१ मंसिर, काठमाडौ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा आलोपालो गर्ने सहमति भएको छ ।
जेनजी आन्दोलनका क्रममा अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए । आन्दोलनका क्रममा प्रहरीको दमनबाट विद्यार्थीहरूको मृत्यु भएपछि राजीनामा घोषणा गरेका कडरियालाई एमालेकै नेताहरूले नै फेरि पदमा फर्कन दिएनन् ।
यद्यपि एमालेले घर फर्क अभियान चलाएपछि कडरिया कार्यालय फर्किएको जानकारी दिएका थिए ।
महासचिव दीपक धामीले राजीनामा दिएको पदमा नफर्कन चेतावनी दिएका थिए भने उपमहासचिव कमल शाहीले धामीको प्रतिवादमा बक्तव्य जारी गरेका थिए ।
अनेरास्ववियुमा देखिएको विवाद हल गर्ने क्रममा कडरियाको राजीनामा स्वीकृत गरिएको छ भने दीपक धामी र अञ्जना सिवाकोटीले पालैपालो अध्यक्ष चलाउने सहमति गरिएको छ ।
‘पार्टीका नेता भानुभक्त ढकालले आलोपालो अध्यक्ष बन्ने र सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गराउनुभयो,’ अनेरास्ववियुका एक पदाधिकारी भन्छन् । उनका अनुसार आगामी ३ जेठ २०८३ सम्म दीपक अध्यक्ष र अञ्जना महासचिव हुनेछन् ।
त्यसपछि १ जेठ २०८४ सम्म अञ्जना अध्यक्ष हुनेछिन् । यो सहमति अनुसार एउटै कार्यकालमा तीन जना अध्यक्ष हुनेछन् ।
प्रतिक्रिया 4