक्तिमाथि नागरिकहरूको चेतनाले लगाएको अंकुश थियो। यसले राजा पनि कानूनभन्दा माथि छैन भन्ने सीमित शासनको चेतनालाई प्रारम्भिक रूपमा स्थापित गर्यो। ज्ञानोदय र क्रान्तिको चेतनाले सत्रौं र अठारौं शताब्दीमा जोन लक, रुसो र भोल्टेयर जस्ता विचारकहरूले मानवलाई जन्मसिद्ध अधिकार र तर्कसंगत सोचको चेतना प्रदान गरे।
यस चेतनाले मध्ययुगको धार्मिक नियन्त्रणलाई तोड्यो र मानिसलाई आफ्नै भाग्यको निर्णायक बन्ने प्रेरणा दियो। यही जागरणको चेतनाले अमेरिकी क्रान्ति (१७७६) र फ्रान्सेली क्रान्ति (१७८९) जस्ता विश्व परिवर्तनकारी घटनाहरूलाई जन्म दियो। जसले राजतन्त्रलाई पल्टाएर स्वतन्त्रता, समानता र भ्रातृत्वको नयाँ राजनैतिक चेतना स्थापना गर्ने आन्दोलनमा निर्णायक भूमिका थियो।
औद्योगिक क्रान्तिपछि युरोपमा शक्ति सञ्चय गर्ने साम्राज्यवादी चेतनाले नयाँ राजनैतिक गति लियो। यो चेतना ‘आफ्नो राष्ट्रको हित सर्वोच्च हो’ र ‘कमजोर राष्ट्रलाई नियन्त्रण गर्नु आफ्नो अधिकार हो’ भन्ने भ्रममा आधारित थियो। उपनिवेशवाद र नियन्त्रणको चेतनाले युरोपेली शक्तिहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकालाई आफ्नो स्रोतको भण्डार र बजारका रूपमा हेरे। यो चेतनाले लाखौं मानिसलाई जातीय विभेद, आर्थिक शोषण र राजनीतिक दासताको शिकार बनायो।
साम्राज्यवादी चेतना विरुद्ध प्रतिरोधी झिल्का
रूसी क्रान्ति (१९१७)ले रूसमा जारशाहीको निरङ्कुश शासन र चरम गरिबी विरुद्ध मार्क्सवादी चेतनाको उदय भयो। लेनिन र बोल्सेभिकहरूले ‘श्रमजीवी वर्गको मुक्ति’ र ‘सम्पत्तिको सामूहिक स्वामित्व’ को चेतना जागृत गराए। यस क्रान्तिले राजनैतिक शक्ति अब धनी वर्गबाट खोसेर सर्वहारा वर्गको हातमा पुर्याउन सकिन्छ भन्ने नयाँ राजनैतिक दर्शन स्थापित गर्यो। त्यस्तै चिनियाँ क्रान्ति (१९४९) र जातीय जागरणको चेतनाले चीनमा शताब्दियौंदेखिको कमजोर शासन र विदेशी शक्तिहरूको हस्तक्षेप विरुद्ध राष्ट्रवादी तथा कम्युनिस्ट चेतना जागृत भयो।
माओ त्सेतुङले ग्रामीण किसानहरूमा क्रान्तिको चेतना फैलाएर विदेशी शक्ति र आन्तरिक सामन्तवादलाई परास्त गरे। यो आन्दोलनले गरिब र अशिक्षित जनता पनि राजनैतिक परिवर्तनका मुख्य शक्ति हुन् भन्ने चेतनालाई प्रमाणित गर्यो। श्रृङ्खलाबद्ध घटना परिघटनाहरूसँगै विश्वका विभिन्न स्थान र स्वरूपहरूमा स्वतन्त्रता आन्दोलन र प्रतिरोधी चेतनाको विजयी परिणामहरू देखिन शुरु भयो।
बीसौं शताब्दीको मध्यतिर एशिया र अफ्रिकामा उपनिवेशवादी नियन्त्रण विरुद्ध व्यापक स्वतन्त्रताको चेतना जागृत भयो। महात्मा गान्धीको अहिंसात्मक चेतनाले भारतमा गान्धीले हिंसाको साटो सत्य, अहिंसा र सत्याग्रहको अनौठो चेतना प्रयोग गरे। उनले जनतालाई ‘हामी शासकको सहयोग विना बाँच्न सक्छौं’ भन्ने आत्मिक शक्तिको चेतना दिएर साम्राज्यवादी शक्तिलाई नैतिक रूपमा कमजोर बनाए।
नेपाली सन्दर्भमा चेतनाको भूमिका
मानव चेतनाको प्रारम्भिक झिल्काले नै समाज र राजनीतिक संरचनाको जग बसाल्यो। नेपालको सन्दर्भमा पनि राजनैतिक परिवर्तनहरू कुनै बाह्य कारकले भन्दा बढी आन्तरिक चेतनाको जागरणले सम्भव भएका छन्। राणा शासनदेखि गणतन्त्रसम्मको यात्रा चेतनाको यही द्वन्द्वात्मक प्रक्रियाको प्रमाण हो। राणाकालमा नियन्त्रणको चेतना सामन्ती पारिवारिक शासन हावी थियो। तर भारतमा स्वतन्त्रता आन्दोलनको प्रभाव र विश्वव्यापी लोकतान्त्रिक चेतनाले गर्दा शिक्षित युवाहरूमा स्वतन्त्रता र समानताको प्रतिरोधी चेतना जाग्यो।
नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको गठन हुनु सामूहिक समानता र जनताको हक स्थापित गर्ने चेतनाको एक सशक्त अभिव्यक्ति थियो। २००७ सालको क्रान्ति केवल हतियारले मात्र नभई ‘राणा शासन टिकाउ छैन’ भन्ने सामूहिक चेतनाको विजय थियो। तत्कालीन परिस्थिति अनुसार राजा, राजनीतिक दल र जनता बीचको मिलनले एक प्रकारको सहकार्यको अवस्था बन्यो। २०१७ सालको राजा महेन्द्रको ‘कु’ले प्रथम निर्वाचित सरकारलाई अपदस्थ गर्नु शक्तिसञ्चयको पुरानो चेतनाको पुनरावृत्ति थियो। यसले लोकतान्त्रिक चेतनालाई अवरोध खडा गर्यो र जनताको शक्तिलाई गौण बनायो।
२०२८ सालको झापा विद्रोह पञ्चायती व्यवस्थामा स्थापित वर्गीय असमानताको चेतना विरुद्ध गरिएको विद्रोह थियो। यसले नेपालमा राजनीतिक परिवर्तनको लागि हतियार उठाउन सकिन्छ भन्ने सशस्त्र क्रान्तिको चेतनालाई जन्म दियो। जुन असमानता विरुद्धको चेतना र जनआन्दोलनको सुरूवाती शृङ्खला थियो। त्यस्तै २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहले दमनको चेतनालाई तोड्दै युवा शक्तिले राजनीतिक परिवर्तन ल्याउन सक्छ भन्ने चेतनालाई स्थापित गर्यो। जनमत संग्रहमा पञ्चायतले जिते पनि यसले जनतालाई आफ्नो विचार मतदान मार्फत व्यक्त गर्न पाइन्छ भन्ने राजनीतिक सहभागिताको चेतनाको बीजारोपण गर्यो।
२०४६ सालको जनआन्दोलन र २०४७ को संविधानले बहुदलीय लोकतन्त्र नै उत्तम राजनैतिक प्रणाली हो भन्ने सर्वव्यापी चेतनालाई नेपाली समाजमा स्थापित गर्यो। २०४७ को संविधानले जनतालाई कानूनी सर्वोच्चता र मानवअधिकारको चेतना दियो। तर उक्त संविधानले समानता, समावेशिता र आर्थिक न्यायको चेतनालाई पूर्ण रूपमा सम्बोधन गर्न सकेन। त्यही असन्तुष्टि र सीमान्तीकृत चेतनाको विस्फोट स्वरूप २०५२ सालमा सशस्त्र युद्ध शुरु भयो। नयाँ चेतना र द्वन्द्वको उत्कर्षबाट जन्मिएको त्यस सशस्त्र युद्धले समाजमा वर्गीय, जातीय र लैङ्गिक असमानतालाई निर्णायक रूपमा सम्बोधन गर्नुपर्छ भन्ने चेतनालाई राष्ट्रिय बहसको केन्द्रमा ल्यायो।
त्यही दशवर्षे सशस्त्र युद्धलाई मुख्य आधार बनाएर युद्धरत पक्ष र तत्कालीन अन्य संसदीय राजनीतिक दलहरूको सामूंहिक आह्वानमा २०६२/६३ सालको जनआन्दोलन भयो। उक्त जनआन्दोलनले राजाको पूर्ण सक्रिय शासनको चेतनालाई सदाका लागि अन्त्य गर्यो। राजनीतिक दल र तत्कालीन विद्रोही बीचको सहमतिको चेतनाले देशलाई गणतन्त्रको बाटोमा डोर्यायो।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी/समानुपातिक प्रणाली यी सबै परिवर्तन बहुआयामिक चेतनाका प्रतिविम्ब हुन् भने गणतन्त्र राजतन्त्रको समाप्ति र सार्वभौमसत्ता जनतामा निहित रहने चेतनाको प्रतिविम्ब हो। संघीयता केन्द्रीकृत शासनको अन्त्य र स्थानीय जनताको पहुँच र पहिचान, समावेशी/समानुपातिक प्रणाली बहिष्करणको चेतनालाई तोड्दै सबैको प्रतिनिधित्व सुनिश्चित गर्ने चेतनाको प्रतिविम्ब हो।
२०७२ सालको गणतान्त्रिक संविधानले नेपालको राजनीतिक चेतनालाई संस्थागत गरेको मात्रै नभएर यसले युगौंदेखि स्थापित संरचनालाई समावेशी र लोकतान्त्रिक चेतनाको जगमा उभ्यायो। यो परिवर्तित नयाँ राजनैतिक चेतनाको संस्थागतकरणको सचेत पहल हो। यसरी मानव सभ्यताको प्रारम्भिक चरणदेखि नै राजनैतिक घटना र समाज सञ्चालनमा चेतनाको भूमिका आधारभूत रहेको देखिन्छ। शासकले आफ्नो सत्तालाई स्थापित गर्न चेतनालाई धार्मिक वा दार्शनिक माध्यमबाट नियन्त्रण गर्ने प्रयास गरे पनि जब नागरिकमा अधिकार र न्यायको चेतना जाग्यो तब ठूला राजनैतिक आन्दोलनहरू भए र समाजको गति नै परिवर्तन भयो।
यसर्थ इतिहास साक्षी छ कि, राजनीतिक संरचनाहरू बलले मात्र होइन बरु प्रबल चेतनाले खडा हुन्छन् र ढल्छन्। चाहे त्यो प्राचीन सभ्यताको नियम बनाउने चेतना होस् वा उपनिवेशवाद विरुद्ध लड्ने स्वतन्त्रताको चेतना। त्यही सामूहिक मानव चेतना नै समाजमा राजनीतिक परिवर्तन र आन्दोलनहरूको मूल आधार रहेको छ।
प्रतिविम्बित वर्तमान चेतना
नेपाली नागरिकहरू लोकतन्त्रबारे शाब्दिक रूपमा जानकार भए पनि यसको व्यापक अर्थबारे स्पष्ट सामूहिक चेतनाको अभाव देखिन्छ। यसलाई केवल आवधिक चुनाव र आफ्नो नेताको जितमा सीमित गरिएको छ। जसका कारण लोकतन्त्रको परिभाषामा नै अन्योल जस्तो देखिएको छ।
वर्तमान चेतना सामूहिक कल्याण भन्दा व्यक्तिगत लाभमा केन्द्रित भएको छ। नेता तथा कर्मचारीहरूमा देखिएको आफ्नो पद र शक्तिलाई व्यक्तिगत सम्पत्ति बनाउने चेतनाले सुशासन र विकासको सामूहिक चेतनालाई कमजोर बनाएको छ। काम छिटो गराउनका लागि घुस दिन तयार हुन वा कानून मिच्न सामान्य मान्ने आम मानिसको चेतनाले भ्रष्टाचारलाई संस्थागत गरेको छ। सामाजिक हैसियतलाई पैसा वा भौतिक वस्तुले मात्र मापन गर्ने प्रवृत्तिले समाजमा प्रतिस्पर्धा, तनाव र अस्वस्थ दौडलाई बढाएको छ।
आलोचनात्मक चेतनाको अभावले सत्य र असत्य छुट्याउन नसक्ने र स्थापित कुरालाई नै मान्नुपर्छ भन्ने चेतना सतहसम्म हावी छ। जसकारण नेताहरूको आलोचना गर्नुभन्दा पनि कुनै निश्चित पार्टी वा व्यक्तिको समर्थनमा आँखा चिम्लेर विश्वास गर्ने प्रवृत्तिले प्रश्न गर्ने र सशक्त नागरिक बन्ने चेतनालाई बन्ध्याकरण गर्छ। चाटुकारिता र भागबण्डाको स्वार्थले राजनीतिक नेतृत्वमा सत्ता नै साध्य हो भन्ने चेतना हावी भएको छ। जसका कारण सिद्धान्त, नैतिकता र जनसेवा गौण बनेर भागबण्डाको संस्कृति मौलाएको छ।
सामाजिक सञ्जालले द्रुत सूचना प्रवाह गरे पनि पक्षधरताको चेतनालाई बढावा दिएको छ। नागरिकहरू तथ्यको आधारमा भन्दा पनि भावना र समूहगत रुझानका आधारमा विभाजित भएका छन्। सामाजिक सञ्जालमा आएका अफवाह वा सतही जानकारीलाई सजिलै विश्वास गर्ने लहडले गहिरो विश्लेषण गर्ने धैर्यको अभाव तथा सूचनाको सतहीकरणलाई पुष्टि गर्छ।
नेपालमा पुराना मूल्यमान्यता जस्तै: सामूहिक परिवार, नैतिक मूल्यमान्यता, शिष्टाचार, धार्मिक सहिष्णुता र नयाँ पुस्ताको व्यक्तिवादी स्वतन्त्र चेतना बीचको द्वन्द्व स्पष्ट देखिन्छ। यो परम्परागत र आधुनिक चेतनाको सङ्घर्ष हो। लैङ्गिक चेतनाको विकाससँगै दशकौंदेखि स्थापित पितृसत्तात्मक चेतनालाई समानता र अधिकारको चेतनाले चुनौती दिएको छ।
महिला र सीमान्तकृत समुदायको सचेतनाले गर्दा समाजमा ठूलो वैचारिक बहस शुरु भएको छ। यो नेपाली समाजको सामाजिक र सांस्कृतिक चेतना सङ्घर्षको एउटा चरण हो। जातीय विभेद, लैंगिक असमानता वा बोक्सी आरोप जस्ता कुरीतिहरूलाई चलिआएको चलन हो मान्नैपर्छ भन्ने पुरानो जड चेतनाले थामेर राखेको छ।
उपभोक्तावादी संस्कृति र पलायनको बाटो
सन् १९९० को दशकपछि नेपालमा भूमण्डलीकरण र उदारीकरणले ल्याएको मुख्य चेतना हो उपभोक्तावाद। छिटो धनी बन्ने वा देखावटी जीवनशैलीको चेतनाले गर्दा इमानदार श्रमको सट्टा अनियमित कमाइ र भ्रष्टाचारलाई प्रोत्साहन मिलेको छ। जसले आर्थिक असमानतालाई अत्यधिक प्रोत्साहन गरिरहेको छ।
वैदेशिक रोजगारीको मोह केही हदसम्म देशभित्र अवसरको अभाव भन्दा पनि विदेशमा मात्र सुख छ भन्ने सामाजिक चेतनाका कारण युवाहरू पलायन हुन बाध्य छन्। देशमा भविष्य नदेखेर विदेश जानुलाई सफलताको एकमात्र मापदण्ड मान्ने बुझाइ मूल समस्याको रूपमा देखिएको छ। युवाहरूमा देश बन्दैन वा मैले यहाँ केही गर्न सक्दिनँ भन्ने सामूहिक निराशा फैलिएको छ।
उत्कृष्ट शिक्षा, श्रम र क्षमता भएका युवाहरू देश निर्माणको सक्रिय भूमिकाबाट विमुख भई विदेश पलायन हुनुले दक्ष जनशक्ति बर्बादीको सूचकाङ्क उच्च देखाउँछ। रेमिट्यान्समा निर्भर हुने अर्थतन्त्रको विकासले आफैं श्रम गर्ने भन्दा बाहिरबाट पैसा आउँछ भन्ने निष्क्रिय सोचलाई बढावा दिएको छ। जसले निर्भरताको संस्कृति नै बदलिएको छ।
वैदेशिक रोजगारले भित्रिएको पूँजीलाई सरकारी तवरबाट लगानीको वातावरण नबन्दा बाध्यात्मक लगानीको केन्द्र घर जग्गा बनेको छ। जग्गाको खण्डीकरणले कृषिप्रधान देशको उत्पादनशील जमिनमा खेती गर्नुको सट्टा त्यसलाई घडेरी बनाएर तत्काल नाफा कमाउने चेतनाले कृषि क्षेत्र संकटमा परेको छ।
जेनजी आन्दोलन नयाँ चेतनाको झिल्का
२०७२ को संविधान घोषणापछिको १० वर्ष नेपालको राजनैतिक नेतृत्वमा शक्ति र पदलोलुपताको चेतना हावी भयो। स्थिर सरकारको अवसर पाए पनि नैतिकता, सुशासन र विकासको चेतना कमजोर बन्यो। यसले नागरिकहरूमा अब नेताहरूमाथि विश्वास गर्न सकिंदैन भन्ने निराशा र आक्रोशको चेतना स्थापित गर्यो। त्यही अवस्था चरम बिन्दुमा पुगेर जेनजी आन्दोलनको रूपमा विस्फोट भयो। यो दलगत स्वार्थभन्दा माथि उठेर निष्पक्षता, नैतिकता र विधिको शासनलाई जोड दिने चेतना यसको मूल मर्म थियो।
यो आन्दोलन परम्परागत राजनीतिक दल वा नेताको नेतृत्वमा भएको नभई स्वस्फूर्त नागरिक चेतनाबाट भएको हो। यसले स्थापित राजनीतिक शक्तिहरूलाई अब युवाहरू चुप लागेर बस्दैनन् भन्ने नयाँ चेतना दिएको छ। साथै नेताहरूलाई अमूर्त नारामा होइन व्यक्तिगत भ्रष्टाचार र पेशागत अयोग्यताको लागि जिम्मेवार ठहर्याउने जवाफदेहिता, सूचनाप्रविधि र सामाजिक सञ्जालको शक्ति प्रयोग गरेर पनि आन्दोलन गर्न सकिन्छ भन्ने डिजिटल सक्रियताको चेतना स्थापित गर्ने जस्ता नयाँ मान्यताहरू स्थापित गरेका छन्।
सचेत नागरिकको भूमिका
सचेत नागरिकको परिभाषा त्यो हो जसले समाजको समस्यालाई अरूको मात्र होइन मेरो पनि हो भनेर स्वीकार गर्छ। व्यक्तिको आन्तरिक परिवर्तनले समाज परिवर्तन गर्नुअघि म कति इमानदार वा कति जिम्मेवार छु भनेर आफ्नो लेखाजोखा गर्ने गर्दछ। व्यक्तिगत तहमा घुस नलिने नदिने सार्वजनिक सम्पत्तिको सम्मान गर्ने जस्ता सानो सकारात्मक व्यवहारले सामूहिक चेतनालाई जगाउन थाल्छ।
समाधानको पहिलो खुड्किलो भनेको अधिकारको चेतना भन्दा पनि कर्तव्य र जवाफदेहिताको चेतनालाई प्राथमिकता दिनु हो। हरेक नागरिकले सरकार र नेतृत्वलाई नैतिक प्रश्न सोध्ने बानी बसाल्नुपर्छ। नेपालमा राजनैतिक प्रणाली परिवर्तन भए पनि शासन गर्ने र सेवा दिने पुरानो मनोवृत्ति नबदलिंदा समस्या आएको भन्ने कुरा नकार्न कसैले पनि सक्दैन। चुनावमा नेताको अनुहार वा भाषणमा भन्दा पनि उसको सिद्धान्त, नैतिकता र कार्ययोजनामा आधारित रहेर मतदान गर्ने विवेकशील चेतनाको विकास अपरिहार्य छ।
नागरिकले आफूलाई परिवर्तन गरेर पार्टीको झण्डा भन्दा देशको भविष्यलाई प्राथमिकता दिने सचेत चेतना विकास गर्नुपर्छ। ‘म’ बाट ‘हामी’ तर्फको यात्रा अर्थात् व्यक्तिवादी स्वार्थमाथि सामूहिक सामाजिक हितको चेतनालाई स्थापित गर्नुपर्छ। सार्वजनिक सम्पत्ति, सार्वजनिक सेवा र सार्वजनिक हितको महत्त्व बुझाउने शिक्षाको आवश्यकता छ। संरचनागत सुधारका लागि भ्रष्टाचार विरोधी चेतनाको संस्थागतकरण गर्दै भ्रष्टाचारलाई केवल कानूनी अपराध नभई सामाजिक अपराध हो भन्ने चेतना हरेक तहमा स्थापित गर्नुपर्छ। यसका लागि विद्यालयको पाठ्यक्रमदेखि सार्वजनिक अभियानसम्म आवश्यक छ।
पारदर्शिता र सूचनाको हकमा राज्य सञ्चालनमा गोपनीयता भन्दा पनि पारदर्शिता नै सुशासनको आधार हो भन्ने चेतनालाई मजबुत बनाउनुपर्छ। मिडियाको निष्पक्षतालाई कायम राखेर मिडियाले सनसनीपूर्ण समाचारभन्दा तथ्यात्मक सत्यलाई प्रस्तुत गर्ने नैतिक चेतना कायम राख्नुपर्छ। जसले गर्दा नागरिक भ्रमित नहोस्। प्रकृति र मानवको अन्योन्याश्रित सम्बन्ध र पर्यावरण चेतनालाई राजनैतिक प्राथमिकताको विषय बनाउनुपर्छ।
जागरणको उद्घोष र अबको यात्रा
इतिहासले प्रमाणित गरिसकेको छ कि बाह्य कारणले ल्याएको परिवर्तनभन्दा आन्तरिक चेतनाबाट आएको परिवर्तन मात्र स्थायी हुन्छ। चेतना कुनै एक पटकमा प्राप्त हुने वस्तु होइन। यो समाजको विकाससँगै परिवर्तन भइरहने गतिशील प्रक्रिया हो। त्यसैले नागरिकहरूले सधैं आफ्नो चेतनालाई प्रश्न र परिष्कृत गर्ने प्रक्रिया निरन्तर जागरणको रूपमा जारी राख्नुपर्छ।
अबको क्रान्ति सामरिक शक्ति प्रयोगको राजनीतिले भन्दा पनि प्रभावकारी चेतनाको जागरणले मात्र सम्भव छ। नेपालको राजनैतिक इतिहासमा हरेक प्रणाली परिवर्तनको कारण नागरिकको सचेतना थियो। २०८२ भदौको जेनजी आन्दोलनले यही तथ्यलाई पुनः प्रमाणित गरेको छ। भविष्यमा नेपालले दिगो स्थायित्व र समृद्धिको बाटो समाउनको लागि व्यक्तिगत स्वार्थ केन्द्रित दलीय चेतनालाई राष्ट्रिय हितको चेतनाले प्रतिस्थापन गर्नुको विकल्प छैन।
जबसम्म नेता र नागरिक दुवैले इमानदारी र सुशासनलाई आफ्नो सामूहिक चेतना बनाउँदैनन् तबसम्म कुनै पनि राजनैतिक प्रणाली सफल हुन सक्दैन। चेतनाको जागरणले मात्र सुशासन सम्भव हुन्छ। जब नागरिकले गलत कुरा सहन गर्दिनँ भन्ने चेतना देखाउँछ तब मात्र शासकहरू सही बाटोमा आउन बाध्य हुन्छन्। प्रत्येक नागरिकले अब नेतालाई मात्र होइन स्वयंलाई पनि मैले समाजका लागि के गरें? भनेर प्रश्न गर्ने चेतनाको उद्घोष गर्ने र जवाफदेहितामा स्पष्ट हुनुपर्दछ।
अरूको नक्कल गर्नेभन्दा नेपालको विशिष्ट भौगोलिक, सांस्कृतिक र सामाजिक पहिचानलाई विश्वसामु स्थापित गर्ने नेपालीपनको मौलिक आत्मविश्वासको चेतना विकसित गर्नुपर्छ। नेपालीपनको नयाँ परिभाषालाई केवल भूगोलमा होइन बरु इमानदारी, देशभक्ति र सामाजिक न्यायको उच्च नैतिक चेतनामा आधारित गर्दै भ्रष्ट समाज होइन सचेत समाज निर्माणको यात्रा तय गर्नुपर्छ।
समाजमा व्याप्त विकृति, भ्रष्टाचार र अस्थिरतालाई बदल्नका लागि सबैभन्दा पहिले हरेक व्यक्तिले आफ्नो आन्तरिक चेतनामा परिवर्तन ल्याउनु आवश्यक छ। जबसम्म नागरिकले म पनि शासक हुँ र यो राष्ट्र मेरो पनि हो भन्ने गहन चेतना विकास गर्दैनन् तबसम्म कुनै पनि राजनैतिक प्रणाली वा क्रान्तिले स्थायी सुख र समृद्धि ल्याउन सक्दैन।
नेपाली समाजको आजको समस्या ऐनामा देखिएको धमिलो तस्बिर जस्तै हो। जुन तस्बिरलाई सफा गर्नका लागि बाहिरको ऐना होइन बरु ऐना हेर्ने चेतनालाई नै शुद्ध पार्न जरूरी छ। नेपाली समाजमा अहिले देखिने निराशा अस्थायी हो। जब सचेत नागरिकहरू जाग्छन् तब यो सामूहिक चेतना एक शक्तिशाली लहर बन्नेछ र समाज अर्थात् चेतनाको प्रतिविम्ब स्वतः उज्ज्वल बन्नेछ।
प्रतिक्रिया 4