News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा गत वर्षभन्दा ५ करोड ६५ लाख बढी राजस्व उठाएको छ।
- सर्वोच्च अदालतको फैसला अनुसार बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएपछि यस वर्ष बहाल कर राजस्व १ अर्ब २ करोड पुगेको छ।
- सम्पत्ति कर घट्नुमा कर दर समायोजन र भवन नक्सा शुल्क घट्नु प्रमुख कारण भएको महानगरले जनाएको छ।
३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा गत सालभन्दा बढी राजस्व उठाएको छ । यस वर्ष कात्तिक मसान्तसम्म ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । गत आवको यसै अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो । यस आवमा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजस्व उठेको देखिन्छ ।
गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार राजस्व उठाउने लक्ष्य थियो । यस वर्ष १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण छ । चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय संकलन भएको छ । गत वर्ष यस अवधिमा १ अर्ब ९९ करोड २ लाख ६७ हजार ६९५ रुपैयाँ राजस्व यस शीर्षकमा संकलन भएको थियो । आन्तरिक राजस्व यस वर्ष २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो ।
महानगरका अनुसार आन्तरिक राजस्व घट्नुमा सम्पत्ति कर मुख्य कारक हो । गत साल पहिलो चौमासिकमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्ष सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ मात्र संकलन भएको छ ।
राजस्व विभागका प्रमुख दीपक अधिकारी भन्छन्, ‘गएको वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यो निर्णयबाट ठूलो भवन भएका करदाताको राजस्व गुणात्मक रुपमा वृद्धि भयो । साना घर हुनेको घट्यो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो । यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’
यस वर्ष बहाल कर असुली बढेको छ । गत वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएकोमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ संकलन भएको छ ।
२०८२ जेठ २० गते सर्वाेच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साविकमा संघ सरकारका आन्तरिक राजस्व कार्यालयहरूबाट उठाइँदै आएको बहाल कर महानगरपालिकामै जम्मा हुन थालेपछि यस शीर्षकमा कर बढेको उनले बताए ।
यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ । गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ असुली भएको छ ।
भवन नक्सा शूल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ । गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ । सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो ।
प्रतिक्रिया 4