३० कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आज (आइतबार) सम्म १ सय २२ वटा राजनीतिक दल कायम रहेको जानकारी गराएको छ ।
अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा पनि १ सय २२ वटा नै राजनीतिक दल आयोगमा दर्ता रहेको र आजको मितिसम्म पनि सोही संख्यामा दर्ता भएका दल संख्या रहेको आयोगले बताएको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यसबीचमा ७ वटा राजनीतिक दल नयाँ दर्ता भएका छन् भने ७ वटा नै यसअघि कायम भएका दल खारेज भएका छन् ।
एउटा अदालतबाट र ६ वटा सम्बन्धित दलका पदाधिकारीले दिएको निवेदनका आधारमा आयोगले खारेजीको निर्णय लिएको उनले बताए ।
अन्य २८ वटा राजनीतिक दल भने दर्ताको प्रक्रियामा रहेको उनले जानकारी दिए । आयोगमा यसरी दर्ताका लागि कागजात पेश भएका २८ वटै दलबारे सनाखत र कागजात रुजुको काम भइरहेको उनले पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
‘निर्वाचन घोषणा हुँदा १२२ वटा दल थिए । यो बीचमा आजका दिनमा पनि दर्ता भएका राजनीतिक दलको संख्या १२२ वटा नै छ । यो बीचमा ७ वटा राजनीतिक दल खारेज भए । र यति नै थपिए,’ भट्टराईले भने, ‘अहिले २८ वटा दल दर्ताका लागि पाइपलाइनमा छ । उहाँहरू दल दर्ताको प्रक्रियामा हुनुहुन्छ ।’
कागजात लिएर कागजात लिएर आयोगमा पुग्नेलाई अध्ययन र सनाखत पछि प्रमाणपत्र दिनेगरी आयोगले काम गरिरहेको उनले बताए ।
‘खासगरी कानुन बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सनाखत सम्पन्न र कागजात प्राप्त भएपछि आयोगबाट निर्णय हुनेछ,’ उनले भने ।
यसमा कतिवटा नयाँ दल जेनजीका वा अन्य अरुका भने छुट्टाउने काम भने आयोगले नगरेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4