News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजले नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा नयाँ लोगो र खेलाडी अनुबन्ध गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ।
- चेतवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले टिमको तयारी र सन्तुलन राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको बताए।
- चितवन राइनोजले खेल हेर्नका लागि चितवनबाट नि:शुल्क बस सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ।
१ मंसिर, चितवन । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा प्रयोग गरेको लोगो फेरेको चितवन राइनोजले दोस्रो संस्करणमा नयाँ खेलाडीहरू समेत अनुबन्ध गर्दै नतिजासमेत फेर्ने लक्ष्य राखेको छ ।
आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् ।
पहिलो संस्करणको भन्दा चितवन राइनोजको लोगोमा अक्षर, गैंडाको आकृतिमा परिवर्तन गरिएको छ भने ढाडमा भएको ब्याट हटाइएको छ ।
अघिल्लोपटक भन्दा यसपटक अक्सनमा चितवन राइनोजले अन्य टिमले भन्दा बढी रकम खर्च गरेर राम्रा खेलाडी भित्राउने प्रयास गरेको छ ।
पहिलो संस्करणमा अप्रत्यासित ढंगले प्लेअफसम्म पुगेर उत्साहित बनेको राइनोजले यसपटक टिमलाई थप सशक्त र सन्तुलित बन्दै उपाधि नै जित्ने लक्ष्यका साथमा तयारी गरेको छ । पहिलो संस्करणमा लिगका अन्य टिम भन्दा तुलनात्मक रुपमा कमजोर भनिएको राइनोज काठमाण्डौं गुर्खाजलाई पराजित गर्दै प्लेअफमा पुगेर कर्णाली याक्ससँग पराजित बनेको थियो ।
अघिल्लो र यसपटकको सिजनमा टिमको तयारी, सन्तुलन र व्यवस्थापन राम्रो भएकाले उपाधि नै जित्ने लक्ष्य लिएको चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले बताए ।
यसपटक पनि चितवन राइनोजको कप्तानी युवा अलराउण्डर कुशल मल्लले गरेका छन् । गत बर्ष “केमेष्ट्री” मिलेका केही विदेशी खेलाडीलाई निरन्तरता दिएको राइनोजले नेपाली युवा खेलाडीहरु देव खनाल र अर्जुन साउदलाई टिममा अक्सनमार्फत समेटेको छ ।
नेपाली अण्डर १९ राष्ट्रिय टिमका कप्तानसमेत भैसकेका खनाल अघिल्लो संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । गत सिजन देवले कर्णालीबाट उत्कृष्ट खेल देखाउन सकेका थिएनन् । यसपटक उनी थप निखारिएका छन् ।

यस्तै, विकेटकिपर ब्याट्म्यान अर्जुन साउदलाई अक्सनबाट अनुबन्ध गरेको चितवन राइनोजले यिनै दुई खेलाडीबाट ओपनिङ गर्न सक्ने सम्भावना पनि छ । ओपनिङ कसलाई गराउने भन्ने निर्णय टिमका कोच कलाम अलीले गर्ने छन् ।
यस्तै इंग्ल्याण्डमा विश्वकप खेलिसकेका खेलाडी डाविड मालान, रबि बोपारा र पहिलो सिजन सुदूपश्चिम रोयल्सबाट खेल्दै उत्कृष्ट खेलाडी बनेका सैफ अली जैबलाई अनुबन्ध गरेपछि चितवनको विदेशी लाइनअप बलियो देखिएको छ ।
विपिन रावल र रञ्जित कुमारलाई पनि चितवन राइनोजले भित्राउँदा पहिलो सिजनमा घाइते भएर खेल्न नसकेका मध्यम गतिका बलर कमल सिंह ऐरीलाई पुन: टिममा राखेको छ।
अघिल्लो संस्करणमा सहायक प्रशिक्षक रहेका पूर्व बलर अलीलाई यसपटक प्रमुख प्रशिक्षक बनाएको छ ।
चितवनका मुख्य प्रशिक्षकमा अलीले यसपटक टिम सन्तुलित भएकाले उत्साहका साथ जित निकालेर उपाधि चुक्ने बताए । कप्तान कुशल मल्ल पनि फर्ममा फर्किएकोले समस्या नहुने उनले बताए ।
अली पहिलो संस्करणदेखि नै राइनोजमा निरन्तर रहेकाले कुन खेलाडीलाई कहाँ खेलाउने र खेलाडीका सबल र कमजोर पक्षबारे नजिकबाट बुझेको हुनाले सोही अनुसार रणनीति बन्ने राइनोजका अध्यक्ष न्यौपानेले बताए ।
गत वर्ष उमेश पटवाल चितवनको प्रशिक्षक थिए । देशका ६ बटा प्रदेशबाट १/१ वटा टिम भए पनि बागमती प्रदेशबाट चितवन राइनोज र काठमाण्डु गुर्खाज गरी दुई टिमले खेल्दैछन् । यसले गर्दा बागमती प्रदेशका समर्थकहरू बाँडिने देखिन्छ ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले विदेशी खेलाडी बाहेक सबैजसो नेपाली खेलाडी भारतको दिल्लीस्थित गुडगाउँमा गएर प्रशिक्षण लिएको जानकारी दिए । “अघिल्लो पटकको भन्दा यसपटक धेरै मेहनत गरेका छौँ, त्यसैले पनि उपाधि जित्ने लक्ष्य हो” न्यौपानेले भने, “अघिल्ला बर्षको भन्दा बढि चुनौती पनि छन्, अन्य टिमले पनि आफूलाई बलियो बनाउँदै लगेका छन् ।”
राइनोजले मैदानमा अप्रत्याशित नतिजा निकालेर सबैलाई चकित पार्ने उनले बताए ।
उनले अन्य टिमका खेलाडीहरुको कमजोर पक्षहरूको विश्लेषण गरेर मैदानमा उत्रिने बताए । चितवन राइनोजका खेलाडीहरूको पनि कमजोर र बलियो पक्षहरूका बारेमा पहिचान गरिएको अध्यक्ष न्यौपानेले बताए ।
गत वर्ष कर्णालीसँग पराजित भएर अघिल्लो चरणको यात्रामा जान रोकिएको चितवनले पहिलो खेलमा नै बदला लिएर अगाडि बढ्ने सोच बनाएको अध्यक्ष न्यौपानेले बताए । यस्तै राइनोजले मंसिर ४ गते लुम्बिनी लायन्स, मंसिर १० गते विराटनगर किङ्स, मंसिर १२ गते काठमाडौ गोर्खाज, मंसिर १६ गते जनकपुर बोल्टस्, मंसिर १८ गते सुदूरपश्चिम रोयल्स, मंसिर २० गते पोखरा एभेन्चर्ससँग खेल्ने तालिका छ ।
बलियो बनाउँदै मध्यक्रम
पहिलो सिजनमा चितवन राइनोजको मध्यक्रम इग्ल्याण्डका रवि बोपाराले धानेका थिए । उनलाई यसपटक पनि निरन्तरता दिएको चितवन राइनोजले अघिल्लो सिजनमा उत्कृष्ट लयमा रहेर सुदूरपश्चिम रोयल्सबाट खेलेका इग्ल्याण्डका अलराउण्डर सैफ अली जैबलाई आफ्नो टिममा समेटेको छ ।

पहिलो सिजनमा इङ्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई खेलाएको राइनोजले यसपटक इग्ल्याण्डकै जैबलाई समेटेको हो ।
अघिल्लो सिजनमा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका उनले एनपीएलका ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाएका थिए भने १२ विकेट पनि लिएका थिए ।
पहिलो संस्करणमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा जैब र बोपारा दुबै थिए । बोपारा २८६ रन बनाएर लिगमा दोस्रो नम्बरमा थिए । सेमिफाइनल र फाइनल खेल्ने मौका राइनोजले पाएको भए सायद बोपरा सबैभन्दा बढी रन बनाउने खेलाडी बन्न सक्ने थिए ।
४० वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडीआई र ३८ टी२० आई खेल खेलेका छन् ।
दायाँ हातले ब्याटिङ गर्ने बोपाराले ४९४ टी २० खेलमा ९ हजार ९४८ रन बनाएका छन् भने २९२ विकेट पनि लिएका छन् ।
पहिलो संस्करणमा नामिबियाका निकोल लोफ्टी इटनलाई भित्राए पनि खासै नखेलाएको चितवन राइनोजले यसपटक इग्ल्याण्डका अर्का खेलाडी मलानलाई टिममा समेटेको छ ।
३८ वर्षीय वाँयाहाते इंग्ल्यान्डका टपअर्डर ब्याटर मलानले त्यहाँको राष्ट्रिय टोलीबाट २२ टेस्ट, ३० एकदिवसीय खेलेका छन् । टेस्टमा १ शतक र ९ अर्धशतक तथा एकदिवसीयमा ६ शतक र ७ अर्धशतक बनाएका थिए ।
सन् २०२२ मा टी–२० विश्वकप इग्ल्याण्डले जित्दा टोलीको सदस्य रहेका मलानले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेको अनुभव छ । उनले ३८४ टी–२० मा खेल्दा ५ शतक र ७२ अर्धशतकसहित १० हजार ५ सय १ रन बनाएका छन् । उनले ५ शतक र ७२ अर्धशतक बनाएका छन् ।
पहिलो संस्करणमा अफगानिस्तानका हसन एइसाखिललाई खेलाएको चितवनले यसपटक युगाण्डाका अलराउण्डर अल्पेश रमजानीलाई टिममा समेटेको छ । ३१ वर्षीय रमजानी वाँयाहाते ब्याटिङ तथा वाँयाहाते स्पीन बलिङ गर्छन् । रमजानीले सन् २०२४ को टी–२० विश्वकपमा पनि खेलेका थिए ।
डाविड मलान, रवि वोपरा, सैफ अली जैब, कुशल मल्ल र देव खनाल राइनोजको भरपर्दो ब्याटिङ लाइन अप हो । एकपटकमा ४ जना मात्रै विदेशी खेलाडी खेलाउन पाउने भएकाले चितवनले अनुबन्ध गरेका ५ जनामध्ये १ जनालाई विश्राम दिएर बाँकी खेलाडीलाई खेलाउने छ । चितवनको टिमसँग लेफ्ट र राइटको पनि कम्बिनेशन यसटक पनि मिलाइएको छ ।
तनविरको कमाण्डमा बलिङ
पाकिस्तानी बलर सोहल तनविरलाई दोस्रो संस्करणका लागि पनि चितवन राइनोजले अनुबन्ध गरेको छ । पहिलो संस्करणमा राइनोजले तनविरलाई नै बलिङ युनिटको कमाण्ड दिएको थियो । त्यसले उनले सफलता समेत पाए र टिमलाई प्लेअफसम्म लगे ।
यसपटक पनि उनले नै राइनोजको बलिङ आक्रमणलाई सम्हाल्ने छन् । उनलाई साथ दिने रिजन ढकाल, कमलसिंह ऐरी र गौतम केसीसमेत छन् । पहिलो संस्करणमा तनविरले १४ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा रहे । उनले आवश्यकता परेको बेला ब्याटिङ पनि गर्न सक्छन् ।
यस्तै, रिजन ढकालले १३ विकेट लिएका थिए । रवि बोपारा, सैफ अली र कुशल मल्लले स्पीन बलिङ पनि गर्छन् । जैबले लिगमा १२ विकेट लिएका थिए । राइनोजको स्पीनमा रन्जित कुमार र विपिन आचार्य पनि विकल्प हुन् । तर, स्पीन स्पेसलिष्ट बलर भने टिममा छैनन् ।
पहिलो संस्करणमा राइनोज
चितवन राइनोजले अघिल्लो संस्करणमा ७ खेल खेलेर ८ अंक बनाएको थियो ।
कर्णाली याक्स र काठमान्डु गुर्खाजले पनि समान ८ अंक जोड्दा नेट रन रेटमा चितवन अगाडि थियो । तर पहिलो एलिमिनेटरमै कर्णाली याक्ससँग पराजित हुँदा चितवनको यात्रा अघि बढ्न सकेन ।
लिगको अपराजित रहँदै आएको र पछि उपाधि जितेको जनकपुर बोल्टसलाई हराउने एक मात्रै टिम थियो चितवन राइनोज । उसले जनकपुरलाई ३२ रनले हराएको थियो । पहिलो खेलमा काठमाण्डु गुखार्जलाई ५ विकेट, दोस्रो खेलमा पोखरा एडभेन्चरलाई ८७ रनले हराएको राइनोज तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको थियो । चौथो खेलमा लिगको उपाधि दाबेदार सुदूरपश्चिमलाई ३३ रनले पराजित गरेको थियो ।
समर्थकलाई नि:शुल्क बस सेवा
चितवन राइनोजले कीर्तिपुरमा हुने टिमको खेल हेर्नका लागि चितवनबाट नि:शुल्क सेवासमेत उपलब्ध गराएको छ । खेल भएको दिन चितवन मेडिकल कलेजबाट दर्शकको संख्याका आधारमा बस लैजाने तयारी राइनोजको छ । खेल हेर्न जाने दर्शकसँग टिकट र जर्सी लगाएको भने हुनुपर्ने छ । खेलपछि फर्कने व्यवस्था पनि गरिएको छ । बसमा जाने दर्शकलाई खाजाको व्यवस्था पनि गरिएको छ ।
चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन पाँचवटा बसको व्यवस्था मिलाइने छ । ११M४५ बजेको खेल भएको दिन बिहान ५ बजे र ४ बजे खेल भएको दिन बिहान ९.३० बजे बस छुट्ने तालिका बनाइएको छ ।
प्रतिक्रिया 4