३० कात्तिक, काठमाडौं । नेपाल ट्रस्टको जग्गा लिजमा दिने निर्णयमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसचिव अर्जुनबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
सीआईबीको टोलीले ट्रष्टका तत्कालीन कार्यकारी सचिव कार्कीलाई पक्राउ गरेको हो । जग्गा लिजमा दिने निर्णय हुँदा सचिव कार्कीले आफूसँग भएको अधिकार सहसचिव लेखबहादुर कार्कीलाई प्रत्यायोजन गरेर आफू निर्णय प्रक्रियाबाट अलग भएका थिए ।
‘मूल निर्णयमा उहाँ (तत्कालिन सचिव कार्की) को संलग्नता देखिँदैन,’ सीआईबी सम्बद्ध स्रोतले भन्यो, ‘तर पक्राउ परेर थुनामा रहेका सहसचिव लेखबहादुर कार्कीले बयानका क्रममा मलाई सचिवले ठाडो निर्देशन र दबाब दिएपछि निर्णय गर्न बाध्य भएको हुँ भनेर बताउनुभयो । त्यसपछि पक्राउ गरेका हौं ।’
आफू फस्ने डरले आफूमा निहीत अधिकार सहसचिवमा प्रत्यायोजन गरेका सचिव अर्जुनबहादुर कार्कीले निर्णयमा भने सहसचिवलाई दबाब दिएका थिए ।

स्वार्थ समूहको काम गरिदिएपछि उनी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा सरुवा भएका थिए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन समेत भइसकेका कार्की त्यहाँ रहदा ट्रान्सफर्मर खरिद विवादमा पनि मुछिएका थिए । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अरु कयौं ट्रन्फर्मर खरिदको निर्णयमा अनुसन्धान गरेपनि अर्जुनबहादुर कार्कीको पालामा भएको निर्णयमाथि अनुसन्धान टुंगोमा पुर्याउन नसक्दा उन्मुक्ति पाएका थिए ।
२०७२ सालको भुकम्पको बेलामा कार्की शहरी विकास मन्त्रालयका सचिव थिए । भूकम्पको बेलामा त्रिपाल खरिद गर्दा अनियमिततामा मुछिएपनि अख्तियारले उनलाई मुद्दा चलाएको थिएन । त्रिपाल प्रकरणमा अख्तियारले उनीसँग बयान मात्रै लिएर मुद्दा नचलाई छाडेको थियो ।
‘अन्य कयौं प्रक्रियामा संलग्न’
सीआईबी सम्बद्ध स्रोतका अनुसार, दरबारमार्गस्थित नेपाल ट्रस्टको झण्डै दुई रोपनी जग्गा थमसेर्कुलाई दिने निर्णयमा मात्रै तत्कालीन सचिव अर्जुनबहादुर कार्की संलग्न नभएका हुन् । त्यो बाहेक अरु कयौं निर्णय र फाइल अघि बढाउने क्रममा कार्कीको हस्ताक्षर गरेको भेटिएको छ ।
सचिव कार्कीले आफैले गर्नुपर्ने सम्झौता सहसचिव लेखबहादुरलाई अधिकार प्रत्यायोजन गर्न मिल्ने अवस्था नै थिएन । किनभने ६ करोड रुपैयाँभन्दा बढीको ठेक्कामा सहसचिवले निर्णय गर्ने अधिकार राख्दैनथे । तर ट्रस्टका कर्मचारीहरूले त्यसलाई ठेक्का नभनेर लिजको अर्थ लगाई अधिकार दिएका थिए ।
सीआईबीका अनुसन्धान अधिकृतहरूको अनौपचारिक कुराकानीका क्रममा अवकाशप्राप्त सहसचिव लेखबहादुर कार्कीले आफूलाई ‘बलिको बोको’ बनाइएको भनी निरीहता देखाएका थिए । सचिवले आफ्नो स्वार्थमा काम अघि बढाएको तर निर्णय नगरेमा ‘सरुवा गराइदिन्छु’ भनेर धम्क्याएकाले आफू बाध्य भएको भनी उनले बताएका थिए ।

राजप्रासाद सेवाबाट निजामती सेवामा समायोजन भएका सहसचिव लेखबहादुर कार्की ‘त्यसरी प्रयोग भएको’ केही महिनामै अवकाश लिएका थिए । तत्कालीन सचिव अर्जुन कार्कीले त्यतिबेला नै बोलपत्र मूल्यांकन समितीको सिफारिस अनुसार, ६ अर्ब ४५ करोड रुपैयाँकै अंकमा सम्झौता अघि बढाउन स्वीकृति दिएको निर्णय पनि भेटिएको छ ।
प्रहरीको सीआईबीले सचिव र सहसचिव दुवैजनामाथि ‘ठगी’ र ‘आपराधिक लाभ’ लिएको आरोपमा पक्राउ गरेको हो ।
प्रतिक्रिया 4