३० कात्तिक, विराटनगर । राजनीतिक विश्लेषक राजेन्द्र शर्मा धरानका नागरिक अगुवा हुन् । धरानको विकासक्रमका बारेमा जानकार शर्मासँग हर्क साम्पाङले गठन गरेको दल र उनको अभियानका केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :
हर्क साम्पाङले स्वतन्त्र भएर उम्मेदवार भएर चुनाव जिते, जितेपछि आलोचना र सकारात्मक पक्ष दुवै छन् । उनको पछिल्लो अभियानलाई कसरी बुझ्नुहुन्छ ?
हिजो उनी उठ्दा धरानमा उनले जित्छन् भनेर कसैले पत्त्याएकै थिएन । यत्रो ठूलो दलहरूको प्रतिस्पर्धा गरेर एउटा स्वतन्त्र मान्छे, त्यो पनि हर्क साम्पाङ सामान्य अभियन्ताको रूपमा थिए । तर, विविध कारणले उनले चुनाव जिते ।
अब राष्ट्रियस्तरको राजनीतिमा उनी होमिँदैछन् । उनको पपुलारिटी धरान बजारमा जति छ । धरानभन्दा बाहिर धेरै छ । अझ नेपालमा जति छ, त्योभन्दा बाहिर विदेशमा धेरै छ । यसपालिको सरकारले विदेशबाट पनि राजदूतावासमार्फत भोट हाल्ने अध्यादेश ल्याउँदैछ । त्यसो भयो भने हर्क साम्पाङको पार्टीले समानुपातिक भोट विदेशबाट ल्याउँछ, धरानभन्दा बाहिरबाट भोट ल्याउँछन् ।
अब मेयरबाट राजीनामा दिएर चुनाव लड्ने तयारी सुनिँदैछ । तर, सार्वजनिक रूपमा चाहिँ बोलेको सुनेको छैन । कस्तो होला रहला ?
फागुन चुनाव आइहाल्यो, मंसिर, पुस, माघ र फागुन आधा गर्दा साढे तीन महिना छ । यो साढे तीन महिनामा उनले प्रत्यक्ष निर्वाचित हुने जनमत कसरी बनाउलान् त्यो एउटा शंकाकै घेराभित्र छ । चुनाव हो, एकै रातमा कहाँबाट कहाँ पुग्छ । दरबार चलाइरहेका राजाहरू त एकैछिनमा पतन भएर कहाँ पुग्छन् । निर्वाचनमा जे पनि हुन सक्छ, त्यो एक किसिमको म्याजिकल इभेन्ट हो । म्याजिकल रिजल्ट आउँछन् कहिलेकाहिँ ।
हिजो दललाई गाली गरेर चुनाव जिते । आज दल खोलेर अघि बढ्दा धरानको मनोविज्ञान कस्तो देखिन्छ ?
४७ सालदेखि ७९ आइपुग्दा दलहरूले गरेका जुन ३०–३२ वर्षको उपलब्धि हो, त्यो उपलब्धिबाट आम जनमानस असन्तुष्ट थियो । त्यसकारण असन्तुष्टिको भोट नानीमैयाले पाए जस्तो उनले पनि पाए । अबको अवस्था त्यस्तो छैन । उनी न प्लानर हुन्, न केही हुन् । उनले खाली एउटा नारा दिन्छन्, माटोलाई माया गरौँ, श्रमदान गरौँ । अब यसरी देश बन्दैन । देश त योजनाले बन्छ, उनको त योजना नीति बनाएर देश बन्ने होइन । माटोलाई काम गरेर देश बन्ने हो भन्छन्, उनको अब उल्टो गतिमा जाँदैछन् । उनको त्यो नीतिगत धरातल छैन ।
दलसँग असन्तुष्टहरूको ठूलो जमात आजपनि उनैसँग छ नि ?
सबै पार्टीका, एमालेका, कांग्रेसका, माओवादीका, जसपाका जति पनि पहिचानवादी पार्टीका, ती मानिसहरू अहिले पनि उनको पछाडि छन् ।
दल घोषणा गरिसकेपछिका सभाहरूमा उपस्थिति बाक्लो छ । त्यो हुनुको पछाडि के होला ?
उनी धरानमा भन्दा धरान बाहिर पपुलर छन्। उनलाई जसले नजिकबाट चिनेको र बेहोरेको छ उनीहरूको बीचमा उनी पपुलर छैनन् । जसले बेहोर्नुपर्दैन उनीहरूको बीचमा उनी पपुलर छन् ।
उनको अभियानमा आदिवासी जनजाति समुदायको बढी सहभागिता देखिन्छ । अभियान पनि जनजाति समुदायको बाहुल्य भएको क्षेत्रहरूमा बढी केन्द्रित देखिन्छ । यसलाई कसरी लिन सकिन्छ ?
उनको जुन धरातल छ, त्यो धरातलमा असन्तुष्ट मानिसहरूको समूह छ । पहिचानवादीहरूको समूह छ । तर, सैद्धान्तिक विचारले निर्देशित छैन उनको पार्टी । त्यसकारणले विचारले निर्देशित नभएको कारणले गर्दा के त भन्ने प्रश्न छ । समाजवादतिर जाने हो कि, साम्यवादतिर जाने हो कि, प्रजातान्त्रिक अभ्यासमा खुल्ला समाजतिर जाने हो कि यी सबै कुरामा उनको अहिलेसम्म स्पष्ट विचार आएको छैन ।
असन्तुष्ट मतहरूलाई समेट्दै अगाडि बढ्न खोजेको देखिन्छ नि ?
असन्तुष्ट मतहरूलाई समेटेको देखिन्छ र अलिकति जनजाति अनुहारहरू समेटिएका देखिन्छन् । सेलिब्रेटीसँग फोटो खिचाउने, खालको अभियानमा अरू पार्टीका मान्छे पनि गएका छन् । श्रमदानको भीडमा सबै हर्क साम्पाङको पार्टीका, हर्क साम्पाङका समर्थक मात्रै छैनन् । अरू अरू पार्टीका मान्छे पनि जान्छन् ।
प्रतिक्रिया 4