१ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले दलित भन्दै विभेद गर्ने हरूलाई आजीवन काराबासको हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो प्रस्ताव गरेका हुन् ।
अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकिर गर्दै नेता गौतमले सो समुदायलाई होच्याउनको सम्पती जफत गरेर उनीहरूलाई क्षतिपूर्ति हुनेगरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई दबाब दिए ।
‘दलित भन्नु यो अत्याचार हो, यो अमानवियता हो । त्यसलाई हामीले कानूनी मान्यता, संवैधानिक मान्यता दिएका छौं । यो संशोधन गर्नुपर्छ । र, एउटा कानून यस्तो बनाउनु पर्छ, जहाँ थोरै मात्र पनि कसैले भन्यो, केही व्यवहार गर्यो भने त्यसलाई आजीवन काराबास बस्ने व्यवस्था गर्नुपर्दछ,’ गौतमले भने ।
संवैधानिक रुपमा नै दलित भन्नु अत्याचार, अमानविय र पापकर्म हुने भन्दै नेता गौतमले त्यस्तो हुन नदिनेगरी अघि बढ्नुपर्ने बताए ।
‘उसको परिवारभित्र हिस्सा लगाएर उसको सम्पती जफत गरेर जसलाई त्यस्तो गरिएको हो, त्यसलाई त्यो सम्पत्ति क्षतिपूर्तिको रुपमा दिनुपर्छ । त्यसरी क्षतिपूर्ति कायम हुन्छ,’ गौतमले भने, ‘ल त्यसो गरौं त एक पटक । सक्नु हुन्छ ? सकिदैन भने यस्तो छलफल नगरौं । यो अपराधपूर्ण, पापपूर्ण काम हो । आफनो देशको एउटा जनतालाई दलित भनेर मान्यता दिइरहने काम गर्न हुन्न ।’
नेता गौतमले राज्यले आवश्यक परे २० खर्ब खर्च गरेर भएपनि दलित समुदायका लागि आवासको व्यवस्था गर्नुपर्ने समेत बताए ।
प्रतिक्रिया 4