३० कात्तिक, काठमाडौं । नेपालस्थित फ्रेन्च दूतावासले मर्यादित महिनावारी र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी परियोजनाका लागि राधा पौडेल फाउन्डेसनलाई ४,००० युरो अनुदान प्रदान गर्ने घोषणा गरेको छ।
फ्रेन्च दूतावासले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपालमा लैङ्गिक हिंसा रोकथामका लागि मर्यादित महिनावारीमा युवा नेतृत्व सुदृढ गर्ने’ परियोजनालाई सहयोग गर्ने जनाएको हो। यो परियोजना सन् २०२६ को जनवरीदेखि डिसेम्बरसम्म सञ्चालन हुनेछ।
यसको मुख्य उद्देश्य मर्यादित महिनावारीमा युवा नेतृत्वलाई सशक्त गर्दै सबै तह र क्षेत्रमा रहेको खाडललाई कम गर्नु रहेको छ।
नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनि कोर्टेभलले यो पहल फ्रान्सको महिलाकेन्द्रित कूटनीतिको अन्तर्राष्ट्रिय रणनीतिको प्रतिबिम्ब भएको बताइन् । उनका अनुसार फ्रान्सको विदेश नीतिले महिला तथा बालिकाको अधिकार र लैङ्गिक समानतालाई केन्द्रमा राखेको छ।
महिलाद्वारा नेतृत्व गरिएको संस्था राधा पौडेल फाउन्डेसनले लैङ्गिक हिंसा रोकथाममा ध्यान केन्द्रित गर्दै आएको छ। यसले पैरवी, अभियान, अनुसन्धान, तालिम, प्रकाशन र वेबिनारहरू मार्फत ‘मर्यादित महिनावारीको अवधारणामा काम गरिरहेको छ।
यसले आफ्नो सञ्जाल ‘मर्यादित महिनावारी अभियान नेपाल (डीएमसी नेपाल)’ मार्फत नेपालका सबै सात प्रदेशहरूमा विभिन्न स्तरमा काम गरिरहेको छ।
प्रतिक्रिया 4