News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि कारबाही नगरे लगानीकर्ताको मनोबल खस्कने बताए।
- व्यवसायी मिनबहादुर गुरुङले जेन–जी आन्दोलनमा आफ्ना १२ वटा भाटभटेनी पूर्णरूपमा नष्ट भएको र दशैं, तिहार, छठका लागि स्टक गरिएका सामान लुटिएको जानकारी दिए।
- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउन र भन्सार दर अधिकतम २५ प्रतिशत कायम गर्न आवश्यक रहेको बताए।
१ मंसिर, काठमाडौं । कर दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा व्यवसायीले आन्दोलनमा घुसपैठ गर्नेमाथि कारबाही नभए लगानीकर्ताको मनोबल खस्कने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
सुशासन, ट्रान्सपरेन्सी तथा भ्रष्टाचार विरुद्धका विषय निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारित गरेको स्मरण गराउँदै उनले आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताए ।
सरकारले निजी क्षेत्रको सम्पत्ति सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उनको भनाइ छ ।
अध्यक्ष ढकालले फेसलेस हिसावमा अर्थले आफ्ना निकायहरूबाट अनलाइन भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा प्रशंसा समेत गरे । ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै लगानीको वातावरण तयार गर्न माग गरे ।
कार्यक्रममा व्यवसायी मिनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताए । उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उनले भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको जानकारी दिए । अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताए । अझै पनि आफूले हिम्मत नहारेको, अघि बढ्ने अठोट व्यक्त गरे ।
उनले दशैं, तिहार र छठका लागि स्टक गरिएका धेरै सामान भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताए । आफ्ना व्यवसायमा बैंकहरूको लगानीसँगै धेरै युवा आश्रित रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताए ।
भाटभटेनी माथिको आक्रमणमा कुनै एउटा पार्टीको भवन बनाइदिने विषयलाई जोडिएको भएको भन्दै उनले राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने विषय आफ्नो इच्छाको कुरा भएको बताए । आफूले डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाएको स्मरण गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउन माग गरे । सोमवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको उल्लेख गर्दै उपभोक्ताको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरूले करका दरहरू घटाउँदै गएको बताए ।
कतिपय देशले लगानी आकर्षित गर्न आयकर कम गर्ने नीति अबलम्बन गरिरहेको भन्दै नेपालले पनि यसबारे सोच्न जरुरी रहेको बताए । प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको उनले जिकिर गरे ।
भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दरको कायम गर्न अति नै आवश्यक भएको उनले बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजश्व बढाउन करको दर नभइ दायरा विस्तार गर्न आवश्यक रहेको बताए । लगानी विस्तार एवम् औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुने उनले बताए ।
स्वदेशी लगानीकर्ताले मात्रै नभई विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीतिका कारण दायित्व हेरेर मात्रै लगानी गर्ने उनको भनाइ छ । मुलुक विषम परिस्थितिमा रहेको बताउँदै पाण्डेले केही समय अघिसम्म अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भएपनि अहिले जेनजी आन्दोलनपछि राजनीतिक, सामाजिक क्षेत्रमा समेत चुनौति थपिएको बताए ।
प्रतिक्रिया 4